दलित पत्रकार संघको केन्द्रीय बैठक सकियो, बन्यो दुईवर्षे कार्ययोजना – Nepal Press

दलित पत्रकार संघको केन्द्रीय बैठक सकियो, बन्यो दुईवर्षे कार्ययोजना

चितवन । राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय पूर्ण बैठक सकिएको छ । ३ दिनसम्म चितवनमा चलेको बैठकले मिडियामा दलित समुदायको समानुपातिक प्रतिनिधित्व कार्यान्वयन गराउनुपर्नेलगायतका माग राखेको छ । केन्द्रीय महासचिव लक्ष्मण दर्नालले दुईवर्षे रणनीति तथा कार्ययोजना समेत पारित गरेको बताए ।

जातीय भेदभाव तथा छुवाछुतका घटनाहरूमा थप अध्ययन, अनुसन्धान गरी पीडित परिवारलाई क्षतिपूर्ति, पीडकलाई कडाभन्दा कडा कारवाही गर्न र उच्चस्तरीय छानबिन समिति गठन गर्न बैठकले माग गरेको छ । सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न, सरकारी सञ्चार माध्यमका सञ्चालक समिति एवम् बोर्डमा समावेशीताको आधारमा राजनीतिक नियुक्ति गर्न र जातीय भेदभाव तथा छुवाछुतका घटनाहरूलाई प्राथमिकतासाथ मिडियाकरण गर्न पनि संघको माग छ ।

बैठकले ७ वटा विभाग र १ समिति पनि चयन गरेको छ । बैठकले संघको सङ्गठन विभाग संयोजकमा लक्ष्मण दर्नाल, महिला विभाग संयोजकमा कमलाकुमारी विक, आर्थिक प्रशासनिक विभाग संयोजकमा भीमबहादुर घिमिरे, अन्तर्राष्ट्रिय समन्वय विभाग संयोजकमा बुद्धि विश्वकर्मा, प्रकाशन तथा प्रसारण विभाग संयोजकमा विनोद परियार, योजना तथा अनुगमन विभाग संयोजकमा गोपाल बराईली, प्रशिक्षण विभाग संयोजकमा मिलन परियार र पुरस्कार कल्याण कोष तथा पुरस्कार व्यवस्थापन समिति संयोजकमा अमर सुनार चयन गरेको छ ।

चितवन र नवलपुर शाखालाई केन्द्रीय पूर्ण बैठकको अवसरमा उत्कृष्ट शाखाको सम्मान हस्तान्तरण गरिएको थियो । संघको चितवन शाखाका अध्यक्ष अमिर रामदाम र नवलपुर शाखाका अध्यक्ष गोविन्द नेपालीलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर