सोसल मिडियामा फेक अकाउन्टको बिगबिगीः नेतालाई हैरानी, कार्यकर्तालाई ‘मसला’ – Nepal Press

सोसल मिडियामा फेक अकाउन्टको बिगबिगीः नेतालाई हैरानी, कार्यकर्तालाई ‘मसला’

कैलाली । बिहीबार बिहानदेखि सामाजिक सञ्जाल फेसबुकका डा. शेखर कोइरालाको नामबाट चलाइएको अकाउन्टमा लेखिएको एउटा स्टाटसले निकै चर्चा पायो । लेखिएको थियो, ‘रामचन्द्र जस्तो गुरु, शशांक जस्तो भाइ, सुजता जस्ती दिदीबहिनी, प्रकाशमान र निधि जस्तो मित्र कसैलाई पनि नपरोस् ।’

उक्त स्टाटसलाई कांग्रेसको संस्थापनइतर समूहका कार्यकर्ताहरुले भाइरल बनाए । गैरकांग्रेसीले समेत उक्त स्टाटसको स्क्रिटसटको प्रचार गरे । पछि कोइरालाको सचिवालले भन्यो– उक्त स्टाटस फेक अकाउन्टबाट आएको हो । ‘त्यो फेक आइडि हो । मैले पनि हेरें’ कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने ‘यस्ता फेक आइडिहरुले समस्या सृजना गर्छ ।’

यसअघि पूर्वयुवराज्ञी हिमानी शाहको नामबाट पनि राप्रपा अध्यक्षमा विजयी भएको भन्दै राजेन्द्र लिङ्देनलाई बधाई दिइएको भेटिएको थियो । त्यसमा बधाई मात्रै थिएन कमल थापा माथिको व्यङ्ग पनि थियो ।

बधाई दिँदै लेखिएको थियो ‘अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ! राजेन्द्र लिङ्देनको जितसँगै मुलुकले मुलुकले आज सच्चा राष्ट्रवादी नेता पाउन सफल भएको छ ।’

उक्त ट्विटरकै आधारमा राप्रपा अध्यक्षमा पराजित कमल थापाले प्रतिक्रिया दिएका थिए । हिमानीको नामको उक्त पोस्टबाट रुष्ट भएका थापाले हिमानीलाई मेन्सन गर्दै ‘अब चाँडै राजसंस्था पुनः स्थापना हुने भएको हुँदा हिमानी शाहलाई पनि हार्दिक बधाई तथा शुभकामना !’ भन्दै व्यङ्य गरेका छन् ।

विवाद बढ्दै जाने देखिएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले शाह र पूर्व युवराज्ञी हिमानी शाहको कुनै सामाजिक सञ्जालमा खाता नरहेको भन्दै बिज्ञप्ति नै बजारी गर्नुपर्ने अवस्था आयो ।

पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले विज्ञप्ति जारी गरी कुनै पनि सामाजिक सञ्जाल उनीहरूले नचलाएको प्रष्ट्याएका छन् ।

‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवले राष्ट्रिय समसामयिक घटना सन्दर्भ, राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखी बक्सनु स्वाभाविक हो,’ पाठकद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘तर, मौसुफले ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको व्यहोरा जानकारी गराइन्छ ।’

पछिल्लो समय यसरी कुनै दल विशेषका नेताहरूको नाममा खुलेको तमाम फेसबुक पेजहरू छरपस्ट भेटिने गरेका छन् । तर, प्रहरीसँग भने यस विषयमा उजुरी परेको भेटिएको छैन ।

प्रहरी प्रधान कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी वसन्तबहादुर कुँवर पछिल्लो समय यसरी फेक आइडीबारे गुनासो बढी आउने गरेको भए पनि उजुरी नपरेको बताउँछन् । फेक आइडीको मारमा राजनैतिक उच्चपदस्थ व्यक्ति परिरहेको उनको भनाइ छ ।

‘राजनैतिक दलका उच्चपदस्थ व्यक्तिहरुको नामबाट फेक आइडी बनाएर गलत फाइदा उठाउने गरिएको देखिएको छ’ उनले भने, ‘यसबारे गुनासो आइरहेको भए पनि उजुरी भने परेको छैन ।’

सम्बन्धित व्यक्तिले स्क्रिनसटसहित उजुरी दिए कारबाही प्रक्रिया अघि बढाउन सकिने उनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर