सरकार र प्रहरीबीच नमिलेको तालमेल, वार्ताको वातावरण बिग्रेला ? – Nepal Press
धर्मेन्द्र वास्तोला पुन: पक्राउ

सरकार र प्रहरीबीच नमिलेको तालमेल, वार्ताको वातावरण बिग्रेला ?

अदालतको मानहानिमा प्रहरीलाई के कारबाही हुन्छ ?

काठमाडौं । हिरासतमा रहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका एक प्रमुख नेता धमेन्द्र वास्तोलालाई रिहा गर्न आज अदालतले आदेश दियो । सरकार नेतृत्वको नेकपासँग वार्ता गर्ने योजनामा रहेको बेला सर्वोच्चको आदेशलाई कतिपयले ‘सेटिङ’ को रुपमा समेत हेरे । तर, वास्तोलालाई रिहालगत्तै प्रहरीले फेरि पक्राउ गरेर फरक सन्देश दिएको छ ।

धर्मेन्द्रलाई अदालतले रिहा गरेलगत्तै प्रहरीले पक्राउ गर्ने सिलसिला अघिदेखि नै चलिरहेको थियो । त्यसैले सर्वोच्चले आजको आदेशमा फेरि पक्राउ नगर्न प्रहरीलाई कडा चेतावनीसमेत दिएको थियो । यसका बाबजुद प्रहरीले आफ्नो रणनीति बदल्न चाहेन ।

‘हाइ प्रोफाइल’ व्यक्तिलाई अदालतले छोडेपछि पुनः पक्राउ गर्ने विषयमा प्रहरीको उपल्लो नेतृत्वले नै आदेश दिनुपर्छ । प्रहरीको नेतृत्वले यसमा सरकारसँग सोधेर मात्रै निर्णय लिने गर्छ । आज सर्वोच्चको आदेश मिच्दै वास्तोलालाई फेरि पक्राउ गर्नुको अर्थ प्रहरीले राजनीतिक नेतृत्वबाट कुनै नयाँ निर्देशन नपाएको बुझिन्छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार बास्तोलामाथि अरु मुद्दा पनि भएकाले पक्राउ परेका हुन् ।

कार्यालयका प्रवक्ता एसपी सुशील सिंह राठौरले भने, ‘एउटा मुद्दामा अदालतको आदेशअनुसार रिहा हुनुभयो । तर, उहाँमाथि अर्को मुद्दा पनि रहेकाले रिहापछिको स्वतन्त्र अवस्थामा पक्राउ गरिएको हो ।’

यसरी पुनः पक्राउ गर्दा सर्वोच्चको मानहानि हुने उनले स्वीकार गरेनन् । ‘पुरानै मुद्दामा पक्राउ गरेको भए मानहानि हुने थियो । अर्को मुद्दामा पक्राउ गर्दा मानहानि मानिंदैन,’ राठौरले भने ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरसँग यस विषयमा जान्न खोज्दा उनले धेरै बोल्न चाहेनन् ।

‘काभ्रेमा अर्को मुद्दा रहेछ, त्यसैमा समातिएको भन्ने बुझेको छु’ उनले भने, ‘यो विषयमा मैले धेरै बोल्न मिल्दैन, तपाईं आफैं विश्लेषण गर्नुस् ।’

यस्तो थियो आदेश

धर्मेन्द्रलाई प्रहरीले चौथोपटक काठमाडौं जिल्ला अदालत परिसरबाट पक्राउ गरेको थियो । उनलाई हातहतियार खरखजाना तथा संगठित अपराध मुद्दामा पहिलोपटक पाँच दिन र दोस्रोपटक सात दिन म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको थियो । उनको रिहाइका लागि छोरी अनिमा बास्तोला भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय मीरा खड्का र सुष्मलता माथेमाको संयुक्त इजलासले बास्तोलालाई थुनामा राख्न न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै गैरकानूनी थुनाबाट मुक्त गर्न आदेश दियो । यति मात्र होइन कि सर्वोच्चले आफ्नो आदेश अवहेलना गर्दै पुनः पक्राउ गरिए प्रहरीमाथि नै कारबाही हुने चेतावनीसमेत दिएको छ ।

‘निवेदकलाई विना आधार कारण थुनामा राखेकोमा अघि पनि बन्दी प्रत्यक्षीकरणको आदेश जारी भएकोमा निज मुक्त नभई हालसम्म थुनामा रहेको देखिन्छ । अब पनि सोही विषयमा पक्राउ गरिएमा विपक्षीलाई नेपालको संविधानको धारा १२८ (४) तथा न्याय प्रशासन ऐन २०७३ को दफा १७ बमोजिम कारबाही हुने व्यहोराको जनाउ विपक्षीलाई दिनू ।’

‘सोही विषयमा पक्राउ गरिएमा’ भन्ने वाक्यांशले अर्को विषयमा भने पक्राउ गर्न सक्ने कानूनी छिद्र प्रहरीलाई मिलेको हो । अदालतले आदेश दिएपछि रिहा भएका बास्तोलालाई गेटबाट निस्कनासाथ प्रहरीले पक्राउ गरेको थियो । बास्तोलाले पत्रकारलाई प्रतिक्रिया दिन खोज्दै गर्दा प्रहरीले उनलाई झांगलझुंगल पार्दै भ्यानमा हालेको थियो । उनलाई पक्राउ गरेर काभ्रे लगिएको छ ।

कानूनमा के छ ?

प्रहरीले लिएको एक्सनले सर्वोच्च अदालतको आदेश उल्लंघन भएको ठहर कानूनविद्को छ । वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेलको भनाइमा याे अदालतको सीधा अवहेलना हो ।

‘नेपालको संविधानको धारा १२८ को उपधारा ४ अनुसार यो अदालतको अवहेलना नै हो । न्याय प्रशासन ऐन २०७३ को दफा १७ अनुसार पनि अदालत परिसरबाट कसैलाई पक्राउ गर्न पाइँदैन । त्यस्तो गर्ने प्रहरी अधिकारीलाई कारबाही हुन्छ’, उनले भने ।

न्याय प्रशासन ऐन २०७३ को दफा १७ मा अदालतको अवहेलनामा कारबाही चलाउन सकिने ४ उपदफा उल्लेख छन् । उपदफा १ अनुसार सर्वोच्च अदालतले आफ्नो र उच्च अदालत वा जिल्ला अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश गरेमा वा फैसलाको अवज्ञा गरेमा अदालतको अवहेलनामा कारबाही चलाउन सकिन्छ । उपदफा ४ अनुसार यस्तो कारबाही चलाउँदा अदालतको अवहेलना गरेको ठहरेमा सम्बन्धित अदालतले कसूरदारलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्नेछ ।

वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्चले यस्तो किसिमका घटनामा कारबाहीका लागि दर्जनौं आदेश दिएको भए पनि अहिलेसम्म कुनैमा कारबाही नभएको बताउँछन् । धमेन्द्रलाई अदालत सामुन्नेबाट पक्राउ गर्नुपर्ने परिस्थितिजन्य कारण पनि नभएको उनको भनाइ छ ।

‘उनी त्यहाँबाट भाग्न खोजेको अवस्था थिएन । विधिपूर्वक पक्राउ पुर्जी दिएर पक्राउ गर्न सकिन्थ्यो । राजनीतिक व्यक्तिमाथि यस्तो दुर्व्यवहार ठीक होइन’, उनले भने ।

वार्ताको वातावरण बिग्रेला ?

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले शनिबार विज्ञप्ति जारी गर्दै वार्तामा आउन तयार रहेको जनाउ दिएका थिए । उनले विज्ञप्तिमा भनेका छन्, ‘सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग संवाद र वार्ताका लागि तयार छौं ।’

विप्लवको विज्ञप्तिले सरकार उत्साहित देखिएको थियो । सरकारले एक दुई दिनमै विप्लव नेतृत्वको नेकपा माथिको प्रतिबन्ध हटाउने र वार्ता समिति बनाउने चर्चा समेत चलेको थियो । तर, आजको घटनाक्रमले फेरि परिस्थितिले नयाँ मोड लिन सक्ने आशंका व्यक्त गर्न थालिएको छ ।

सरकारको उच्च स्रोत भने नेतृत्वको नेकपालाई वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउन प्रतिबद्ध रहेको बताउँछ । चाँडै विप्लवमाथिको प्रतिबन्ध फुकुवा गरिने र त्यसपछि धर्मेन्द्रलगायत जेलमा रहेका विप्लव नेतृत्वको नेकपाका नेता–कार्यकर्ताको रिहाइ प्रक्रिया अघि बढाइने स्रोतको दाबी छ ।

विप्लव नेतृत्वको नेकपाका एक नेताले पनि नेपाल प्रेससँग कुरा गर्दै सरकारसँग वार्ताको विषयमा आशावादी नै रहेको बताए । तथापि, धर्मेन्द्रलाई पुन: पक्राउ गर्ने प्रहरीको शैलीको भने उनले निन्दा गरेका छन् ।

‘राजनीतिक एजेन्डा बोकेर परिवर्तनका लागि हिंडेको शक्तिमाथि प्रहरीले गरेको व्यवहार ठीक भएन, यो विषयमा हामी पार्टीमा छलफल गर्नेछौं, तर वार्ताका विषयमा अझै हामी आशावादी छौं’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर