पदयात्रा खुलाएर पर्यटन क्षेत्र चलायमान बनाउन व्यवसायीको माग (भिडिओ) – Nepal Press

पदयात्रा खुलाएर पर्यटन क्षेत्र चलायमान बनाउन व्यवसायीको माग (भिडिओ)

काठमाडौं । कोरोना महामारीले प्रभावित बनाएको पदयात्रा पर्यटनलाई खुलाएर आर्थिक क्षेत्र चलायमान बनाउन व्यवसायीले माग गरेका छन् ।

खुम्बु, मनास्लु, अन्नपूर्ण, मनाङ, मुस्ताङका ट्रेकिङ रुटमा विदेशीसँगै आन्तरिक पर्यटकको चासो बढीरहेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम कम हुँदै गएकाले तत्काल घुम्ने, घुमाउने अवसर नदिए पनि पदयात्रा पर्यटनलाई खुला गर्नुपर्छ भन्ने व्यवसायीहरुको माग छ ।

नेपाल बाहिर धेरै देशले आफ्ना नागरिकहरुलाई खोपको पूरा मात्रा लगाइसकेको छ । यस्तोमा पदयात्रामा जान चाहने विदेशी पर्यटकले ७२ घण्टाको पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट लिएर आउने भएकोले क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेर पदमार्गमा जाने पर्यटकलाई खुकुलो बनाउन व्यवसायीले सरकारसँग आग्रह गरेका छन् ।

यस्तै ट्रेकिङ एजेन्सीको छाता संस्था टानका अध्यक्ष खुमबहादुर सुवेदीले अन अराइभल भिसा खुला गर्ने र क्वारेन्टाइन बस्ने नियमलाई हटाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकिने बताए । एक जना पर्यटक पदयात्रामा जाँदा कम्तिमा २० जनाले रोजगारी पाउने र अर्थोपार्जन हुने अनुमान गरिन्छ । उनले भने, शाहसीक पर्यटन, हिमाल आरोहण, पदयात्रालाई मात्र पनि खोल्नसके पर्यटन सिजनसँगै चलायमान बनाउन सकिने छ ।

डेढदशकदेखि सकारात्मक लयमा रहेको नेपालको पर्यटन व्यवसाय कोरोनाको कारण नराम्रोसँग थलिएको छ । तर संक्रमणको जोखिम कम भएका मुलुकबाट नेपाल बारे चासो बढ्न थालेको ट्राभल व्यवसायीेले बताएका छन् । नेपालमा कोरोना संक्रमणदर घटेको समाचार आउन थालेपछि इन्क्वाइरी बढेको पनि व्यवसायीले बताएका छन् । सरकारले भिसा र क्वारेन्टाइनको विषयमा समयमा नै निर्णय नलिए व्यवसायी उठ्नै नसक्ने गरी थलिने व्यवासयीहरुले बताएका छन् ।

कोरोना संक्रमणको जोखिम बढ्नुअघि नेपालले भ्रमण वर्ष मनाउने तयारी गरिरहेको थियो । २०२० मा २० लाख पर्यटक ल्याउने तयारी हुँदै गर्दा कोरोनाले सबै कार्यक्रम बिथोलिदियो । अहिले संक्रमणको दर क्रमशः घटिरहेको र खोप लगाउनेको संख्या बढीरहेकोले विभिन्न क्षेत्रका पर्यटन व्यवसायीले सहज वातावरण बनाउन सरकारसँग अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *