अखिल क्रान्तिकारीद्वारा बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग
काठमाडौं । अखिल क्रान्तिकारीले बलात्कारको मुद्दामा हदम्याद खारेज गर्न सरकारसँग माग गरेको छ ।
हालै एक सुन्दरी प्रतियोगिता आयोजकले एक युवतीलाई लगातार बलात्कार गरेको घटना सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बलात्कार जस्ता मुद्दामा हदम्याद हटाउन माग गर्दै सोमबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीलाई ज्ञापन पत्र बुझाएको हो ।
जबरजस्ती करणी जस्तो संवेदनशील, जघन्य महिलाविरुद्धको अपराधमा संकुचित हदम्यादको कारण पीडितले न्यायबाट बञ्चित हुनुपरेको र पीडकको मनोबल वृद्धि हुने अवस्था देखिंदा तुरुन्त हदम्याद खारेजीको लागि सम्बन्धित कानुन संशोधन गर्न जोडदार माग गरिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष मदनकुमार भुलले नेपालप्रेसलाई जानकारी दिए ।
उनका अनुसार यस्ता घटनासँग सम्बन्धित पीडित तथा पीडित परिवारमा पर्न सक्ने दबाब र प्रभावलाई समेत मध्यनजर गर्दै पीडितको सुरक्षाको उचित व्यवस्थापन गर्नसमेत माग गरिएको छ ।
संगठनका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा गएको टोलीमा संगठनका पदाधिकारी तथा सचिवालय सदस्य सहभागी भएका थिए ।