गोप्य अंगमा लुकाएर सुन तस्करी गर्ने शेर्पा यसरी परे प्रहरी फन्दामा – Nepal Press

गोप्य अंगमा लुकाएर सुन तस्करी गर्ने शेर्पा यसरी परे प्रहरी फन्दामा

काठमाडौं । बुधबार बिहान १० बजेतिर त्रिभुवन बिमानस्थलमा ओर्लियो दुबईबाट आएको एयर अरेबियाको बिमान । उक्त विमानबाट बाहिरिनेहरुको लाममा एक व्यक्ति अलिक अफ्ठेरो तरिकाले हिँडिरहेको देखेर सुरक्षाकर्मी सशंकित बने ।

विमानस्थलमा खटिएका सुरक्षाकर्मीहरु अवैध मालवस्तुहरु ओसारपसार गर्नेको हाउभाउसँग अभ्यस्त नै हुन्छन् । दुबईबाट नेपाल आएका दावाछिरिङ शेर्पा पनि उनीहरुको नजरबाट छिप्न सकेनन् । सुरक्षार्कीले केहीबेर उनलाई पछ्याए र नियन्त्रणमा लिइहाले ।

प्रहरीका अनुसार सुन निलेर आएको हुन सक्ने आशंकामा उनलाई केएमसी अस्पताल लगेर एक्सरे गरियो । तर, त्यसमा केही पनि देखिएन । अझै पनि प्रहरी आश्वस्त हुन सकेन । शेर्पालाई शौच गर्न लगाइएपछि उनीबाट गिलो सुन बरामद भयो ।

शेर्पाले मलद्वारभित्र एक किलो ५५ ग्राम सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ । उनको साथबाट बरामद भएको सुनको नेपाली बजारमा मुल्य ८३ लाख रुपैयाँभन्दा बढी पर्छ ।

विमानस्थल प्रहरी प्रमुख भीम ढकालका अनुसार गिलो बनाइएको सुनलाई तीनवटा पोकामा राखी मलद्वारबाट भित्र छिराइएको थियो । सुन तस्करीको यस्तो तरिका देखेर प्रहरीहरु नै आश्चर्यमा परेका थिए ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ स्थायी घर भएका ३९ वर्षिय शेर्पा नियमितरुपमा यूएई आउजाउ गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । सन् २०२१ यता मात्रै उनी तीनपटक यूएईको दुबई गएर फर्किएको पाइएको छ । उनी सन् २०२१ को फेब्रुअरी ८ तारिखमा काठमाडौंबाट प्रस्थान गरेर पाँच दिनपछि नै नेपाल फर्किएका थिए । अप्रिल ३ तारिखमा फेरी काठमाडौंबाट उडेका शेर्पा पाँच दिनपछि फर्किए । अध्यागमन विभाग स्रोतका अनुसार उनी पछिल्लोपटक गत नोभेम्बर १६ तारिखमा काठमाडौंबाट दुबई उडेका थिए ।

यसपटक भने उनी लामो समय दुबईमा रहे । ७६ दिनपछि काठमाडौं फर्किँदा प्रहरीले उनलाई पक्राउ गरेको हो । पछिल्लो समय विमानस्थल कार्यालयले तयारी सुन जसरी लगाएर ल्याइएका बेरुवा सुनमा समेत कडाई गरेपछि शेर्पा लामो समय उतै बसेको हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

विमानस्थल भन्सार कार्यालयको पछिल्लो प्रावधानअनुसार तयारी सुन २ सय ग्रामसम्म र बेरुवा सुन एक सय ग्रामसम्म कर तिरेर ल्याउन पाइन्छ । त्यसभन्दा माथिको परिमाणको सुन भने बरामद हुनुका साथै मुद्धासमेत चल्ने गर्छ । पक्राउ परेका शेर्पालाई विमानस्थल भन्सार कार्यालयलाई बुझाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *