पहिरोमा परिवार गुमाएका ‘आमा निभा’ बालकले खनिदिएको ‘निरफूल’ को गोरेटो – Nepal Press

पहिरोमा परिवार गुमाएका ‘आमा निभा’ बालकले खनिदिएको ‘निरफूल’ को गोरेटो

काठमाडाैं । २०७२ सालमा संखुवासभामा पहिरोमा परी आमा गुमाएका ८ वर्षीय बालक सुवास तामाङलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याइयो । सुवासलाई थाहा थिएन, ३० वर्षीया सुखमाया तामाङ र ३ वर्षीय भाइ पहिरोमा परेर बितिसके ।

तर, सुवास भने अस्पतालमा रोइरहे मात्रै । उसको मुखबाट एक शब्दमात्रै लगातार निस्कियो, ‘आमा निभा !’

लगातारजसो ‘आमा निभा’ भन्दै रोइरहेको सुवासको भाषाका कारण उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई समस्या पर्‍यो । आखिर के भन्न चाहेका हुन् सुवासले ?

सुवासले बोलेको भाषाको अर्थ खुट्याउन स्वास्थ्यकर्मीहरु भेला भए । झापाबाट आएकी सुवासकै गाउँले दिदी सुनिता तामाङले सुवासको भाषालाई प्रस्ट्याइदिइन् । सुवासले ‘आमा निभा’ भनेर ‘आमा जाने’ भनेका रहेछन् । अर्थात् ‘आमाकहाँ जाने’ । तर, आमा त पहिरोमा पुरिइसकेकी थिइन् !

सुवासले भाषा नजानेर समस्या भोगेका थिएनन् । उसका वरिपरि भएका मान्छेले सुवासको भाषा नजान्दा समस्या आइपरेको थियो । अरु मान्छेले मातृभाषा नबुझिदिँदा आठ वर्षीय सुवासले त्यति धेरै दुःख पाएका थिए । आफ्नो कुरा राख्नलाई लगातार जस्तो एकै शब्द पुकारिरहनुपरेको थियो उनले ।

सुवासबारे समाचार छापियो । उक्त समाचारले कवि, लेखक तथा निर्देशक फूलमान वलको ध्यान खिच्यो । समाचार पढेपछि उक्त घटनाले बिथोल्यो । त्यो घटना त्यतिवेला वलले थाहा पाएका थिए, जतिवेला फिचर फिल्म बनाउनुपर्छ भनेर मानसिक रुपमा तयार भइसकेका थिए । अनि २०७२ सालको भुईंचालोको प्रसंग र त्यो बच्चीको प्रसंग जोडेर फ्यामेली मिसिङको फिल्म बनाए, ‘निरफूल’ ।

सुवासले खनिदिएको निर्देशनको गोरेटो

कुनै समय वल पत्रकारिता गर्थे । कान्तिपुर दैनिकमा मात्रै दुई दशक जोडिए । चार पुस्तक लेखिसकेका वलको ‘महाभारतकी मैच्याङ’ कविता संग्रह प्रकाशित छ । कविताको अलावा नाटक ‘म्हेन्दो माया’ र ‘सोनाम ग्याल्मो’ लेखे । कथा संग्रह ल्याए ‘काजोल खातुन’ । लामो समय साहित्य र पत्रकारितामै सक्रिय रहे ।

अहिले भने फिल्म निर्देशनमा पनि वल जोडिएका छन् । उनको निर्देशन रहेको सिनेमा ‘निरफूल’ यही जेठ २६ गतेबाट प्रदर्शन हुँदैछ ।

तीन वर्षअघि नै प्रदर्शनको अन्तिम तयारीमा रहेको यो सिनेमा कोभिड महामारीको चेपुवामा पर्‍यो । २०७६ साल चैत ७ गते प्रदर्शन मिति तय भएको थियो । ट्रेलर सार्वजनिक भइसकेको थियो । प्रमोशन पनि भइसकेको थियो । तर, अन्तिममा आएर सरकारले लकडाउन घोषणा गर्‍यो ।

त्यसवेलादेखि लकडाउनमा बसेको वलको ‘निरफूल’ अहिले सिनेमा हलमा लाग्ने तयारीमा छ । वल ‘निर्देशक’ बनेर दर्शकमाझ जाने तयारीमा छन् ।

दयाहाङ स्टारर ‘निरफूल’मा निर्देशक बन्नुअघि वल कवि त छँदै थिए, कथाकार छँदै थिए र पत्रकार पनि छँदै थिए । यिनै क्षेत्रबाट आफूलाई अभिव्यक्तसमेत गरिरहेका थिए । तर, २०७३ सालपछि निर्देशकको दौडमा पनि सहभागी भए ।

छोटो फिल्म ‘सेलफोन’ बनाएपछि वलको निर्देशकीय यात्रा १२ वर्षअघिबाट सुरु भएको थियो । ‘सेलफोन’ले देश, विदेशमा अवार्डहरु पनि जित्यो । ‘सेलफोन’को सफलताले पनि आफूलाई फिल्म निर्देशन गर्ने आत्मविश्वास दिलाएको वलको भनाइ छ ।

वल थप्छन्, ‘नवीन सुब्बा दाइहरुको आदिवासी जनजाति फिल्म अर्काइभमा वर्कसप, निर्देशनको मास्टरक्लास लिने अवसर पाएको थिएँ । त्यो भएर पनि सेलफोन बनाइयो । त्यही वेला नवीन दाइले फिल्म नबनाएर किन जागिर खाएर बसेको होला भनिरहनुहुन्थ्यो । यी सबै कारणले नै हो मलाई निर्देशक बनाएको ।’

त्यही वेला वलले निकै बाक्लो संख्यामा बैकल्पिक फिल्महरु हेरे । इरानी, जापानी, चिनियाँ फिल्महरु हेरे । बलिउडको मूलधारभन्दा बाहिरका वैकल्पिक फिल्महरु हेरे । वल भन्छन्, ‘ती वैकल्पिक सिनेमाहरु हेर्दा के लाग्यो भने फिल्मको प्रभाव निकै ठूलो हुँदोरहेछ । मैले कविता लेख्दा एउटा सानो तप्का, सानो समुदाय र सर्कललाई मात्रै प्रभावित बनाउने भयो । तर, फिल्मले चाह्यो भने त ठूलो समुदाय र तप्कामा प्रभाव पार्न सक्दोरहेछ । यो त यति धेरै शक्तिशाली रहेछ भन्ने लागेपछि निर्देशनमा हात हालें ।’

त्यही समयमा २०७२ सालको ठूलो भुईंचालो गयो । त्यही वेला प्रकाशित एक समाचारले समेत वललाई दुःखी बनायो । भूकम्पका कारण ७०० बालबच्चा हराइरहेका थिए । ती मरेको प्रमाण कतै थिएन । बाँचेको रेकर्ड पनि थिएन । भेटिएका पनि थिएनन् । अनि ती बच्चा कहाँ छन् ?

लगत्तै संखुवासभाका ‘आमा निभा’ सुवासको समाचार पनि पढे । ‘आमा निभा’ सुवासलाई सन्दर्भ बनाएर वल फिल्मको स्क्रिप्टिङमा लागे । लोकेसनका लागि धादिङको रुबी भ्याली रोजे ।

रुबी भ्याली काठमाडौंबाट नजिकको तामाङ वस्ती भएको ठाउँ । हिमाली भेग पनि । जहाँ नेपाली भाषाको प्रयोग कम हुन्छ । बच्चाहरु मातृभाषामै हुर्किन्छन् । अनि त रुबी भ्याली र आमा निभा बच्चाको घटना जोडेर फ्यामेली मिसिङको कथा बोकेको ‘निरफूल’ निर्देशन गर्न तम्सिए ।

कथा सानो-ठूलो जस्तो होस्, तर मन छुने होस्

चिनियाँ फिल्ममेकर चाङ यिमोउको एउटा फिल्म छ ‘नट वनलेस’ (सन् १९९९) । यस फिल्मले एक किशोरीको कथा भन्छ । ती किशोरी स्कुलमा झण्डै आफ्नै उमेरका दौंतारीहरुलाई अघिल्लो शिक्षकको सट्टामा पढाउन आएकी हुन्छे । उनलाई बच्चाहरु एउटा पनि कक्षामा एबसेन्ट हुनुहुन्न भनेर भनिएको हुन्छ । तर, अचानक एक बच्चा हराउँछ । उक्त बच्चा खोज्न गाउँबाट शहर पुगेर ती किशोरीले गर्ने प्रयत्नलाई फिल्ममा देखाइएको छ ।

फिल्मको कथा त यतिमात्रै हो सारंशमा ।

तर, बच्चीको माध्यमबाट ग्रामीण र शहरी चीनको आर्थिक विकासको दूरी देखाइएको छ । ग्रामीण शिक्षा र शहरी शिक्षाबीचको खाडल देखाइएको छ । ग्रामीण र शहरी विकास, यी फरक इलाकामा बस्ने मान्छेको जीवनशैली र चेतना देखाइएको छ । यति सानो कथाको माध्यमबाट यति धेरै थोक भनिएको छ ।

वललाई पनि लाग्छ, फिल्म बनाउन ठूलो र बडेमानको कथा चाहिँदैन । सिर्फ मान्छेको मन छुने गरी कथालाई भनिदिए पुग्छ । उनले चाहिँ परिवार हराएको कथा भन्दैछन् निरफूलमा । वल भन्छन्, ‘यस फिल्ममा मैले सिस्टमको व्यारियरहरुलाई देखाउन खोजेको छु । खासमा यो पात्र भर्सेस सिस्टममा आधारित कथा हो ।’

१५ हजार डलरको प्रोत्साहनले दिलाएको आत्मविश्वास

कविता, नाटक, कथा लेखिरहेका वललाई एक दिन लाग्यो, भिजुअल्ली केही न केही त गर्नैपर्छ । निर्देशक नवीन सुब्बाले पनि ‘जागिर छाडेर फिल्म किन नबनाएको’ भनिरहन्थे । सँगै राम्रा फिल्महरुमाथि अध्ययन पनि गर्दै गए ।

तर, वललाई थाहा थियो- कथा कसरी भन्ने भनेर थाहा भएरमात्रै हुँदैन । ठूलो रकम पनि फिल्म निर्माणमा जोडिन्छ । प्राविधिक कुरादेखि कलाकारलाई व्यवस्थापन पनि निर्देशकको रुपमा अर्को जिम्मेवारी थियो । निर्मातालाई विश्वस्त बनाउनु अर्को चुनौती थियो ।

टीमवर्कका कारण यी सबै चुनौती पर्गेल्न सहज भएको वलको दाबी छ ।

‘काम गरौं भनेर निर्माताहरु सजिलै राजी हुनुभयो । ‘सेलफोन’ बनाउँदाका निर्माता निमा पाख्रिन र चन्द्रमाया बमजनबाट नै ‘निरफूल’ का निर्माता जोड्ने क्रम सुरू भयो । दुबई, कतार, जापान, कोरिया र बेलायतमा बस्ने विभिन्न मित्रहरू निरमा्ण टोलीमा जोडिन आइपुग्नुभो । ‘सेलफोन’ कै कथालाई इनलार्ज गरेर फिचर फिल्म बनाउने कुरा पनि भएको थियो । तर, हामीले ‘निरफूल’कै कथामा काम गर्‍यौं’, वल सुनाउँछन् ।

अर्कातिर नेपाल-म्यानमार फ्रेण्डसिप काउन्सिलले ‘निरफूल’को स्क्रिप्टलाई पुरस्कृत गर्‍यो । बर्मिज नेपालीहरुले १५ हजार अमेरिकी डलरको प्रोत्साहन दिए । फिल्मले पैसा कमायो भने त्यस्तै अर्को फिल्म निर्माण गर्ने गरी उनले फेलोसिप पाएका थिए ।

वल भन्छन्, ‘निर्देशन गर्न त सेलफोनले सिकायो । मान्छेको भित्री संवेदना खोज्न कविता लेखनले साथ दिएको थियो । कवि हुनुको नाताले कुनै पनि कथालाई आफ्नै मानेर अपनत्व ग्रहण गर्ने स्वभाव पनि थियो । त्यसैले रुबी भ्यालीको समुदायको कथा र आमा निभाको कथालाई जोडें । यो कथामार्फत् त्यो समुदायको भित्री तहमा पुग्छु कि भन्ने भयो । अनि निर्देशन गर्न तम्सिएको हुँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *