पूर्व–पश्चिम राजमार्गलाई ५ वर्षभित्र ५ लेनको बनाइने
काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्गलाई आगामी ५ वर्षभित्र ५ लेनको बनाउने भएको छ ।
एसियन हाइवेका रूपमा विकास गर्ने लक्ष्य अनुसार पूर्व–पश्चिम राजमार्गलाई ५ वर्षभित्र ५ लेनको बनाइने राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्मा प्रस्तुत गर्दै जानकारी गराएकी हुन् ।
उनले त्यसका लागि बुटवल, नारायणगढ र कञ्चनपुर र नारायणगढदेखि काँकडभिट्टासम्मको खण्ड सुरु गरिने बताएकी छन् ।
यस्तै सरकारले काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथको थप अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।
उनले काठमाडौँ उपत्यकाभित्र पहिचान गरिएका स्थानलाई नयाँ शहरका रूपमा विकास गरिने बताएकी छन् ।
काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना तयार गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको राष्ट्रपति भण्डारीले बताएकी छन् ।