सरकारी अस्पतालमा बढ्यो संक्रमितको चाप, यस्तो छ कोरोनाको ग्राफ – Nepal Press

सरकारी अस्पतालमा बढ्यो संक्रमितको चाप, यस्तो छ कोरोनाको ग्राफ

काठमाडौं उपत्यकाका सीडीओहरु शनिबार वैठक बस्दै

काठमाडौं । कोरोना महामारी शिथिल भएसँगै सरकारकाले काठमाडौं उपत्यकामा निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लगेको छ । तर, खोप अभियानमा सुस्तता, जनस्वास्थ्यका मापदण्डमा हेलचक्र्याइँ र सम्पर्क पहिचान रोकिँदा संक्रमण दर फेरि बढ्नसक्ने विज्ञहरुले औंल्याएका छन् ।

पछिल्लो एक साताको तथ्यांक हेर्ने हो भने संक्रमण दरको ग्राफ उकालो लागिरहेको देखिन्छ । हिजो बुधबार मुलुकको संक्रमण दर २६.५० प्रतिशत पुग्यो जुन एक सातायताकै उच्च हो । आज भने १७ प्रतिशतमा झरेको छ । आज बिहीबार १८७५ जना संक्रमित भएका छन् भने १२८६ जना निको भएका छन् । आजको संक्रमण दर १७.८५ प्रतिशत रहेको छ । हिजो बुधबार २९ सय संक्रमित थपिएका थिए र संक्रमण दर उच्च देखिएको थियो ।

कूल संक्रमितको ४३.५६ प्रतिशत अर्थात ११ हजार ५६३ सक्रिय संक्रमित बागमती प्रदेशमै छन् । काठमाडौं उपत्यकाको संक्रमण दर २० प्रतिशत आसपासमा छ । कर्णालीमा सर्वाधिक ५० प्रतिशत र गण्डकीमा ४० प्रतिशत संक्रमण दर छ । केही दिनयता अस्पतालहरुमा गम्भीर बिरामीको संख्या बढ्न थालेको छ भने आइसीयू र भेन्टिलेटर ‘अकुपाइड’ हुन थालेका छन् ।

राजधानीका प्रमुख सरकारी अस्पतालहरु शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल र वीर अस्पताल पुनः भरिन थालेका हुन् । त्यहाँ रहेका भेन्टिलेन्टर र आइसीयू अहिले लगभग अकुपाइड छन् । स्वास्थ्य मन्त्रालयले मुलुकका अन्य जिल्लाका अस्पतालमा समेत केही दिनयता कोभिड उपचारमा आउने बिरामीको संख्यामा वृद्धि भएको जनाएको छ ।

असार १७ गते २६.०४ प्रतिशत, १८ गते २१.१८ प्रतिशत, १९ गते २६.१६ प्रतिशत, २० गते २१.३६ प्रतिशत, २१ गते २३.२६ प्रतिशत, २२ गते २२.८९ प्रतिशत, २३ गते २६.५० प्रतिशत, २४ गते १७.८५ प्रतिशत संक्रमण दर कायम छ । स्वास्थ्य मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि भाइरस र मान्छेको घुलमिल हुँदा संक्रमण पुनः उकालो लागेको र जोखिम बढेको जनाएको छ ।

‘निषेधाज्ञा खुकुलो भएपछि भाइरस, मान्छे र वातावरणको इकोसिस्टम मिलेकाले संक्रमण बढेको हो,’ मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भने, ‘थर्ड वेभ आउन सक्ने स्पष्ट संकेत देखिएको छ ।’
आगामी सेप्टेम्बर तथा अक्टोबरमा तेस्रो वेभ आउनसक्ने सरकारी प्रक्षेपण रहेको पनि प्रवक्ता पौडेलले जानकारी दिए । हेलचक्र्याइँ जारी रहे अहिले नै गत अप्रिल र मे महिनाको जस्तो परिस्थिति दोहोरिनसक्ने उनले चेतावनी दिए ।

दोस्रो लहर उत्कर्षमा पुग्दा ती दुई महिनामा अस्पतालमा बेड, आइसीयू र भेन्टिलेटरको चरम अभाव देखिएको थियो । अक्सिजन र औषधी अभावमा थुप्रैले दोस्रो लहरमा ज्यान गुमाएका थिए ।

आइसीयू र भेन्टिलेटरमा चाप

संक्रमित संख्या वृद्धि हुँदै जाँदा उपचारका लागि अस्पताल जाने कोभिड बिरामी पनि बढ्न थालेका छन् । राजधानीका प्रमुख अस्पतालहरु वीर, टेकु, पाटन, शिक्षण अस्पतालमा केही दिनयता कोभिडका बिरामी बढेका छन् भने आइसीयू र भेन्टिलेटर लगभग अकुपाइड छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेल सरकारले निजी अस्पताल र मेडिकल कलेजलाई निःशुल्क कोभिड उपचारका लागि अनुमति नदिएकाले सरकारी अस्पतालमा चाप बढेको हुनसक्ने बताउँछन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका २४ आइसीयूमध्ये २३ वटा भरिएका छन् । अस्पताल निर्देशक डा. अनुप बाँस्तोलाका अनुसार ४० वटा कोभिड वार्डमा बिरामी बढेर २९ जना पुगेका छन् । त्यहाँको २२ वटा भेन्टिलेटरमा १७ जना गम्भीर बिरामी छन् ।

‘केही दिनयता दैनिक १५ जनासम्म गम्भीर बिरामी आउन थालेका छन्’ निर्देशक बाँस्तोलाले भने, ‘निषेधाज्ञा खुकुलो भएसँगै बिरामी बढ्न थालेका छन् जसले गर्दा हामीले थप तयार गर्नेबारे पनि सोचिरहेका छौं । पुनः बढ्ने हो कि भन्ने शंका गर्न सकिन्छ ।’

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा केही दिनयता कोभिड बिरामी बढ्न थालेको प्रवक्ता रामविक्रम अधिकारीले बताए । उनका अनुसार कोभिड वार्डका ५२ आइसीयूमध्ये ३० जना बिरामी छन् । १५ जना भेन्टिलेटरमा छन् । टिचिङको १६५ आइसीयूमध्ये ८३ जना बिरामी छन् । ‘पछिल्ला दिनमा बिरामी बढेको जस्तो देखिएको छ’ प्रवक्ता अधिकारीले बताए, ‘वास्तविकरुपमा बढेको कुरा थाहा पाउन केही दिन अझै यो प्यार्टन हेर्नुपर्ने हुन्छ ।’

धुलिखेल अस्पतालका ३० मध्ये १८ जना आइसीयूमा छन् भने ६ जना भेन्टिलेटरमा छन् । अस्पतालका डा. रमेश मकाजुका अनुसार कोभिडको बिरामीको संख्या ह्वात्तै नबढे पनि स्थिररुपमा बिरामीहरु आइरहेका छन् । वीर अस्पतालको २० वटा आइसीयूमध्ये २० वटै अकुपाइड भएका छन् । वीरमा १३ जना भेन्टिेलटरमा उपचाररत छन् ।

अस्पतालका डा. अच्युत कार्कीका अनुसार केही दिनयता कोभिड बिरामीको संख्यामा वृद्धि भएको देखिन्छ । बिरामी संख्यामा वृद्धि भएसँगै आफूहरु थप तयारीमा लागेको उनले बताए । सरकारले वीरलाई कोभिड डेडिकेटेड अस्पतालको रुपमा घोषणा गरेको छ ।

बुधबार दिउँसोसम्म छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालका २० वटा आइसीयूमा १७ जना बिरामी छन् । सशष्त्र प्रहरी बल बलम्बुका २० आइसीयूमा १० जना छन् । भक्तपुरका अस्पतालका ६ आइसीयू सबै भरिएका छन् । पाटन अस्पतालका ३० आइसीयूमा बुधबारसम्म २५ जना बिरामी छन् । निजामती कर्मचारी अस्पताल बानेश्वरका सूचना अधिकारी सुमनबाबु मरहठ्ठाका अनुसार १५ वटा आइसीयूमा १२ जना बिरामी छन् । २२ वटा एचडीयूमा ७ वटा बेड खाली छन् ।

सीडीओको बैठक बस्दै

काठमाडौं उपत्यकामा संक्रमण दरमा वृद्धि भएपछि तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक शनिबार बस्ने भएको छ । भक्तपुरका सीडीओ पे्रमप्रसाद भट्टराईका अनुसार बैठकले सार्वजनिक यातायात सञ्चालनमा आएपछि संक्रमण दरमा भएको वृद्धि र अस्पतालमा शैय्या अभाव हुन थालेकोबारे समीक्षा गरिने भएको छ ।

‘हामीले निषेधाज्ञाको समीक्षा गर्दै थप आदेश जारी गर्ने वा पुनः कडाइ गर्ने भन्ने बारेमा छलफल गर्नेछौं,’ नेपाल प्रेससँग प्रजिअ भट्टराईले भने, ‘स्वास्थ्य मन्त्रालयका पदाधिकारीलाई पनि राखेर हामीले परिस्थितीको मूल्यांकन गर्नेछौं ।’

काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले पनि संक्रमणको दर र अस्पतालको अवस्थाबारे अवगत भएपछि स्वास्थ्य मन्त्रालयको रायका आधारमा अघि बढ्ने बताए । ‘हामी समीक्षा बैठक बस्नेछौं र कसरी अघि बढ्ने भन्नेबारे थप रणनीति तयार पार्नेछौं’ काठमाडौं सीडीओ पराजुलीले भने ।

रोग नियन्त्रण महाशाखाले पछिल्लो समय संक्रमण दर वृद्धि हुनुमा डेल्टा र डेल्टा प्लस भाइरस जिम्मेवार रहेको जनाएको छ । विश्व स्वास्थ्य संगठनले गत मे महीनामा डेल्टालाई भेरिएन्ट अफ कन्सर्न (चासोको भाइरस) श्रेणीमा राखेको छ भने डब्लुएचओले नै डेल्टा प्लस भाइरस नेपालसहित ९० भन्दा बढी मुलुकमा फैलिएको जनाएको छ ।

पहिलोपटक भारतमा भेटिएको डेल्टा र त्यसबाट उत्परिवर्तित डेल्टा प्लसलाई विद्यमान सार्स-कोभिड-२ मध्ये सबैभन्दा संक्रामक मानिएको छ । खोप लगाउन सकिएमात्र डेल्टालाई रोकथाम गर्न सकिने भनिएपनि नेपालको खोप अभियान निकै सुस्त भएकाले डेल्टाको फैलावट तीव्र भएको हो । पछिल्ला अध्ययनहरुमा पनि अन्य भेरिएन्टभन्दा पनि डेल्टा ४० देखि ६० प्रतिशत बढी संक्रामक रहेको बताइएको छ ।

खोप अभियान सुस्त

बिहीबारसम्म २६ लाख ११ हजारले पहिलो डोज खोप लगाएका छन् भने ९ लाख ३३ हजारले दोस्रो मात्रा । कोभ्याक्स, भारत लगायतका उत्पादक मुलुक तथा संयन्त्रबाट आपूर्ति नहुँदा मुलुकको खोप अभियान प्रभावित बनेको छ । खोप अभियान सुस्त हुँदा र निषेधाज्ञा खुकुलो भएर भीडभाड बढ्दा थप लहरहरु आउन सक्ने मन्त्रालयको भनाई छ ।

सरकारले कूल जनसंख्याको दुई तिहाइ अर्थात ७२ प्रतिशतलाई खोप लगाउने जनाए पनि चीनबाहेक अन्य मुलुकबाट तत्काल खोप आउने सम्भावना देखिएको छैन । कोभ्याक्सले ३ लाख ४८ हजार डोज आस्ट्राजेनेका र १.५ मिलियन डोज जोन्सन एन्ड जोन्सन खोपको प्रतिबद्धता जनाएपनि त्यो खोप कहिले आउने भन्ने टुंगो छैन ।

चीनबाट थप ४० लाख डोज खोप आउने तयारीमा छ । चीनको साइनोफार्मसँग भएको नन-डिस्क्लोजर सहमतिअनुसार खोप आउन लागेको हो । मुलुकको दुई तिहाइ जनसंख्यालाई खोप लगाउन डेढदेखि दुई करोड डोज खोप आवश्यक हुने सरकारी प्रक्षेपण छ । जसलाई हेरेर स्वास्थ्य मन्त्रालयले खोप खरिद गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ । सरकारले आगामी सातादेखि चरणबद्धरुपमा खोप आपूर्ति गर्ने बताएपनि यही रफ्तारमा खोप अभियान चलाउँदा लक्षित वर्गलाई लगाउन केही वर्ष लाग्ने देखिन्छ ।

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी महामारीको समयमा नेपालमा चलेको अहिलेको खोप अभियानलाई ‘अभियान’ भन्न नमिल्ने बताउँछन् । ‘कतिजनाले लगाएका छन् र ? यो अभियान नै होइन,’ उनी भन्छन् ।

पहिलो र दोस्रो लहरबाट सरकारले महामारी नियन्त्रणमा पाठ नसिकेको बताउँदै उनले भीडभाड पुनः बढेकाले जोखिम थपिएको उल्लेख गरे । नागरिकहरु पनि जनस्वास्थ्यका मापदण्ड पालनामा सचेत हुनुपर्ने उनको सुझाव छ । संक्रमण दरमा पुनः वृद्धि भएसँगै अस्पतालमा अबको दुई सातासम्म बेडको अभाव हुनसक्ने उनले बताए ।

तेस्रो लहर आउनुपूर्व सरकार र अन्य निकाय मिलेर बिपद्विरुद्ध रणनीति तयार गर्नुपर्ने सुझाव विज्ञहरुको छ । ‘हामीले धेरैपटक सुझाव दिएका छौं र यसको पालना भएको छैन’ सुवेदी भन्छन्, ‘हामीले ठूलो कुरा भनेका होइनौं । परीक्षण बढाउनुपर्छ र सुरक्षाका मापदण्डलाई कडाइका साथ लागु गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ।’ नेपालमा बुधबारसम्म ६ लाख ५१ हजार संक्रमित पुगेका छन् । कूल मृत्यु संख्या ९ हजार ३२० पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर