धरापमा गठबन्धन : ‘निर्णायक बैठक’ कुर्दै माओवादी र नेकपा एस – Nepal Press

धरापमा गठबन्धन : ‘निर्णायक बैठक’ कुर्दै माओवादी र नेकपा एस

कैलाली । बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का कारण सत्तारुढ पाँच दलीय गठबन्धन धरापमा पर्न थालेको छ ।

सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसले एमसीसी पारित गर्न सबै कसरत सुरू गरेपछि सत्ता गठबन्धनका दलबीच दरार सतहमा आएको छ ।

कांग्रेस नेतृत्वको सरकारमा अहिले माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा सरकारमा छन् । तर, कांग्रेसबाहेक एमसीसीको विषयमा एक मत छैनन् ।

नेपाली कांग्रेसले संसदीय दलको बैठकबाट एमसीसी पारित गर्ने निर्णय गरिसकेको छ । माओवादी केन्द्रले एमसीसी टेबल भए सरकारमा नरहने निर्णय गरिसकेको छ । यता एकीकृत समाजवादी पार्टीले पनि संशोधन विना एमसीसी पारित गर्न नसकिने बताउँदै आएको छ ।

गठबन्धनमा रहेको जनमोर्चा एमसीसीको विपक्षमा छ भने जसपामा तीब्र विवाद देखिएको छ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र बहुमत सांसदहरूको एमसीसीको पक्षमा छन् । तर, उपेन्द्र यादव भने अहिलेसम्म खुलेका छैनन् ।

गठबन्धनबाहिरका नेपाल मजदुर किसान पार्टी र राप्रपा पनि यसको विपक्षमा छन् । पाँच दलीय गठबन्धन भए पनि अहिले तीन दलीय सहमति पनि जुट्न सकेको छैन ।

अमेरिकाले सम्झौतामा परिमार्जन हुन नसक्ने र फागुन १६ सम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि काँग्रेसले आजकै बैठकमा टेबल गर्ने तयारी गरेको हो । नेपालको अन्तरदेशीय प्रसारण लाइन र राजमार्ग निर्माणका लागि ५५ करोड अमेरिकी डलर बराबरको सहायता अमेरिकाले दिने गरी सम्झौता भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी टेबल गर्ने तयारी गरेको थियो । गठबन्धनका घटकहरूको साथ नपाएपछि देउवा पछि हटे । संसदीय दल बैठकको निर्णय सुनाउन बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच केही दिनलाई एमसीसी थाती राख्ने सहमति बनेपछि आजको बैठक टरेको छ । देउवाले भोलि ३ बजेलाई ‘निर्णायक बैठक’ डाकेका छन् ।

सम्भवत: यसै बैठकबाट गठबन्धन र एमसीसीबारे दलहरू प्रस्ट हुने छन् ।

कांग्रेसले एमसीसी टेबल गर्न जोड बल गरिरहेको बेला माओवादीले गठबन्धनका शीर्ष नेताहरूको बैठकमा विरोध गर्ने जनाएको छ ।
संशोधन नगरी परिमार्जन नगरी एमसीसी कुनै पनि अवस्थामा टेबल हुनुहुँदैन माओवादीका प्रमुख सचेतक देव गुरुङले भने, भोलि पाँच दलीय बैठक बस्दै छ । हामी यो कुरा त्यहाँ पनि राख्छौँ ।

उनले गठबन्धनको भविष्य के हुने भन्ने बारे भोलि कै बैठकपछि थाहा हुने बताए । ‘अब एमसीसी अघि बढ्छ कि गठबन्धन ?’ नेपाल प्रेसको जिज्ञासामा गुरुङले भने, ‘गठबन्धनको बैठक नहुँदै आज यो वा त्यो हुन्छ भन्न सकिँदैन । जे हुन्छ त्यो पाँच दलीय बैठकपछि मात्रै हुन्छ ।’

एकीकृत समाजवादीले पनि यथास्थितिमा पारित गर्न नसक्ने बताउँदै आइरहेको छ । तर, दलको बैठक राखेर कुनै निर्णय भने गरिएको छैन । एमसीसी टेबल गरे माओवादी सरकारबाट फिर्ता हुने स्पष्ट लाइनमा रहे पनि एकीकृत समाजवादी पनि त्यो धारमा देखिएको छैन ।

‘गठबन्धन पनि टुट्दैन, यही अवस्थामा एमसीसी पनि टेबल हुँदैन’ एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले भने ‘यस विषयमा ठोस छलफल भोलि मात्रै हुन्छ । ’

कांग्रेसले शुक्रवार एमसीसी टेबल गर्ने तयारी गरिरहेको अवस्थामा बिहीबार बोलाइएको गठबन्धनका शीर्ष नेताहरूको बैठकलाई महत्वका साथ हेरिएको छ ।

आजको संसद बैठकपछि कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले पर्सि (६गते) को बैठकमा एमसीसी टेबल हुने बताए । ‘संसद् सार्वभौम संस्था हो । बाहिरको बहस टुङ्ग्याउनका लागि पनि सदनमै जानुपर्छ ।‘छलफलका लागि अरू समय चाहिन्छ भनेपछि हामीले थप एक दिनको समय दियौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर