रुसी संसदीय चुनाब : पुटिनको दलले बहुमत ल्याउने एक्जिट पोलको प्रक्षेपण – Nepal Press

रुसी संसदीय चुनाब : पुटिनको दलले बहुमत ल्याउने एक्जिट पोलको प्रक्षेपण

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दल युनाइटेड रसिया पार्टीले संसदीय निर्वाचनमा बहुमत ल्याउन सक्ने एउटा एक्जिट पोलले देखाएको छ । बीबीसीका अनुसार भोट हालेकाहरूसँग गरिएको एउटा उक्त सर्वेक्षणमा सत्ताधारी पार्टीले जित्ने बताइएको हो ।

अहिलेको रुसी सरकारका कट्टर आलोचकलाई चुनावमा उठ्न रोक लगाइएको थियो र चुनावको समयमा नक्कली र जबरजस्ती मतदान भएका विवरणहरू सार्वजनिक भएका छन्।
रुसी निर्वाचन आयोगले भने यस्ता आरोपलाई अस्वीकार गरेको छ । चुनावमा सहभागी हुन नपाएकामा हाल जेलमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीका समर्थकहरू समेत छन्।

३३ प्रतिशत मतगणना भएपछिको प्रारम्भिक नतिजामा युनाइटेड रसियाले ४५ प्रतिशतभन्दा बढ्ता मत पाएको छ । इन्सोमार कम्पनीले सञ्चालन गरेको र रिआ समाचार संस्थाले प्रकाशन गरेको एक्जिट पोलले पुटिनको दलले ४५ प्रतिशतभन्दा केही बढ्ता मत पाउने प्रक्षेपण गरेको छ।

आइतवार साँझ मतदान सकिएको केही घण्टामै युनाइटेड रसियाले आफ्नो जित घोषणा गरेको छ। सरकारी टेलिभिजनमा प्रशारित सामग्रीमा युनाइटेड रसिया पार्टीका एक वरिष्ठ अधिकारीले मस्कोमा समर्थकहरूको भिडलाई बधाई दिंदै स्पष्ट र निष्पक्ष जीत भएको बताएका थिए।

डुमा भनिने रूसी संसदमा ४५० सांसद्हरु निर्वाचित हुँदैछन् । १४ दल सहभागी उक्त चुनावमा कयौँ शहरमा विद्युतीय मतदान सुरु गरिएको थियो। कोरोना महामारीलाई औपचारिक कारण बताउँदै मतदानलाई तिनदिने बनाइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर