नेकपा विवादको असरः केन्द्र विवादले गाउँपालिका नै टुक्रने सम्भावना – Nepal Press

नेकपा विवादको असरः केन्द्र विवादले गाउँपालिका नै टुक्रने सम्भावना

रुपन्देही । लुम्बिनी प्रदेशको पहाडी जिल्ला रुकुम (पूर्व)को पुथाउत्तरगङ्गा गाउँपालिकाको केन्द्र विवाद बढ्दै जाँदा पालिका नै विभाजन गर्नुपर्ने अवस्थामा पुगेको छ । नेकपाको राजनीतिक विवादका कारण गाउँपालिका विभाजनका लागि तीन वटा प्रस्ताव आएको पालिका अध्यक्ष ओमप्रसाद घर्तीले नेपाल प्रेससँग बताए । पहिले दुई वटाको प्रस्ताव आएको थियो अहिले एउटा थपिएको छ, नेताहरुको लडाईका कारण गाउँमा समस्या बढ्दै गएको छ, उनले भने ।

१४ वटा वडा रहेको सो पालिकामा २ वटा वडामा मात्र नेपाली कांग्रेसले जितेको थियो । अरु सबै वडामा नेकपा नेतृत्व नै रहेको छ । साविकका रन्मामैकोट, हुकाम, जाङ, कोल, राङ्सी र तकसेरा गाविस मिलाएर बनाइएको यो गाउँपालिका जिल्लाको सबैभन्दा ठूलो क्षेत्रफलमा रहेको छ । पहिले पालिका समायोजन गर्नेबेलामा जिल्लाबाट पुथा र उत्तरगङ्गा गाउँपालिका भनेर सिफारिस गरिए पनि माथिबाट एउटै भएर आएको थियो, त्यसैले पनि अहिले समस्या बढाएको हो – अध्यक्ष घर्तिले भने ।

पालिकाको विवाद मिलाउन गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेको बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो ।

यसअघि दुईवटा गाउँपालिका बनाउने दुई प्रस्तावमाथि गत माघ १७ गते नै छलफल भएको थियो । माघ १५ गते शुरु भएको गाउँसभा १७ गते स्थगन भएको हो । अहिले भौगोलिक दृष्टिले सर्वसाधारणलाई सुविधा नभएकाले हालको गाउँपालिकालाई तीनवटा बनाउन प्रस्ताव गरिएको छ ।

हालको केन्द्रलाई नै केन्द्र मान्ने गरी उत्तरगङ्गा, कोल र जाङको क्षेत्र मिलाएर जामाबगर केन्द्र बनाउने गरी सुनगुफा, हुकाम र मैकोटको केन्द्र गरघाट हुने गरी पुथा गाउँपालिका प्रस्ताव गरिएको अध्यक्ष घर्तिको भनाइ छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र कार्यपालिका सदस्यसमेतको समर्थनमा गाउँपालिका टुक्र्याउने प्रस्ताव गरिएको हो ।

तेस्रो गाउँपालिका बनाउने प्रस्ताव आएपछि गाउँसभा अनिर्णित बनेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले बताए । पैँतालीस दिनभित्र विशेष गाउँसभा गर्ने र त्यसैबाट थप गाउँपालिकाको सिफारिस गरिने अध्यक्ष घर्तीले बताए । गाउँपालिका विभाजनबारे विवाद बढेपछि आयोग बनाउन छलफल भएको छ । वडा मिलाउने र सीमारेखा पनि अनुकूल हुने गरी सिफारिस गर्न कार्यपालिकाले आयोग बनाउने तयारी गरेको हो । विशेष अधिवेशसनले नै यसको टुंगो लगाउँछ, ४५ दिनभित्र विशेष अधिवेशन गर्ने निर्णण् भएको छ, चैतको दोस्रो सातासम्म समाधान गर्छौ, सबैलाई मिलाएर दुई वटा (पुथा र उत्तरगंगा) गाउँपालिका बनाउने प्रस्तावमा टुंगो लगाउने मेरो प्रयास रहन्छ – उनले भने ।

नेताहरुले समन्वय नगरेको गुनासो

गाउँपालिका तीन टुक्रा हुनेगरी विवाद भइ गाउँसभामा प्रस्ताव हुँदा समेत प्रदेश तथा संघीय सभामा प्रतिनिधित्व गरेका सांसदहरुले वास्ता नगरेको अध्यक्ष ओमप्रसाद घर्तिले गुनासो गरे । उनले भने – यति ठूलो विवाद हुँदा पनि उहाँहरुले मलाई एकपटक फोन गरेर सोध्नुभएको छैन, चासो राख्नुभएको छैन खै किन हो ? घर्तिले नेताहरुले केही व्यक्तिहरुलाई अगाडि सारेर विवाद बढाइदिएको र तेस्रो प्रस्ताव पनि उहाँहरुकै अग्रसरतामा आएको बताए ।

सदरमुकाम सार्ने निर्णयविरुद्ध रिट

रुकुमपूर्वको सदरमुकाम सार्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको पेसी २० औं पटक सरेको छ । सरकारले २०७४ माघ ११ गते रुकुमपूर्वको सदरमुकाम गोल्खाडा कायम गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अस्थायी सदरमुकाम रहेको रुकुमकोट पक्षधर गणेश हमाल, कृष्ण रेग्मी र दत्तबहादुर बस्नेतले २०७४ माघ १७ गते सर्वोच्च अदालतमा रिट दर्ता गरे पनि हालसम्म सुनुवाइ हुन नसकेको हो ।

पछिल्लोपटक बुधबार पेसी तोकिएको थियो । फेरि आगामी चैत २७ गतेका लागि पेसी तोकिएको छ । उक्त मुद्दा संवैधानिक इजलासमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर