ओलीलाई अधिकार प्रत्यायोजनपछि के भन्छन् नेताहरू ? – Nepal Press
एमाले महाधिवेशन

ओलीलाई अधिकार प्रत्यायोजनपछि के भन्छन् नेताहरू ?

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी आजको बन्दसत्रले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिएको छ ।

विष्णु पौडेलको त्यस प्रस्तावमा हलले समर्थन जनाएको थियो ।

बन्दसत्रले अध्यक्ष ओलीलाई दिएको उक्त अधिकारप्रति उपाध्यक्ष भीम रावलले भने आपत्ति जनाएका छन् । उनले राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी निर्माण गर्ने विधानको व्यवस्थाविपरीतको निर्णय भएको भन्दै फरक मत राखेका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार प्रत्यायोजन र भीम रावलको फरक मतप्रति हामीले केही नेतासँग प्रतिक्रिया लिएका छौं ।

कसले के भने उनीहरूकै शब्दमा :

अष्टलक्ष्मी शाक्य

म पार्टी फुटको पक्षमा हिजो पनि थिइन, आज पनि छैन र भोलि पनि हुने छैन । नेकपा एमाले हामीले दु:ख गरेर त्याग गरेका बनाएको पार्टी हो यसलाई जोगाउनु पर्छ बनाउनु पर्छ । फरक मत भीम रावलले मात्रै होइन सबैले राख्न पाउँछ । सबैको अधिकार छ । विधानले सबैलाई त्यो अधिकार दिएको छ ।

सर्वसम्मतरूपले वा निर्वाचनको माध्यमबाट जसरी भए पनि नेतृत्व चयन हुन्छ । जहाँ-जहाँ सहमति हुँदै गयो त्यसलाई पास गर्दै गयो जहाँ सहमति भएन त्यसमा चुनाव गर्ने विधि विभिन्न प्रकारमा छन् । आम कार्यकर्ताहरूको भावना सर्वसम्मत नेतृत्व चयन गर्ने र विवाद नगर्ने भन्नेछ । तर, कसैले उम्मेदवारी दिन्छु भनेपछि नदिनुस् भन्न पाइँदैन ।

ईश्वर पोखरेल

विधान प्रस्तावको औपचारिक प्रस्ताव टेबल भएको हो । त्यो सर्वसम्मत रूपले पारित भएको हो ।

शेरबहादुर तामाङ

हामी निर्वाचन विधिमा जान सक्छौं । उहाँले (भीम रावलले) उम्मेदवारी दिन्छु भनेपछि मात्रै थाहा हुन्छ । कानून त हामी हुन्छ र हुन्नँ भनेर पारित गर्छौं । यहाँ पनि ताली पिटेर सक्छौँ ।

भीम रावलजी उम्मेदवार हुनुभयो उहाँको पक्षमा कति हुनुहुन्छ हात उठाउनु होस् भन्ने अनि केपी ओलीको पक्षमा कति हुनुहुन्छ भन्ने अति टुंग्याउने हो ।
अरू कुनै पनि सिटमा चुनाव हुँदैन । सर्वसम्मत विधि पनि निर्वाचन हो । हामी १० मिनेटमा सबै सक्छौँ ।

झपट बोहरा

आजको निर्णय लोकतान्त्रिक अध्यासभित्रै पर्ने उत्तम अभ्यासमध्ये एक हो । सहमति नहुने अवस्थामा विधानले दिएको प्रक्रिया र विधिमा गएर अघि बढिन्छ । यो चुनाव नै हुनुपर्छ वा सहमति हुनुहुँदैन भन्ने कुरा होइन ।

उहाँले आफ्नो कुरा राख्नुभएको छ । चित्त नबुझ्ने अवस्थामा सबै कुरामा सहमतिमै जानुपर्छ भन्ने होइन । तर, अहिलेको अवस्थामा सहमति हुन राम्रो हो । यदि भएन भने निर्वाचन हुने कुरा सामान्य हो । भोलि मनोनयन दर्ता हुन्छ त्यसपछि मात्रै थाहा हुन्छ कसरी र कुन पदमा सहमति वा निर्वाचन हुन्छ भन्ने कुरा । भोलि साँझसम्म पदाधिकारी र केन्द्रीय सदस्यको आकार बाहिर आउने सम्भावना हामीले देखेका छौँ ।

नारदमुनि राना

धेरै नेताहरूको विषयमा छलफल गरेर मलाई लाग्छ यो विषय टुंगो लागिसकेको हुनुपर्छ । एकाध नेताहरूलाई केपी ओलीको भाषा, निर्णय मन नपर्न सक्छ । तर, त्यो मन नपराउने व्यक्तिले मन नपराउँदैमा यो महाधिवेशनको सर्वसम्मत नेतृत्व चयन गर्ने विषयलाई केही फरक पार्दैन ।

सर्वसम्मत नेतृत्व चयन गर्ने कुरा सम्पूर्ण प्रतिनिधीहरुको माग हो । मुलुकको आवश्यकता र माग पनि त्यही हो । त्यस कारण हामी यसमा विवाद गर्न आवश्यक छैन । भोलि नेकपा एमालेले सबै पदमा सर्वसम्मत नेतृत्व पाउँछ ।

निरु पाल

अहिलेको नेकपा एमालेलाई सबै तर्फबाट घेराबन्दी गरिएको छ । यस्तो बेलामा हामीले स्थानीय तहबाटै सर्वसम्मत गर्दै ल्यायौँ ।

महाधिवेशनमा पनि हामी सर्वसम्मत गर्नुपर्छ । अहिलेको आवश्यकता भनेको सर्वसम्मत हो भन्दा हिजै हामीले केन्द्रीय कमिटीमा अध्यक्षलाई अधिकार दिने भनेका थियौँ ।

अध्यक्षले नै आज हलबाट लिने भन्नुभएको थियो । सबै साथीहरूले अध्यक्षलाई अधिकार दिइसक्नु भएको छ ।

एक जना दुई जनाले विरोध गर्दैमा केही हुँदैन । हलभन्दा विपरीत कोही हुन सक्दैनन् । भोलि एमालेले नयाँ नेतृत्व पाउँछ । ९९ प्रतिशत सर्वसम्मत हुन्छ जस्तो लाग्छ मलाई सबै पदमा ।

भीम रावललाई उपाध्यक्षमै राखेर व्यवस्थापन गर्ने भनिएकै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर