मौद्रिक नीतिबारे निजी क्षेत्रको प्रतिक्रिया : पुरानै दोहोरियो – Nepal Press

मौद्रिक नीतिबारे निजी क्षेत्रको प्रतिक्रिया : पुरानै दोहोरियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजानिक गरेको छ । कोरोनाको कारण अर्थतन्त्र थला परेका बेला मौद्रिक नीतिले के-कस्ता कार्यक्रमहरु ल्याउला भन्ने उद्योगी व्यवसायीले चासो लिएका थिए ।

राष्ट्र बैंकले आज सावर्जनिक गरेको मौद्रिक नीतिले उनीहरुलाई खासै उत्साहित तुल्याउन सकेन । मौद्रिक नीतिमा नयाँ कार्यक्रम केही नआएको उद्योगी-व्यवसायीहरुको प्रतिक्रिया छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेशलाल श्रेष्ठले गत वर्षको जस्तै मौद्रिक नीति आएको प्रतिक्रिया दिए ।

उनले भने, ‘पहिलेको जस्तै मौद्रिक नीति आएको छ । सेयर बजारमा लागि पनि खासै नयाँ केही आएन । साना, घरेलु तथा मझौला उद्योगका लागि सोचेअनुसारको पुनःकर्जाको व्यवस्था भएन ।’

सबै प्रकारको व्यवसायिक कर्जालाई निरन्तरता दिने मात्रै भनिएको उनले उल्लेख गरे । ३ महिनापछि फेरि यसको समिक्षा हुने श्रेष्ठको भनाइ छ ।

कोरोनाको लहर वृद्धि भएर फेरि बन्द भयो भने सरकारले दिएको कर्जा र त्यसको व्याजलाई पुनःविचार गर्नुपर्ने उनी बताउँछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई मौद्रिक नीतिमार्फत अतिसंकटग्रस्त क्षेत्रमा राखिनुलाई सकारात्मक बताए ।

सिटौलाले भने, ‘हामीले पहिलेदेखि नै यातायात क्षेत्रलाई संकटग्रस्त क्षेत्रमा राख्न माग गरेका थियौं । अहिलेको मौद्रिक नीतिले त्यो व्यवस्था गरेको छ । कोरोनाको कारणले सबैभन्दा धेरै समस्यामा परेको क्षेत्र यही हो ।’

नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेन्द्र मल्लले नयाँ मौद्रिक नीतिमा वर्ष मात्रै फेरिएको बताए ।

मल्लले भने, ‘अघिल्लो वर्ष भएका कमि-कमजोरीहरु यस वर्षको मौद्रिक नीतिमा सुधार गर्नुपर्थ्यो । कुन ग्राहस्थ उत्पादन वृद्धि गर्न नयाँ मौद्रिक नीतिमार्फत लक्ष्य राखिनुपर्ने थियो । तर त्यस्तो आएन ।’

बैदेशिक रोजगारीमा गएकाहरुले बैंक तथा वित्तीय संस्थाहरुमा पैसा पठाउँदा एक प्रतिशत व्याज थप गर्ने प्रावधानलाई उनले यो मौद्रिक नीतिको सकारात्मक पक्षका रुपमा औंल्याए ।

मौद्रिक नीतिमा नसमेटिएका कुरा अब आउने नयाँ बजेटमा समेटिने निजी क्षेत्रको अपेक्षा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *