इच्छाराजबाट ठगिएका सिभिल सहकारीका बचतकर्ता सडकमा – Nepal Press

इच्छाराजबाट ठगिएका सिभिल सहकारीका बचतकर्ता सडकमा

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङबाट ठगिएका सिभिल सहकारीका बचतकर्ताले तामाङसहित संलग्न समूहलाई कडा कारवाही गर्न दबाब दिएका छन् ।

काठमाडौंको माइतीघरमा भेला भएका पीडित बचतकर्ताले इच्छाराज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशवलाल श्रेष्ठसहितलाई कारवाही गरेर आफूहरूमाथि न्याय गर्न माग गरेका छन् ।

सहकारी विभागले ठगीतर्फ आँखा चिम्लि दिएको र नेपाल राष्ट्र बैंकले ५० करोडभन्दा माथि वार्षिक लेनदेन हुने सहकारीको गतिविधि अनुगमनसमेत नगरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

पीडित वचतकर्ताहरूले संगठित ठगीका गिरोहलाई कारवाही गर्नुपर्ने, कानून सुधार गर्नुपर्ने, आफूहरूको बचत फिर्ता गर्नुपर्ने भन्दै सरकारसँग माग गरेका छन् ।

इच्छाराजविरुद्ध अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी वकिललाई प्रतिवेदन बुझाइसकेको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनमा ८ वर्ष कैद र ५ अर्ब ५९ करोड रूपैयाँ बराबरको जरिवाना माग गरिएको छ ।

एक हजार ४ सय ८७ जनाले ठगी गरेको भन्दै उजुरी दिएको आधारमा प्रतिवेदन पारिएको प्रहरीले जनाएको छ । सोल्टीमोडमा रहेको सिभिल सहकारी संस्थाको संस्थापक अध्यक्ष रहेको बेला तामाङले निक्षेपकर्ताको रकम आफ्नै रियलस्टेट कम्पनीमा लगानी गरेर सहकारीको पैसा हिनामिना गरेको भनेर पीडितले उजुरी हालेका छन् ।

ठगी प्रकरणमा सीआईबीले तामाङसहित १२ जनालाई पक्राउ गरिसकेको छ । केही फरार छन् ।

‘सहकारीका निर्णायक सल्लाहकार तथा पूर्वअध्यक्ष इच्छा राज तामाङ, उनकी श्रीमती सिर्जना शाक्य तामाङ र हालका अध्यक्ष केशव लाल श्रेष्ठ समेतको मिलोमतोमा ८ अर्ब ५७ करोड ३८ लाख भन्दा बढी रुपैया यस सहकारीबाट गैर कानुनी रुपले विना धितो उनीहरुका निजी हाउसिङ कम्पनीहरु सिभिल होम्स, सिभिल अपार्टमेन्ट्स र सिभिल इस्टेट्स) मा २०६३ साल देखि विभिन्न समयमा रिणको रुपमा लगेका र अहिलेसम्म उक्त ऋणको साँवा तथा व्याज नतिरी यो सहकारीलाई धरासायी बनाउन खोजिएको छ, पीडितहरूको विज्ञप्तिमा भनिएको छ, ‘हामी बचतकर्ताहरुले गत २ वर्ष देखी आफ्नो बचतखातामा रहेको रकम पाएका छैनौं । त्यसैले हामीलाई दैनिक खर्च टार्न तथा औषधी उपचार गर्न पैसाको ज्यादै ठुलो अभाव भएको छ । पैसाको अभावले शल्यक्रिया गर्न र औषधी उपचार गर्न नपाएर ८ जना बचतकर्ताहरुको मृत्यु समेत भइसकेको कुरा हामी यहाँहरुलाई अवगत गराउन चाहन्छौ ।’

तस्बिरहरु : गौरब पौडेल ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *