कांग्रेस केन्द्रीय सदस्यमा राजेन्द्र बजगाईंको उम्मेदवारी घोषणा – Nepal Press

कांग्रेस केन्द्रीय सदस्यमा राजेन्द्र बजगाईंको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता राजेन्द्र बजगाईंले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पर्यटन व्यवसायीसमेत रहेका बजगाईंले ‘विकासका लागि राजनीति’ को नारासहित कांग्रेस केन्द्रीय समितिमा पुग्न आफूले प्रयास गर्ने जनाएका छन् । १३ औं महाधिवेशनमा कुनैपनि प्यानलमा नपरेका बजगाईंले सम्मानजनक मत ल्याएका थिए ।

‘अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय समितिमा जान प्रयास गरेकै हुँ । यसपटक अझ बढी प्रतिवद्धतासहित खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेछु’, बजगाईंले पत्रकारहरुसँग भने । कांग्रेसले राजनीतिक परिवर्तनलाई नेतृत्व गरिसकेकोले विकास र जनताको स्तर उकास्ने एजेण्डालाई पनि अब प्राथमिकता दिनुपर्ने बजगाईंको भनाइ छ ।

‘नेविसंघको राजनीतिक पृष्ठभूमिबाट पर्यटन क्षेत्रको व्यवसायिक राजनीति हुँदै पार्टी राजनीतिमा उपस्थिति जनाएको छु । जनताले अब विकास खोजेका छन् । विकासको त्यो भोक मेट्ने कांग्रेस बनाउनुपर्छ’, बजगार्इंले भने ।

बजगाईं २७ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध छन् । २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नम्बर १ को ख बाट प्रदेशसभा सदस्यको उम्मेदवार रहेका थिए ।

पार्टीभित्र व्यक्तिमा आधारितभन्दा विचारमा आधारित सहकार्य आवश्यक रहेको भन्दै केन्द्रीय सदस्यमा निर्वाचित भए पार्टीको विचार, आदर्श र कार्यक्रमलाई सफल बनाउन अझ बढी योगदान गर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *