गठबन्धनमा असन्तुष्ट माधव नेपाललाई देउवाले भेटे, के भयो छलफल ?
काठमाडौं । सत्ता गठबन्धनमा अविश्वास बढिरहेको बेलामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बीच भेटवार्ता भएको छ । बुधवार साँझ कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काको घरमा दुई नेताबीच भेटवार्ता भएको हो ।
दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमदेखि सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयमा छलफल भएको कांग्रेस निकट एक नेताले बताए ।
गठबन्धनमा भएको पछिल्लो सहमति अनुसार सुदूरपश्चिम सरकारको नेतृत्व नेकपा एसले पाएको छ । त्यहाँ नेकपा एसले संसदीय दलको नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । तर, एमालेले सोडारीलाई समर्थन गर्न अटेर गरिरहेको छ ।
यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टी नाउपाका सांसदद्वय लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर, दुवैको दाबी खारेज गर्दै प्रमुख नजिर मियाँले अर्को दाबी पेस गर्न आज साँझ ५ बजेसम्म समय दिएका छन् ।