६ महिनामा कुन वस्तुको मूल्य कति बढ्यो ? यस्तो छ तथ्यांक – Nepal Press

६ महिनामा कुन वस्तुको मूल्य कति बढ्यो ? यस्तो छ तथ्यांक

काठमाडौं । कोरोनाले उत्पन्न संकटका कारण जनताको आयस्रोत घटेका बेला उपभोग्य वस्तुहरुको बजारमूल्य भने आकाशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा सबै वस्तुहरुको मूल्य उच्च दरमा बढिरहेको देखिन्छ ।

प्रतिवेदनका अनुसार चालु आवको पहिलो ६ महिनामै साढे ५ प्रतिशतले मूल्यवृद्धि भएको छ । घ्यू–तेलमा सर्वाधिक मूल्यवृद्धि हुँदा समग्रमा २१ प्रतिशतले बजारमूल्य बढेको छ ।

यातायात क्षेत्रमा अघिल्लो आबको पहिलो ६ महिनाको तुलनामा १४.०७ प्रतिशत वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । सार्वजनिक यातायातको भाडा सरकारले केही महिना अगाडि मात्रै वृद्धि गरेको थियो ।

मदिराजन्य पेय पदार्थको मूल्य ११.३७ प्रतिशतले बढेको भएको छ । सुर्तीजन्य बस्तुमा १०.४८ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस्तै, दाल तथा गेडागुडीको मूल्यमा ९.२२ प्रतिशतले वृद्धि भएको छ ।

मूल्यवृद्धि सबैभन्दा धेरै तराईमा भएको छ । तराईमा ६.१५ प्रतिशत, पहाडमा ५.३४ प्रतिशत र हिमालमा ५.२२ प्रतिशत मूल्य वृद्धि राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । काठमाडौंमा अन्यत्रभन्दा कम मूल्यवृद्धि भएको छ ।

सोधनान्तर घाटा उच्च

शोधनान्तर घाटा अहिलेसम्मकै उच्च रहेको छ । अघिल्लो आवको पहिलो ६ महिना १२४ अर्ब बचत भएको ठाउँमा सो आवको पहिलो ६ महिनामा २४१ अर्ब घाटा भएको तथ्यांकले देखाएको छ ।

गत आवको सोही अवधिमा १२४ अर्ब ९२ करोडले बचत थियो । चालु आवको पहिलो ६ महिनामा अमेरिकी डलर २ अर्ब २ करोड सोधनान्तर घाटा छ । गत आवको सोही अवधिमा १ अर्ब ५ करोडले अमेरिकी डलर बचत रहेको थियो ।

चालु आर्थिक वर्षको मंसिर महिनामा मात्र करिब ४५ अर्ब शोधनान्तर स्थिति घाटामा रहेको थियो ।

वैदेशिक रोजगारी र रेमिट्यान्स

पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा रेमिट्यान्स भने ५.५ प्रतिशतले घट्यो । रेमिट्यान्स घटेर ४६८ अर्ब ४५ करोड कायम भएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलव २ प्रतिशतले घटेर तीन अर्ब ९३ करोड पुगेको छ ।

गत आर्थिक वर्ष २०७७–०७८ को ६ महिनाको अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव एक प्रतिशतले वृद्वि भएको थियो । अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलव ७ प्रतिशतले बढेको थियो ।

चालू आर्थिक वर्षको ६ महिनाको अवधिभमा एक लाख ६७ हजार ५ सय १३ जना नेपालीले वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिएका छन् । उक्त संख्या वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण गरेर अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या हो । गत आर्थिक वर्षको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ८९ प्रतिशतले घटेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर