वेल्सका रोबर्ट्स भन्छन्- ९९ प्रतिशत विश्वले हामीविरुद्ध डेनमार्कलाई समर्थन गर्नेछ – Nepal Press

वेल्सका रोबर्ट्स भन्छन्- ९९ प्रतिशत विश्वले हामीविरुद्ध डेनमार्कलाई समर्थन गर्नेछ

काठमाडौं । वेल्सका डिफेन्डर कोनर रोबर्ट्सले ‘९९प्रतिशत विश्व’ले युरो २०२० को नकआउट चरणको पहिलो खेलमा डेनमार्कलाई समर्थन गर्ने बताएका छन् । क्रिस्टियन एरिकसन कार्डिक एरेस्टको शिकार भएर मैदानमा ढलेपछि उनैप्रति समर्पित डेनिस टोलीले जितका लागि कुनै कसर बाँकी नराख्ने निश्चित छ ।

रुसविरुद्धको खेलमा ४-१ को धमाकेदार जित निकाल्दै डेनमार्क अन्तिम १६ मा पुग्दा सबै खेलाडीले त्यो जित एरिकसनका लागि डेडिकेट गरेका थिए । तर, अर्कातिर वेल्स प्रतियोगितामा ‘मार्जिनल अन्डरडग्स’ टोली हो र डिफेन्डर रोबर्ट्स सबै न्युट्रल समर्थकले डेनमार्कलाई साथ दिन बताए ।

‘यो एकदमै कठिन हुनेछ, आशा गरौं हामी जित्न सक्छौं,’ रोबर्ट्सले भने, ‘मलाई लाग्छ, ९९ प्रतिशत विश्वले हामीविरुद्ध डेनमार्कलाई समर्थन गर्नेछ ।’

‘यो खेल एकदमै कठिन हुनेछ । तर, हाम्रो टोली राम्रो छ, हामीसँग राम्रा खेलाडी छन्, हामीले केही हदसम्म मोमेन्टम पनि पाएका छौं,’ उनले भने, ‘उनीहरू पनि एकदमै राम्रो टिम हुन् । उनीहरूले धेरै समर्थन पाउनेछन् । तर, जब हामी त्यो सेतो धर्का पार गर्नेछौं, हामील‍े आफ्नो सबैथोक त्यो खेलमा लगाउनेछौं ।’

एरिकसन मैदानमा ढलेपछि केही बेर रोकिएको पहिलो खेलमा फिनल्यान्डसँग पराजित भएको डेनमार्कले अन्तिम खेलमा रुसविरुद्ध इमोसनल जित हासिल गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । त्यस्तै वेल्सले भने समूह एको उपविजेताको रूपमा प्रि-क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

‘हामीले समूह चरणबाटै बाहिरिने सोचेका थिएनौं र त्यो भरोसालाई कायम राख्न सफल भएका छौं,’ रोबर्ट्सले भने, ‘हामी सधैं कम आँकिएका छौं । हाम्रो टोलीमा हेर्नुस्, हामीसँग फिल्डमा राम्रा खेलाडी छन् ।’

समूह एमा इटालीबाहेक सबैको सम्भावना ५०-५० रहेको र तीन राम्रा टोलीमध्ये उत्कृष्ट नतिजा निकाले पनि आफूहरूलाई ‘अन्डरस्टिमेटे’ गरिएको रोबर्ट्स बताउँछन् ।

‘तर, हामीले यो प्रतियोगितामा राम्रो खेलिरहेका छौं,’ उनले भने ।

वेल्सले क्वार्टफाइनल प्रवेशका लागि डेनमार्कसँग कोपनहेगनमा भोलि शनिबार राति ९:४५ बजे खेल्ने छ ।

यी दुई टोलीका पछिल्ला १० खेलमा बराबरी भएको छैन । तीमध्ये डेनमार्कले ६ तथा वेल्सले ४ खेल जितेको छ । सन् २०१८ को नोभेम्बरमा नेसन्स लिगमा डेनमार्कले २-१ गोलको नतिजामा वेल्सलाई पराजित गरेको थियो । त्यो नै यी दुई टोलीको अन्तिम भेट हो ।

यद्यपि, डेनमार्कले वेल्सविरुद्ध १९९९ यताका सबै (३) प्रतिस्पर्धात्मक खेलमा जित निकालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर