कोरोनाको तेस्रो लहर नआउँदै मुख्य अस्पताल बिरामीले भरिभराउ (भिडियो रिपोर्ट) – Nepal Press

कोरोनाको तेस्रो लहर नआउँदै मुख्य अस्पताल बिरामीले भरिभराउ (भिडियो रिपोर्ट)

काठमाडौं । पछिल्लो साता राजधानीका मुख्य अस्पतालमा कोभिड-१९ बिरामीको चाप बढ्न थालेको छ । शुक्रराज ट्रपिकल, वीर, शिक्षण, पाटन लगायतका शैय्या, आइसीयू र भेन्टिलेटर भरिभराउ हुन थालेका छन् । टेकुस्थित शुक्रराजसहितका अस्पतालले बिरामीको चापमा वृद्धि हुन थालेपछि शैय्या संख्यामा बढोत्तरी गरेका छन् । अहिले अस्पताल परिसरकै एक टहरामुनी शैय्या थपेर उपचार थालिएको छ ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमले पछिल्लो समय बिरामीको चापमा वृद्धि भएपछि शैय्या संख्यामा वृद्धि भएको जानकारी दिए । सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै अन्य पूर्वाधार पनि बढाउने तयारी भएको उनले जनाए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार अपरान्हसम्मको तथ्यांकअनुसार बागमती प्रदेशमा ४७३ जना बिरामी आइसीयू र ९१ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रदेश १ मा १२० जना आइसीयू र ४३ जना भेन्टिलेटरमा छन् । देशभर ७३२ जना आइसीयू र १५८ जना भेन्टिलेटरमा छन् । मन्त्रालयका अनुसार बिहीबार ३७ सय कोभिड बिरामी थपिएका छन् भने १० हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।

सक्रिय संक्रमित संख्या ३४ हजार ९४२ छ भने काठमाडौं उपत्यकाको एक्टिभ केस १० हजारभन्दा बढी छ । संक्रमणमा भएको वृद्धि र अस्पतालमा चाप पर्न सुरु भएसँगै काठमाडौं उपत्यकाका सीडीओले सीसीएमसीसँग छलफल तयारी थालेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अस्पतालमा बढेको चाप र संक्रमण संख्यामा भएको वृद्धिबारे कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग आइतबार छलफल हुने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर