गाउँ र राष्ट्रको नाममा इतिहास कोर्ने सपना बोकेकी सुनिता (भिडिओ) – Nepal Press

गाउँ र राष्ट्रको नाममा इतिहास कोर्ने सपना बोकेकी सुनिता (भिडिओ)

काठमाडौं । सुनिता खड्काको सपना ठूलो थिएन । ओखलढुंगाको एउटा गाउँमा मध्यम वर्गीय परिवारमा जन्मेकी उनको सपना सेनाको जागिर खाने थियो ।

उनले आज न राष्ट्रिय टीमको मुख्य खेलाडी बन्छु भनेर सोचेकी थिइन् न त उनलाई कुनै खेलको बारेमा नै ज्ञान थियो । १२ कक्षाको पढाइ सकेर सेनामा भर्ती हुन हिँडेकी सुनिता आज नेपाली महिला राष्ट्रिय टीमकी मुख्य सदस्य भएकी छन् ।

सन् २०१९ मा बंगलादेशमा आयोजना भएको एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपबाट राष्ट्रिय टीममा डेब्यू गरेकी सुनिताले यो तीन वर्षमा महिला भलिबल टीमको मुख्य सफलताहरुको साक्षी बनिसकेकी छन् ।

२०७१ साल चैत्रमा आर्मीमा भर्ती भएकी सुनिता २०७२ सालमा ट्रेनिङका लागि त्रिशूली पुगेकी थिइन् । आर्मीले भर्खरै महिला भलिबल टीम बनाएर खेल्न सुरु गरेको वेला थियो त्यो । राम्रो खेलाडी खोज्ने क्रममा आर्मीका पूर्व खेलाडी दिप खड्का त्रिशूली पुगेका थिए ।

पातलो ज्यानमा ठूलो चुस्ती लगाएकी सुनिता अग्ली देखिइन् । त्यहाँ उनको उचाइ देखेर दिप प्रभावित भए । उनले सुनितालाई भलिबल खेलाडी बन्ने प्रस्ताव राखे । आर्मीको ट्रेनिङले धेरै दुःख भएर घर भागौं कि भन्ने अवस्थामा पुगेकी सुनितालाई दिपको प्रस्तावले ठूलो राहत मिल्यो उनी केही पनि नसोची खेलाडी बन्न राजी भइन् । उनी  खेलाडी बन्न काठमाडौं आएका बेला  कपिल श्रेष्ठ आर्मी महिला भलिबल टिमकाे प्रशिक्षक थिए ।

ट्रेनिङको त्यो दुःखबाट काठमाडौं आउन पाउँदाको खुसी र फेरि फर्किएर त्यहाँ जानु नपर्दाको आनन्द उनको मुहारमा अझै झल्किएको देखिन्छ । उनी भन्छिन्, ‘त्रिशूलीको ट्रेनिङ मेरो जीवनको ‘टर्निङ पोइन्ट’ सावित भयो । ट्रेनिङ गर्दागर्दा मलाई धेरै दुःख भइसकेको थियो । म आत्तिसकेकी थिएँ । जागिर खाउँ कि छोडौंको दुविधामा परिसकेकी थिएँ । फोन सम्पर्क केही थिएन । घरमा बोल्न नपाएको कत्ति भएको थियो । मलाई कहाँ अन्धकारमा पुगे जस्तो भएको थियो । त्यसै वेला त्यो अवसर पाएँ ।’

खेलाडी छनोटका लागि आएका गुरुले ‘तिम्रो हाइट छ, मेहनत गरे भने राम्रो राष्ट्रिय खेलाडी बन्न सकिन्छ । खेल्न जाने हो ?’ भनेर सोध्दा आफूले केही नसोची हुन्छ भनेको सुनिताले स्मरण गरिन् । ‘आएपछि फर्किएर जानुपरेन । भलिबलमै राम्रो गर्न सकें’, उनले भनिन् ।

खेल के हो भनेर थाहै नपाई सुनिता खेलाडी बनिन् । उनलाई खेलाडीहरुमा क्रिकेटका पारस खड्का र फुटबलमा एक/दुई जनाबाहेक कोहीको नाम थाहा थिएन । आजकल उनलाई भलिबलबाहेक अरु खेल मन नै लाग्दैन । ‘सुरुमै खेलकुदबारे ज्ञान भएको भए खेलाडी बन्नु पर्छ भन्ने सोच आउँथ्यो र सबै खेलकुदमा रुचि हुन्थ्यो’, सुनिताले भनिन्, ‘तर एकैचोटि भलिबल समाएको हुनाले अहिले भलिबलसँगै प्रेम भयो । अरु कुनै खेलमा मलाई सौख छैन ।’

राष्ट्रिय टीममा मिडल ब्लकरको भूमिका निभाइरहेकी सुनिता अरु खेलमा भन्दा भलिबलमै भविष्य देख्छिन् । सायद उनको भविष्य नै भलिबलले बदलेर होला ।

‘भलिबल नै खेलिरहेकाले होला, अरु खेलमा भन्दा म त भलिबलमै भविष्य देख्छु । खेल्न थालेपछि विस्तारै मलाई आर्मीको सेटमा रहेर खेल्नपर्छ मैले भन्ने भयो । पछि राष्ट्रिय टीमको जर्सी लगाएर राष्ट्रका लागि खेल्नुपर्छ भन्ने भयो । त्यो हुँदाहुँदै अरु कुनै खेल खेल्ने अवसर पनि पाइएन र चासो पनि भएन’, उनी भन्छिन् ।

घरपरिवार र घरछिमेकले आफू राष्ट्रिय खेलाडी भएकोमा गर्व महसुस गर्ने गरेको बताउँछिन् सुनिता । सुनितालाई विभागीय र राष्ट्रिय टीमबाट खेल्दा खासै धेरै फरक लाग्दैन । दुवैमा उनी समान जिम्मेवारी महसुस गर्छिन् । जता खेल्दा पनि आफ्नो शत प्रतिशत दिने र उपाधि जित्ने लक्ष्य हुने भएकाले उनलाई केही फरक लाग्दैन ।

तर, नयाँ खेलाडीहरुको आगमनले टीममा स्थान बनाइराख्न भने चुनौती आइलागेको उनी बताउँछिन् । ‘अहिले राष्ट्रिय टीममा नयाँ खेलाडीहरु आइरहेका छन् । एकदमै प्रतिभावान छन् सबैजना । हामी सबै सँगै ट्रेनिङ गरिरहेका छौं । यहाँ टिकिरहन एकदमै चुनौती छ र कडा मेहनत आवश्यक हुन्छ’, उनले भनिन् ।

मानिस जीवनमा जति कोसिस गरे पनि सफल भएको महसुस गर्दैनन् । त्यस्तै सुनिता पनि सफल खेलाडी हुन कति मेहनत चाहिन्छ, त्यसको कुनै हेक्का नहुने बताउँछिन् । जति मेहनत गरे पनि यो चाहिं सफल भएको हो भन्ने ठम्याउनै नपाई रिटायर्ड भइन्छ जस्तो लाग्छ सुनितालाई ।
‘एउटा सफल खेलाडी बन्न जीवनमा धेरै मेहनत चाहिन्छ । त्यसैले म कहाँ सफल भएकी छु र ! जति मेहनत गर्‍याे, त्यति सफलता मिल्छ । मलाई लाग्दैन, हामी सफल हुँदैनाैं । सफल हुने दौडकै बीच रिटायर पनि भइन्छ होला’, उनले हाँस्दै सुनाइन् ।

भलिबल नेपालको राष्ट्रिय खेल हो । तर, राष्ट्रिय खेलका खेलाडीलाई प्रदर्शनअनुसारको सेवा सुविधा छैन । गएको तीन वर्षमा नेपाली महिला भलिबल टीमको सफलता क्रिकेट र फुटबलसँग तुलना गर्न नमिल्ने छ । तीन वर्षमा लगातार दुई पटक सेन्ट्रल जोन उपाधि र सागमा रजत पदक महिला भलिबल टीमको सफलता हो । यी तीनवटै सफलताकी साक्षी हुन् सुनिता । तर, फुटबल र क्रिकेटका खेलाडीले जस्तो सेवा सुविधा नपाएको गुनासो सुनिताको छ । उनी भलिबललाई व्यवस्थित बनाउन स्पोर्टस बुझेको मान्छे नेतृत्वमा हुनु जरुरी ठान्छिन् ।

‘म राष्ट्रिय टीममा परेदेखि तीन वटा मेडल हामीले ल्यायौं । फुटबल र क्रिकेटको तुलनामा हामी केही हदसम्म अगाडि छौं । राष्ट्रिय खेल नै भए पनि भलिबलका खेलाडीले फुटबल र क्रिकेटका खेलाडीले पाए जस्तो सेवा सुविधा भने अहिलेसम्म पाएका छैनौं’, उनले भनिन्, ‘भलिबलको समग्र विकासका लागि यसलाई व्यवस्थित बनाएर लैजान स्पोर्टसको बारेमा ज्ञान भएको, बुझेको मान्छे नेतृत्वमा हुनु जरुरी छ ।’

नखेल्दा सुनितालाई केही थाहा थिएन । तर, खेलेर राष्ट्रिय टीममा परेपछि उनलाई आफ्नो खेल जीवन सार्थक भएको महसुस गर्न एसियन गेम्सको मेडलले मात्रै सक्ने उनी बताउँछिन् ।

‘खेल्न नथाल्दा र खेलको बारेमा ज्ञान नहुँदा केही सपनै थिएन । जब आर्मीबाट खेल्न थाले, त्यसपछि मलाई राष्ट्रिय टीमको जर्सी लगाएर खेल्ने सपनाले मेहनत गर्न प्रेरणा दियो । राष्ट्रिय टीममा परेपछि मलाई अब एसियन गेम्समा मेडल ल्याउन सके मेरो खेल जीवन सार्थक हुनेछ । गाउँ र राष्ट्रको नाममा एउटा इतिहास कोर्ने मेरो एउटा ठूलो धोको छ । हेरौं कहिले पूरा हुन्छ’, सुनिताले थपिन् ।

सागमा दोस्रो र आर्मी पहिलो पटक च्याम्पियन बन्दाको अनुभूति

दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली महिला भलिबल टीमले ऐतिहासिक रजत पदक जितेको थियो । त्यतिवेला सुनिता टीमकी मुख्य सदस्य थिइन् । त्यो क्षणलाई उनी शब्दमा बयान गर्न नसक्ने बताउँछिन् ।

‘सागमा रजत जित्दा म टीमको मुख्य सदस्य थिएँ । टीममा हामी नयाँ खेलाडीहरु धेरै थियौं । हामीलाई ठलो चुनौती थियो । सधैं तेस्रो स्थानमा चित्त बुझाउने हामी दोस्रो भयौं । सायदै त्यो हुन्छ भनेर कल्पना गरेका थियौं । त्यो क्षण अविस्मरणीय छ । म शब्दमा बयान गर्न सक्दिनँ ।’

गत वैशाखमा सम्पन्न छैटौं एनभीए क्लब भलिबल लिगमा आर्मी च्याम्पियन बन्यो । आर्मी महिला भलिबल टीमको त्यो पहिलो उपाधि थियो । आर्मी च्याम्पियन बन्दा सुनिता टीमकी मुख्य सदस्य थिइन् । त्यो क्षण उनको सपना पूरा भएको क्षण थियो । आर्मीले महिला भलिबल टीम बनाउँदा सुरुदेखि नै खेलाडी रहेकी उनलाई च्याम्पियन बनेको त्यो क्षण कडा परिश्रम सार्थक भएको लागेको थियो । जुन उनी अहिलेसम्म पनि खुशी हुँदै सुनाउँछिन् ।

‘आर्मी पहिलो पटक च्याम्पियन बन्दाको खुशी पनि बयान गर्न सकिने छैन । सुरुदेखि आर्मीलाई च्याम्पियन बनाउने एउटा लक्ष्य र सपना पूरा भएको क्षण हो त्यो, म वर्णनै गर्न सक्दिनँ । असाध्यै खुशी थिएँ’, उनले भनिन् ।

सुनिताले बुझेको पढाइको महत्व

खेलाडी भएपछि पढाइको धेरै महत्व हुन्छ । तर, पढाइ अगाडि बढाउन नसकेकोमा सुनिता धेरै पछुतो मान्छिन् ।

‘मैले १२ कक्षा पास गरेको छु । आर्मीमा भर्ती भएपछि पढाइ अगाडि बढाउन सकिनँ । मलाई सेन्ट्रल जोन खेल्न जाँदा बंगलादेशका एकजना पत्रकारले इन्टरभ्यू लिन खोज्नुभएको थियो’, उनले भनिन्, ‘मलाई हिन्दी बोल्न आउँदैन । अंग्रेजी पनि त्यति राम्रो नभएपछि मैले इन्टरभ्यू नै दिइनँ । त्यतिवेला मैले पढाइको महत्व बुझेँ । अब पढाइ पनि अगाडि बढाउने सोचेकी छु ।’

एसियन गेम्सका लागि तयारी

छिमेकी देश चीनमा हुने एसियन गेम्सका लागि राष्ट्रिय भलिबल टीम अहिले बन्द प्रशिक्षणमा छ । सन् २०२३ मा हुने भनिएको खेल बढ्दो कोरोना भाइरसका कारण सरेको छ । खेल कहिले हुने निश्चित नभए पनि महिला टीम तयारीमा छ । एसियन गेम्समा महिला भलिबल टीमले मेडल ल्याउने लक्ष्य राखेको छ । त्यहीअनुसारको तयारी गरिएको सुनिता बताउँछिन् ।

तर, त्यसअघि भलिबलका कुनै प्रतियोगिता हुने छैनन् । त्यसैले एसियन गेम्स खेल्नुअघि मैत्रीपूर्ण खेलहरु आयोजना भए त्यसले तयारीमा थप सहयोग मिल्ने सुनिताको बुझाइ छ । लगातार दुई पटक सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि र सागमा जितेको ऐतिहासिक रजत पदकले महिला भलिबल टीममाथि सबैको ठूलो आशा एवं अपेक्षा छ । सबैको यही आशालाई निराशामा बदल्न नदिन महिला टीमलाई दबाब रहेको सुनिता बताउँछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *