महिलाको सुरक्षा, सम्मान र रोजगारी सरकारको पहिलो प्राथमिकता : श्रममन्त्री श्रेष्ठ – Nepal Press

महिलाको सुरक्षा, सम्मान र रोजगारी सरकारको पहिलो प्राथमिकता : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंमा आयोजना गरेको तेस्रो महिला सम्मेलनलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

राज्यका हरेक निकायमा महिलाको समान सहभागिता, मर्यादित रोजगारी र कार्यस्थलमा महिला हिंसा न्युनिकरणका लागि सरकार प्रतिवद्ध रहेको उनको भनाई थियो । मन्त्री श्रेष्ठले संगठित तथा असंगठित क्षेत्रमा कार्यरत महिलालाई सामाजिक सुरक्षा कोषमा सहभागि गराउन सरकार प्रतिवद्ध रहेको पनि बताए ।

रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाई छ । सबै क्षेत्रका श्रमिकका लागि उचित श्रम अभ्यास, आधारभूत श्रमिक अधिकार र सामाजिक सुरक्षा आफ्नो प्राथमिकतामा रहेको मन्त्री श्रेष्ठले बताए ।

उनले ज्यालामा असमानता रहेको अनौपचारिक क्षेत्रमा महिला कामदार बढी रहेकोले उनिहरुको समस्या सम्वोधन गरिने धारणा राखे । आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाले अवसर प्राप्त गर्ने गरी रोजगारी वृद्धि गर्नुपर्नेमा पनि मन्त्री श्रेष्ठको जोड थियो ।

कार्यक्रममा बोल्ने वक्ताले विद्यमान ऐन–कानुनको प्रभावकारी कार्यान्वयनका साथै महिलामा आत्मविश्वास बढाउन, व्यावसायिक सीप तथा क्षमता विकास गर्नुका साथै हिंसा, शोषण र भेदभावको अन्त्य गरी कार्यक्षेत्र महिलामैत्री बनाउनुपर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर