लेखापढीको दरखास्त फाराम शुल्कमा जनकपुर बारको ठगी, अदालत पनि मिलेको आशंका (भिडिओ) – Nepal Press

लेखापढीको दरखास्त फाराम शुल्कमा जनकपुर बारको ठगी, अदालत पनि मिलेको आशंका (भिडिओ)

जनकपुरधाम । नेपाल बार एशोसिएसन जनकपुरले लेखापढी व्यवसायी प्रमाण-पत्रका लागि दरखास्त फाराम भर्नेहरूसँग अवैधरूपमा रकम असुली गरिरहेको पाइएको छ ।

जिल्ला अदालत धनुषाले लेखापढी व्यवसायी प्रमाण-पत्रका लागि दरखास्त फाराम भर्नका लागि ११० रुपैयाँ दस्तुर मात्र तोकेको छ । तर, बारले फारामवापत ३ हजार असुल्दै आएको छ ।

‘दरखास्त फाराम लिन अदालत पुग्दा कर्मचारीले बार एसोसिएसन पठाइदिएको र त्यहाँ पुग्दा फारामका लागि ३ हजार लाग्ने बताएपछि आश्चर्य लागेको सिरहाको औरहीबाट फाराम भर्न आएका भागवत यादवले बताए । उनले भने, ‘अदालतले दस्तुर मात्र ११० रूपैयाँ तोकेको छ । तर बार एसोसिएसनले थप ३ हजार माग्छन् । यो त सीधा ठगी भयो नी ।’

दरखास्त फारामकै ३ हजार रूपैयाँ तिर्नुपर्ने बार एसोसिएसनका कर्मचारीले भनेपछि फाराम भर्न पुगेकाहरू आन्दोलित भएका छन् । अदालतले तोकेको दस्तुर लिएर फाराम भर्न दिनुपर्ने उनीहरूको माग छ ।

तर, बार एशोसिएसनका पदाधिकारी उनीहरूको कुरा सुन्न तयार छैन । बार एसोसिएसनका अध्यक्ष किशोरी साहले कुरै नबुझेर फाराम भर्न आएकाहरू हल्ला गरेको भनेर गैरजिम्मेवार जवाफ दिए ।

उनले भने, ‘लेखापढी व्यवसायीको प्रमाणपत्र लिन लिखित परीक्षा दिनुपर्छ । परीक्षाभन्दा पहिले हामीले तालिम दिन्छौं । त्यसवापत प्रतिपरीक्षार्थी ३ हजार लिने गरेका छौं ।’ तालिम लिन नचाहनेले पनि फारामवापत ३ हजार दस्तुर तिर्नुपर्ने हो त भन्ने जिज्ञासामा उनले केही बोलेनन् ।

अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले पनि तालिम दिनका लागि फाराम भर्नेहरूसँग बारले ३ हजार लिने गरेको जानकारी आएको बताए । बार एसोसिएसनलाई अदालतले त्यत्रो रकम लिन अनुमति दिएको हो भन्ने जिज्ञासामा उनले ‘ल ल भयो’ भनेर फोन राखे ।

मनोमानी रकम असुली गरिरहेको बेला दरखास्त फारामवापत जबर्जस्ती रकम लिइरहँदा अदालतसमेत मौन रहेको टिप्पणी हुन थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर