विद्युत महसुल घट्यो, २० युनिट विद्युत खपत गर्दा ३० रुपैयाँ मात्रै शुल्क लाग्ने – Nepal Press

विद्युत महसुल घट्यो, २० युनिट विद्युत खपत गर्दा ३० रुपैयाँ मात्रै शुल्क लाग्ने

काठमाडौं ।आगामी मंसिरदेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर कायम गरेको हो ।

सोमबार बसेको आयोगको बैठकले आगामी मंसिरदेखिको विद्युत खपत र २०७८ पौष महिनादेखिको बिलिङ्गमा लागू हुने गरी विद्युत उपभोक्ता महशुल दर निर्धारण गरेकाे छ ।

प्राधिकरणको निर्यातबाहेक अन्य उपभोक्ताको हकमा औसत १.०४ प्रतिशतले महसुल घट्ने गरी आयोगले महशुल दर निर्धारण गरेको छ। विद्युत उपभोग बढाउन  महशुल औसत २.८४ प्रतिशतले घटाएको छ।

सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका  उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महसुल दरमा २५ ले कटौती गरी क्रमश: प्रति युनिट १००, १२५ र १५० कायम गरिएको छ।

यसैगरी, सिङ्गल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पियर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरका उपभोक्ताको मासिक न्युनतम शुल्कको हकमा साबिकको महसुल दरमा २५ ले कटौती गरी क्रमश: प्रतियुनिट १५०, १७५, २०० र २५० कायम गरिएको छ।

विपन्न नागरिकलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताकाे हकमा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्कमात्र लाग्ने गरी निर्णय गरिएको छ।

यसैगरी, सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको इनजी शुल्कको हकमा साबिकको दरमा प्रति युनिट ५० पैसा घटाई प्रति युनिट ९.५० कायम गरिएको छ। साथै, सिङ्गल फेजबाट आपूर्ति लिई मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा प्रति युनिट १ घटाई प्रति युनिट ११ कायम गरिएको छ।

नयाँ विद्युतदर अनुसार विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई ईनर्जी शुल्क लाग्ने छैन भने न्युनतम मासिक शुल्क ३० रुपैयाँ मात्रै तोकिएको छ ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर