वागमतीका मुख्यमन्त्रीसमक्ष वस्ती जोगाइदिन मेलम्ची र हेलम्बुवासीको आग्रह – Nepal Press

वागमतीका मुख्यमन्त्रीसमक्ष वस्ती जोगाइदिन मेलम्ची र हेलम्बुवासीको आग्रह

सिन्धुपाल्चाेक । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहितको सरकारी टोलीले बुधबार मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको स्थलगत निरीक्षण तथा विस्थापित नागरिकसँग भेटघाट गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेल मेलम्ची, हेलम्बु चनौटे, गणेश वगर पुग्दा यहाँका स्थानीय बाढीले पुरेका संरचना निकाल्दै थिए । केही मानिसहरु तारजालीमा ढुंगा भर्दै बिद्यालयसहित गाउँवस्ती र बाटो जोगाउन खटिएका थिए । बाढीले वर्षौदेखि कमाएको सम्पती बगाएको र पुरीएको भन्दै यहाँका स्थानीयले तत्काल तारजाली व्यवस्थापन गरी वस्ती सुरक्षित बनाउन मुख्यमन्त्रीलाई आग्रह गरे ।

हिमाली क्षेत्रमा पहीरो जाँदा मेलम्ची खोला थुनिएर बग्दा लेदोसहितको बाढीले खोलाको सतह बढाएपछि नदी किनारका बस्ती र बजार क्षेत्रमा बाढी पसेको थियो ।

नेपाली सेनाले मुख्यमन्त्री पौडेललाई राहत बितरण र उद्दारमा खेलेको भूमिकाको विषयमा जानकारी गराएको थियो । मुख्यमन्त्री पौडेलले नेपाली सेनासहित सुरक्षा निकायले उद्दार कार्यमा देखाएको सक्रियताप्रति धन्यबाद दिएका थिए ।

बाढीको कटान रोक्न तत्काल तारजाली पठाउने र थप बजेट ब्यवस्थापन गर्ने मुख्यमन्त्री पौडेलले यहाँका पीडित सामू प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्री पौडेलले मेलम्ची नगरपालिकाका प्रमुखसँग भेट गरी त्यहाँको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

बागमती प्रदेश सरकारले प्रदेश विपद कोषबाट एक करोड र तटबन्धनका लागि भौतीक पूर्वाधार विकास मन्त्रालय मार्फत ५० लाख रुपैयाँ दिने निर्णय गरेर सिन्धुपाल्चोक पुगेका मुख्यमन्त्री पौडेललाई यहाँका स्थानीयले आफ्ना समस्या समाधानका लागि आग्रह गरे ।

मेलम्चीका स्थानीय ताराप्रसाद दुलाल तटबन्धन गरी खोलालाई पूर्ववत् आफ्नै धारमा फकाइ खोलाको सतह गहिराइदिए बजार क्षेत्र पुनः गुल्जार हुने विश्वास लिएर बसेका छन् । माथिल्लो भेगमा वर्षा हुनासाथ मेलम्ची बजारका स्थानीय बासिन्दा नजीकैको टारमा रहेको सामुदायिक विद्यालय भवन पुग्ने गरेका छन् ।

बाढीको कहरले उनीहरुलाई बैचैन बनाइरहेको छ । बाढीबाट विस्थापितहरु सामुहिक रुपमा बस्दा विभिन्न रोगको संक्रमण फैलन सक्ने भन्दै बागमती प्रदेश सरकारको पहलमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको टोलीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नेपाली सेना, प्रहरीका चिकीत्सकहरुको टोली औषधिसहित प्रभावित क्षेत्र पुगेका छन् । बाढी प्रभावित क्षेत्रका दुईवटा स्थानमा सातदिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । सिन्धुपाल्चोकको हेलम्बु, चनौटेमा दुई स्थानमा २० जना स्वास्थ्यकर्मीको टोली औषधिसहित पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *