शैक्षिक सुधार भन्दा स्वार्थप्रेरित राजनीतिक दवाव आउन गरेको शिक्षामन्त्री पौडेलको खुलासा (भिडिओ) – Nepal Press

शैक्षिक सुधार भन्दा स्वार्थप्रेरित राजनीतिक दवाव आउन गरेको शिक्षामन्त्री पौडेलको खुलासा (भिडिओ)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने खालका राजनीतिक दवावहरु आफूमाथि आउने गरेको खुलासा गरेका छन् ।

मन्त्री पौडेलले माथिल्लो तहबाट बेलाबेलामा बोलाउने गरेको र जाँदाखेरी शैक्षिक प्रणाली सुधार्ने भन्दापनि ठूल्ठूला व्यक्तिहरुको व्यक्तिगत चाहना सम्बोधन गराउने गरी दवाव आउने गरेको बताएका हुन् ।

सत्तारुढ दलका विद्यार्थी संगठनका नेताहरुसँग बुधबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा भएको सामूहिक भेटमा उहाँले आफूले ती राजनीतिक दवावहरुलाई पदमा रहन्जेल प्राथमिकता नदिने प्रतिवद्धता समेत व्यक्त गरे ।

मन्त्री पौडेलले आफ्नो पहिलो पहलकदमी सार्वजनिक शिक्षाको सुधारमा केन्द्रित हुने योजना पनि सार्वजनिक गरे । मन्त्री पौडेलले भने,‘पोलिटिकल प्रेसर पनि शिक्षा प्रणाली सुधार्नेभन्दा ठूल्ठूला वरिष्ठ व्यक्ति र व्यक्तित्वहरुको चाहना बढि भएको आउँछ । बोलायो, दौडदै गयो । केही कुरा भन्नु हुन्छ कि भन्यो, चाहना अर्के छ । तर मैले तपाईँहरुलाई के प्रतिवद्धता व्यक्त गर्दछु भने ती म यो पदमा रहुन्जेल प्राथमिकताका विषय हुँदैनन् । यति भनेपछि बुझ्ने भयो नि । अहिले मेरो प्राथमिकताको विषय भनेको सार्वजनिक शिक्षालाई म यहाँ रहँदासम्म सुधार गर्ने, अगाडि बढाउने । निजी क्षेत्रको बारेमा सरकारले नै पोलिसी ल्याएको हुनाले निजी क्षेत्रलाई पनि नियमन गर्ने र सँगै लिएर जाने । उसलाई नीति दिने, नियमन गर्ने । सार्वजनिकलाई सुधार गर्न जोड दिन पहलकदमी गर्ने हाम्रो जोड हुनेछ ।’

मन्त्री पौडेलले ‘राष्ट्रपति शैक्षिक कार्यक्रम’ र ‘पढदै ः पढाउँदै कार्यक्रम’ तत्काल अघि बढाउने गरी तयारी भईरहेको र त्यसमा आवश्यक सुझाव दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरे ।

छलफलमा सत्तारुढ दलमा आवद्ध नेपाल विद्यार्थी संघका सभापति राजीव ढुंगानाले निजी क्षेत्रले जथाभावी शुल्क विद्यार्थीहरुबाट असुली रहेको उल्लेख गर्दै तत्काल नियन्त्रण गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए ।

अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सार्वजनिक क्षेत्रको शैक्षिक सुधारको कार्यक्रमलाई परिणाममुखि बनाउनुपर्नेमा जोड दिन आग्रह गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर