आदिवासी आन्दोलनका अगुवा पासाङ र राजकुमारको पुनर्मिलन होला त एमालेमा ? – Nepal Press

आदिवासी आन्दोलनका अगुवा पासाङ र राजकुमारको पुनर्मिलन होला त एमालेमा ?

जनजाति नेताहरू भन्छन्- रनवन जता डुलेपनि साँझ परेपछि फर्किने थलोकिलो एमाले नै हो

काठमाडौं । नेपालको आदिवासी जनजाति आन्दोलनलाई समुदायस्तरमा स्थापित गर्ने र राष्ट्रको एजेण्डा बनाउने श्रेय पासाङ शेर्पा र राजकुमार लेखीलाई जान्छ । जनजाति महासंघको अध्यक्ष भएका बेला पासाङले २०६३ सालमा देशब्यापी आन्दोलनको नेतृत्व गर्दा लेखी त्यसका एक खम्बा थिए ।

पासाङपछि उनकै समर्थनमा राजकुमार लेखी जनजाति महासंघको अध्यक्ष बने । दुवैजनाले चुनावी प्रतिस्पर्धामा एमालेबाहेक अरु शक्तिहरू समर्थित आदिवासी जनजाति नेतालाई पराजित गरेर महासंघको नेतृत्वमा स्थापित भएका थिए ।

मधेश आन्दोलनको नेतृत्व उपेन्द्र यादवले गर्दा जनजाति आन्दोलनको नेतृत्व पासाङ र राजकुमारहरूले गरे । मधेश आन्दोलन कालान्तरमा राजनीतिक शक्ति हुँदै पार्टी बन्यो र विभिन्न चिरामा फुट्यो ।

तर, जनजाति आन्दोलनलाई पार्टी बनाउने पासाङ र राजकुमारहरुको प्रयास असफल भयो । उनीहरू दुवैजना एमालेको राजनीतिमा थिए । एमालेबाटै जनजाति महासंघको अध्यक्ष बने । पासाङ संविधानसभाको सदस्य पनि भएका थिए ।

एमालेले आदिवासी जनजातिको एजेण्डालाई ठीक ढंगले नबोकेको भन्दै दुवैजनाले कालान्तरमा पार्टीमात्र छाडेनन्, मधेसकोजस्तै जनजातिको पार्टी बनाउन सकिन्छ भन्ने प्रयास पनि गरे ।

पासाङले सामाजिक लोकतान्त्रिक पार्टी खोले भने राजकुमारले नागरिक पार्टी स्थापना गरे । तर मधेस आन्दोलनले जस्तो जनजाति आन्दोलनले पार्टीको आकार लिन सकेन, जसरी अशोक राईहरूको प्रयाससमेत असफल भयो ।

कालान्तरमा पासाङ माओवादी पार्टीमा लागे भने राजकुमार मधेशवादी पार्टीमा लागे । जतिवटा घाटको पाटी खाए पनि अन्ततः पासाङ र राजकुमार पूरानै घरमा पुनर्मिलनको मोडमा पुगेका छन् ।

पासाङ माओवादी हुँदै नेकपाको केन्द्रीय सदस्य बने । उनी पुस ५ को प्रतिनिधिसभा विघटनपछि केही समय प्रचण्ड-माधव समूहमै रहे पनि अन्तिममा केपी ओलीतिर लागे । अदालतबाट एमाले ब्युँतिएसँगै उनी एमाले भए र हाल केन्द्रीय सदस्य छन् ।

अब पालो राजकुमार लेखीको । साविक राष्ट्रिय जनता पार्टीको सहमहामन्त्री रहेका लेखी २०७४ सालको निर्वाचनमा एमालेका सत्यनारायण मण्डलसँग निकटतम प्रतिद्वन्द्वी बनेर प्रदेशसभा सदस्य पराजित भएका थिए ।

पार्टी एकतापछि उनी जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा थिए । विभाजनपछि उनी महन्थ ठाकुर नेतृत्वको लोसपामा लागेका थिए । तर विहीवारबाट उनले पार्टी परित्याग गरेर नयाँ यात्रा तय गर्ने बताएका छन् ।

लेखीको नयाँ यात्रा कता हो ? आम मान्छेको अनुमान छ, उनी पासाङ शेर्पासँगै भेटिदैछन् एमालेको भँगालोमा । किनकी उनको हिमचिम र पुरानो सम्बन्धका आधारमा पनि एमालेसँगै निकट छन् र एमालेमा रहेको भए अहिले माथिल्लो पोजिसनमा पुग्ने थिएँ भन्ने मनमा पनि छ ।

आजभन्दा २५ वर्षअघि नै एमालेको सप्तरी काठमाडौं सम्पर्क मञ्च अध्यक्ष रहिसकेका लेखी जनजाति महासंघको अध्यक्ष हुँदासम्म पार्टीको अन्चल कमिटी तहमा थिए । पासाङ र राजकुमारका लागि रनवन जति डुले पनि साँझ परेपछि फर्किने थलोकिलो भने एमाले नै हो भन्छन् निकट नेताहरू ।

तपाईले एमाले प्रवेशका लागि लोसपाबाट राजिनामा दिएको हो ? नेपाल प्रेसको प्रश्नमा लेखीले भने, ‘म अहिले छलफल मै छु, कुनै निर्णय भएको छैन तर राजनीति मान्छे हुँ मुद्दा र मन मिल्नेहरूबीचमै एकता हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर