प्रदेश योजना आयोगको आवधिक योजना अनुसार नै बजेट ल्याएको लुम्बिनी सरकारको दाबी – Nepal Press

प्रदेश योजना आयोगको आवधिक योजना अनुसार नै बजेट ल्याएको लुम्बिनी सरकारको दाबी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगले तयार गरेको आवधिक योजना अनुसार बजेट ल्याएको जनाएको छ । विपक्षी दलले संसदमा प्रस्तुत बजेटमाथि छलफलको कार्यक्रम बहिस्कार गरेपछि आज पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले यस्तो बताएका हुन् ।

सरकारले आगामी आर्थिक वर्ष २०७८/ ०७९ को बजेटले स्वास्थ्य, पूर्वधार, कृषि र रोजगारलाई प्राथमिकतामा राखेर ल्याएको उनले बताए ।बजेट कुनै पनि कार्यकर्ता पोस्नेगरी नआएको र प्रदेश योजना आयोगले तयार गरेको आवधिक योजना अनुसार विषयहरुलाई प्राथमिकतामा राखेर ल्याइएको उनले बताए ।

योजना आयोगले तयार गरेको आवधिक योजनालाई साकार गर्ने र अहिलेको अवस्थालाई ध्यानमा दिंदै बजेटका विषयहरुलाई प्राथमिकतामा राखिएको उनले बताए ।

कोभिड -१९ को नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउने, कृषि, रोजगार र दायित्व सिर्जना भइसकेका सडक निर्माणलाई बजेटले प्राथिमकतामा राखेको उनको भनाइ छ । स्वास्थ्य संस्थाको स्तरोन्नति, जनशक्ति व्यवस्था, टेष्ट किट खरिद, पिसिआर उपकरण खरिद, खोप व्यवस्थापन, कोभिड निःशुल्क उपचारलगायत स्वास्थ्य क्षेत्रमा बजेटले प्राथमिकता दिएको उनले बताए ।

यसैगरी पूर्वधारतर्फ रामपुर कपुरकोट प्रदेश गौरव आयोजना, १३६ वटा प्रदेशस्तरीय सडक, ३० वटा पालिका जोड्ने सडकहरुका लागि पनि बजेट विनियोजन गरिएको उनले बताए ।

एक घर एक धारा कार्यान्वयनका लागि बजेट, सिंचाई, ९८३ वडामा नासु सरह प्राविधिक, प्रतिफलमा आधारित अनुदान, चिस्यान केन्द्र निर्माणलाई पनि बजेटले प्राथमिकतामा राखेको आर्थिक योजना तथा मामिला मन्त्रीसमेत रहेका चौधरीले बताए ।

त्यस्तै नयाँ कार्यक्रम अन्तर्गत बावियोबाट निर्मित हुने कागज कारखानालाई पनि सरकारले प्राथमिकतामा राखिएकाे छ । बन क्षेत्रमा खोल्साखोल्सी व्यवस्थापन गर्नुका सार्थ बन क्षेत्रमा आयआर्जन तथा रोजगार बढाउने कार्यक्रम बजेटमा समेटिएको  छ ।

देउखुरी उपत्यकामा राजधानी निर्माणका लागि गुरुयोजना तयारका साथै प्रदेश सभा भवनको निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको उनले बताए ।

त्यसैगरी प्रदेशका विशेष महत्वको आयोजना अनुसार लुम्बिनी प्रादेशिक अस्पताललाई २५ करोड, राप्ती प्रादेशिक अस्पताल र नेत्रलाल अभागी रंगशाला निर्माणलाई पनि बजेटको प्राथमिकतामा पारिएको  छ ।

एमआरआई सेवाका लागि दुई अस्पतालमा मेसिन खरिदका ३० करोड, प्रदेश विश्वाविद्यालय स्थापना र विकास पनि आगामी बर्षमा गरिने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *