नवलपरासी कांग्रेसमा देउवा समूह कमजोर हुँदा शशांक गुट बलियो – Nepal Press

नवलपरासी कांग्रेसमा देउवा समूह कमजोर हुँदा शशांक गुट बलियो

रुपन्देही । पश्चिमनवलपरासीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूह कमजोर हुँदा महामन्त्री शशांक गुटको वर्चस्व देखिएको छ ।

शनिबार १४ औं महाधिवेशन अन्तर्गत भएको गाउँ/नगर अधिवेशनको परिणामले यस्तो अवस्था देखिएको हो ।

जिल्लामा केन्द्रीय गुटभन्दा जिल्लाका नेताहरूको अलग्गै गुटबीच प्रतिस्पर्धा शुरू भएको छ । कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्यद्वय विक्रम खनाल र देवकरण जयसवाल (सन्तु) को दुई बलियो गुट बनेको छ । पहिले खुमबहादुर खड्काको समूहमा रहेका कँडेल देउवा गुटका हुन् भने जयसवाल र खनाल रामचन्द्र पौडेल समूहको शशांक समूहमा छन् । उनीहरुको चाहना र पहुँचको आधारमा जिल्लामा समूह विभाजन बनेको छ ।

७ स्थानीय पालिका रहेको जिल्लामा ६ वटा पालिकाको परिणाम आएको छ । परिणामअनुसार २ नगरपालिका र २ गाउँपालिकामा खनाल/जयसवालको गुटको समूह निर्वाचित भएको छ । २ गाउँपालिकामा कँडेल गुटको समूह निर्वाचित भएको छ । खनाल/जयसवाल गुट विजय भएका पालिकाहरूमा क्रमशः सुनवल नगरपालिकामा सभापतिका उमेदवार सोमबहादुर रायमाझी (पप्पु) ले प्रतिस्पर्धी खेमराज पाण्डेलाई १ सय २७ मतान्तरले हराए । बर्दघाट नगरपालिकामा सभापतिका उमेदवार दामोदर जिसीले प्रतिस्पर्धी शम्भुलाल श्रेष्ठलाई ५८ मतान्तरले हराए । त्यस्तै सुस्ता र प्रतापपुर गाउँपालिकामा भने सर्वसम्मत भई खनाल/जयसवालको गुट आएको छ ।

कँडेल गुट विजयी भएको सरावल गाउँपालिकामा अध्यक्षका उमेदवार विनोद पाण्डेले प्रतिस्पर्धी इन्द्र बहादुर चौधरीलाई ३६ मतान्तरले हराए । त्यस्तै पाल्हीनन्दन गाउँपालकामा अध्यक्ष हरिहर चौहानले प्रतिस्पर्धी गुड्डु गुप्तालाई ५१ मतले हराए । परिणाम आउन बाँकी रहेको रामग्राम नगरपालिकामा भने आइतबार मतदान सुरु भएको छ ।

अधिवेशनका लागि जिल्लामा १३ सय ४३ जना क्षेत्रीय प्रतिनिधिहरु चुनिएको निर्वाचत अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । पालिकाहरुको परिणामअनुसार जिल्ला नेतृत्वमा खनाल/जयसवाल गुटको पकड बलियो देखिएको छ ।

जिल्ला सभापतिमा कँडेल गुटले शिक्षक संघका पूर्वअध्यक्ष मोहन शर्मा र खनाल र जयसवाल गुटले वर्तमान जिल्ला उपसभापति अर्जुनकुमार पोखरेललाई अघि सारेका छन् । यद्यपि सभापतिका लागि महाधिवेशन प्रतिनिधिमा चयन हुनुपर्ने प्रावधान रहेकाले दुवै जनाको उमेदवारी चर्चामा मात्र सीमित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर