‘आइसोलेसन’ मा नेताका दिनचर्या : कोही बच्चाहरुसँग रमाउँदै, कोही पुस्तक पढ्दै – Nepal Press

‘आइसोलेसन’ मा नेताका दिनचर्या : कोही बच्चाहरुसँग रमाउँदै, कोही पुस्तक पढ्दै

मन्त्रिपरिषद बैठक प्रभावित, देउवा फेरि परीक्षण गराउँदै

काठमाडौं । समुदायस्तरमा पुगिसकेकाे कोरोना भाइरस (कोभिड-१९) को संक्रमण माओवादी केन्द्रको महाधिवेशनबाट बिस्फोट जस्तै भयो ।

राजधानीको प्रज्ञा भवनमा एक सातासम्म देशभरका प्रतिनिधि भेला गरेर माओवादीले महाधिवेशन गरेको थियो । महाधिवेशन सकिएलगत्तै माओवादीका नेताहरु धमाधम विरामी पर्न थाले ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित करिव दुई दर्जन बढी माओवादी नेताहरुमा कोरोना पुष्टि भएको छ ।

सर्वदलीय बैठमा प्रचण्डसँगै बसेमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि कोरोना संक्रमित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा संक्रमणको जोखिमलाई ख्याल गरेर ‘आइसोलशन’मा बसेका छन् ।

माओवादीको स्थायी समितिका निवर्तमान ६ जना सदस्यलाई कोरोना संक्रमण देखिएको छ । त्यस्तै धेरै केन्द्रीय सदस्यहरु र केन्द्रीय कार्यालयका कर्मचारी समेत संक्रमित भएका छन् ।

प्रचण्ड, नारायणकाजीका बाहेक हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत र उनकी श्रीमती सत्या पहाडी, गणेश साह, चन्द्रप्रकाश खनाल, मात्रिका यादवलाई पनि कोरोना पुष्टि भएको छ ।

शिक्षा मन्त्री देवेन्द्र पौडेललाई संक्रमण भए पनि उनकी श्रीमती बलावती पौडेललाई कोरोना संक्रमण भएको छ । प्रमुख सचेतक देव गुरूङलाई नभए पनि उनकी श्रीमती यशोदा सुवेदी गुरूङ कोरोना संक्रमित भएकी छन् ।

त्यस्तै प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतलाई कोराना संक्रमण भएको छ ।

आइसोलेसनका दिनचर्या

कोरोना संक्रमित भएका र हुने जोखिमा रहेका अधिकांश नेताहरु ‘होम आइसोलेसन’मा बसेका छन् ।

आइसोलेसनमा रहेका प्रचण्डको अवस्था सामान्य रहेको उनको स्वकीय सचिव रमेश मल्लले बताएका छन् । प्रचण्ड होम आइसोलेसनमा अध्ययनमा रहेका छन् ।

नेपाल प्रेससँग उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था नर्मलै छ । भोलि, पर्सि एक चोटी जाँच गर्ने कुरा भइरहेको छ ।’

प्रचण्डले महाधिवेशनमा पेस गरेको आफ्नो राजनीतिक प्रतिवेदनमाथि आएका सुझावहरु अध्ययन गरेर परिमार्जन गरिरहेको मल्लले जानकारी दिए । उनले भने, ‘अध्यक्षको प्रतिवेदनमाथि महाधिवेशनमा सल्लाह सुझावहरु आएका थिए । उहाँ (प्रचण्ड) त्यसलाई हेरेर परिमार्जन गर्दै हुनुहुन्छ ।’

मल्ल स्वयं पनि कोरोना संक्रमित छन् । ६ दिनदेखि स्वास्थ्य मापदण्ड पालना गरेर उनी होम आइसोलेसनमा बसिरहेका छन् । स्वास्थ्य अवस्थामा खासै समस्या नदेखिएका उनी आफू बच्चाहरुसँग रमाइरहेको बताउँछन् ।

‘रुघा र खोकी बाहेक खासै समस्या देखिएन,’ उनी भन्छन्, ‘केटाकेटीसँग नाचेर बसेको छु । उनीहरुको अनलाइन कक्षा सुरु भएकाले बिहानभरी शिक्षक हुनुपर्छ, दिउँसो उनीहरुसँग खेल्दै दिन बित्छ । यो त मेरो लागि परिवारसँगै बिताउने ठूलो अवसर भएको छ ।’

नेता हरिबोल गजुरेलले सुरुका दुई दिन गाह्रो भए पनि मंगलबारबाट अलि सहज भएको बताए ।

‘एक दुई दिन ज्वरो आउने, खोकी लाग्ने र जीउ दुख्ने भयो,’ नेपाल प्रेससँग उनले भने, ‘अहिले ठीक भएको छ । एक दुई दिन गाह्रो भयो अहिले सुधार आएको छ।’

स्वास्थ्यलाई समेत ध्यान दिँदै अहिले अध्ययन पनि गरिरहेको उनले बताए । ‘सात÷आठ दिन महाधिवेशनको धपेडी भयो,’ उनले भने, ‘समाचार हेर्ने, अलि अलि पुस्तक पढ्ने गरिरहेको छु । विरामी भएको बेलामा धेरै पढ्नु पनि हुँदैन ।’

अर्का नेता शक्ति बस्नेत दम्पत्ति नै कोरोना संक्रमित भएका छन् । बस्नेतले सुरुमा केही दिन गाह्रो भए पनि अहिले सहज हुँदै गइरहेको बताए । होम आइसोलेसनमा रहेका नेता बस्नेतले नेपाल प्रेससँग भने, ‘चिकित्सकहरुको सल्लाह सुझाव लिइरहेका छौं । अस्तिसम्म त अलि गाह्रै भएको थियो । हिजो आज अलि स्ुधार भएको छ । खाली समयमा अलिललि लेखपढ गरिरहेका छौं ।’

वाइसीएल इन्चार्ज दीपशिखा पनि कोरोना संक्रमित छन् । उनको परिवारै संक्रमित भएको छ । आफ्नो स्वाथ्यलाई ख्याल राख्दै थोरै लेखपढ गरिरहेको उनले बताए । ‘घरभरी कोरोना छ सबैलाई,’ नेपाल प्रेससँग उनले भने, ‘अलि–अलि पढ्ने गरेको छु तर बिरामी भएका बेला धेरै जाँगर नलाग्दो रहेछ ।’

मन्त्रिपरिषद बैठक प्रभावित, देउवा फेरि परीक्षण गराउँदै

कोरोना संक्रमित माओवादी नेताहरुसँग लसपस गरेका प्रधानमन्त्री देउवा होम आइसोलेसनमा छन् । पहिलो पटक गरिएको उनको परीक्षण रिपोर्ट नेगेटिभ भएको छ ।

संक्रमणको त्रास र मन्त्रिपरिषदका केही सदस्य संक्रमित हुँदा बैठक बस्न सकिरहेको छैन् । यस अवधिमा तय भइसकेको मन्त्रिपरिषद्को बैठक दुई पटक स्थगित भएको छ ।

आफूलाई कोरोना नभएपनि कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएपछि देउवा फेरि कोरोना परीक्षण गराउँदै छन् ।

बालुवाटार स्रोतका अनुसार देउवासहित उनको सचिवालयका कर्मचारी, सुरक्षा अधिकारी लगायतको कोरोना परीक्षण हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *