नेकपा मालेको महासचिवमा पुन: मैनाली, भन्छन्- अबको एजेण्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री (भिडिओ) – Nepal Press

नेकपा मालेको महासचिवमा पुन: मैनाली, भन्छन्- अबको एजेण्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री (भिडिओ)

चितवन । नेकपा (माले) को महासचिवमा पुन: सीपी मैनाली चयन भएका छन् ।

चितवनमा भएको आठौं राष्ट्रिय महाधिवेशनले मैनाली नेतृत्वमा ५९ केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको हो । मैनाली ३० वर्षदेखि मालेको मूल नेतृत्वमा छन् । ८१ सदस्यीय बनाउने गरी पुसमा बस्ने बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिनेछ । विभाग, स्थायी कमिटी, पोलिटब्यूरो सदस्यहरू पनि सोही बैठकले चयन गर्ने जनाइएको छ । महासचिव मैनालीले नेपाल प्रेससँग संक्षिप्त कुराकानी गर्दै गलत सोचले आएकाहरूले साथ छोडे पनि अब जनताको विश्वास जित्ने गरि वैकल्पिक शक्तिका रूपमा अगाडि बढ्ने बताए ।

‘महाकाली सन्धि पास गरेपछि विरोध गर्‍यौं, माधव टिमले हामीलाई कारवाही गर्‍यो’, उनी भन्छन्, ‘५४ मा माले बनायौं, नेता बनाएका वामदेव दलबलसहित टाप ठोके, लोभपाप बोकेर गलत सोचले आएकाहरुले बीचबीचमा छोड्दै गए, रुखबाट पहेँलो पात झरेजस्तै हो ।’

उनले पुँजिवादी सिद्धान्त लिएर हाइज्याक गरेर एमाले बनेको आरोप लगाए । एमाले-माओवादी अमार्क्सवादी बाटोमा हिँडेको उनको आरोप छ । उनले अहिलेको संसदीय व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्र प्रमुख बनाउनुपर्ने नीति लिएर माले हिँड्ने बताए । पूर्णसमानुपातिक प्रणालीबाट सांसद निर्वाचित गर्ने गरी निर्वाचन प्रणाली बदल्नुपर्ने मैनालीको भनाइ छ ।

‘सांसदहरू बजेट, कानून निर्माण र सरकारको वाचडग बन्नुपर्छ’, उनले भने, ‘विज्ञहरूको मन्त्री बनाउने गरी मापदण्ड बनाउनुपर्छ, सरकार सानो आकारको बनाउनुपर्छ ।’ संसदले गतिलो काम गर्न नसेकेको उनको दाबी छ । महाधिवेशनको बन्दसत्रमा सीपी मैनालीले नेपाली क्रान्तिको कार्यक्रम- नयाँ जनवाद, राजनीतिक प्रतिवेदन, एनपी आचार्यले पार्टी संगठन, सिद्धान्त र प्रस्ताव, डम्बर श्रेष्ठले पार्टी विधान, कुमार बेलबासेले पार्टीको तत्कालिक कार्यनिति, दिनानाथ घिमिरेले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेता दीनानाथ घिमिरेले दस्तावेजहरूमा प्राप्त सुझावका आधारमा केन्द्रीय कमिटीको दोस्रो बैठकले संशोधनसहित पारित गर्ने जानकारी दिए । प्रदेश संरचना खारेज गरेर जिल्ला र पालिका तहलाई अधिकार सम्पन्न गराउने गरि संघियता परिमार्जन गर्ने नीति लिने निर्णय गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर