सत्तामा फर्किन कांग्रेसको दोहोरो दाउ- माधवलाई प्रधानमन्त्रीको ‘ललीपप’, एमालेसँग पनि उठबस – Nepal Press

सत्तामा फर्किन कांग्रेसको दोहोरो दाउ- माधवलाई प्रधानमन्त्रीको ‘ललीपप’, एमालेसँग पनि उठबस

कांग्रेस नेता विश्वकर्माको दाबी- एमालेसँग आजित भएर प्रचण्डजीले माधव नेपाललाई प्रधानमन्त्री बनाउनेगरी अर्को तुरुप फ्याँक्नुभयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि सत्ताविमुख भएको नेपाली कांग्रेसले सरकारमा फर्किने दाउ हेरिरहेको छ । नयाँ सत्ता समीकरणमा अविश्वास बढाउँदै सत्तामा फर्किने बाटो ढुकिरहेको छ ।

फागुन २१ गते प्रचण्डले गठबन्धन तोडेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालदेखि रवि लामिछानेसम्मलाई प्रधानमन्त्रीको अफर गरेको कांग्रेसले अहिले पनि सत्ताको रेस छाडेको छैन । प्रधानमन्त्रीको अफर अस्वीकार गरेपछि रविविरुद्ध सहकारी प्रकरण उचालेको कांग्रेसले अझै माधव नेपाललाई प्रधानमन्त्रीको ‘ललीपप’ देखाएर वैकल्पिक गठबन्धनको कसरत छाडेको छैन ।

प्रतिनिधिसभामा १० सीट रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बार्गेनिङ शक्ति पनि यही हो । वैकल्पिक समीकरणको विषयमा अध्यक्ष नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा छन् । जुन कुरा दुवै पार्टीका नेताहरु स्वीकार्छन् ।

देउवाले सुरुमै एमाले, माओवादी र रास्वपालाई बाहिर राखेर माधव नेपाललाई प्रधानमन्त्री बनाउने अफर गरेका थिए । त्यसका लगि कांग्रेसको ८८, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीको १०, जनमतको ६, नागरिक उन्मुक्ति र लोसपाका ४-४ जोड्दा १३८ सांसद पुग्थ्यो । यो सरकार गठनको लागि आवश्यक संख्या हो ।

यो गठबन्धन बनाउन सके राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीसहित केही स्वतन्त्र सांसदलाई पनि तान्न सकिने कांग्रेसको हिसाब छ । नेकपा एस अहिलेको गठबन्धनबाट बाहिरियो भने उपेन्द्र यादव नेतृत्वको जसपा पनि आउने कांग्रेसको बुझाइ छ ।

देउवासँग निरन्तर समानान्तर संवादमै रहेको नेपालले प्रधानमन्त्री प्रचण्ड र ओलीसँग आफूलाई अपमान भएको भन्दै गठबन्धनमा उथलपुथल ल्याइदिने चेनावनी दिँदै आएका छन् । सहकार्य थाल्दा पनि ओलीसँग सम्बन्ध सुध्रिन नसकेपछि माधव बेचैन छन् ।

उनलाई कांग्रेस नेतृत्वको गठबन्धनमा फर्किन पार्टीभित्रबाट मात्रै होइन, भूराजनीतिक दबाब पनि रहेको बताइन्छ । यद्यपि, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल यही गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

नेपालले प्रचण्ड र ओलीसँग अब प्रचण्डपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने लिखित सहमति खोजेका छन् । यसअघि कांग्रेस नेतृत्वको गठबन्धनमा त्यही सहमति थियो । माधव नेपालले प्रधानमन्त्रीको सुनिश्चितता मागेपछि ओलीले त्यसको विरोध गर्दै आएका छन् ।

ओलीलाई लक्षित गर्दै पार्टीको एक कार्यक्रममा मावधले भनेका थिए, ‘समाजवादीबाट प्रधानमन्त्री बन्छन् भनेर कतिपयको पेट पोल्न थालेको छ । न प्रधानमन्त्री बनिहाल्छन् कि भनेर यस्तो भएको हुनसक्छ । हामी परिस्थितिलाई आफ्नो अनुकूल बनाउनुपर्छ भन्नेमै छौं । कसैको मन भित्रभित्रै पोलेको छ भने अझै दनदनी पोलोस् । हामी त्यस्तो प्रवृत्तिका मानिसप्रति धिक्कार भन्छौं ।’

तर, देउवा माधव नेपाललाई अगाडि सारेर वैकल्पिक गठबन्धनको पक्षमा देखिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा डा. शेखर कोइराला, रमेश लेखकसहितका अधिकांश नेताहरु एमालेसँग मिलेर देशलाई स्थायित्व दिनुपर्ने पक्षमा छन् । त्यहीअनुसार दोस्रो तहका नेताहरुबीच निरन्तर संवाद चलिरहेको छ ।

यो कुरा प्रधानमन्त्री प्रचण्डले पनि चाल नपाएका होइनन्, कांग्रेसले एमालेसँग दूरी घटाएको संकेत पाएपछि प्रचण्डले पनि विभिन्न विकल्पमा छलफल थालेको बताइन्छ । कोशी प्रकरणदेखि ओलीसँग नजिएका कांग्रेस नेता डा. शेखर कोइराला बुधबार बालकोट पुगेका थिए । त्यसो त पछिल्ला दिनहरुमा ओली पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग नरम हुँदै गइरहेको राजनीतिक घटनाक्रमले देखाउँछ ।

समीकरण बदलिने विषयको चर्चा उच्चस्तरमै पुगिसकेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा दाबी गर्छन् ।

उनी भन्छन्, ‘प्रधानमन्त्रीले हामीसँग भएको समीकरणलाई तोडेर जानु चुनावमा गरेको वाचालाई समेत धोखा भएको भनेर हामीले निष्कर्ष निकालिसकेका छौं । यसलाई स्वीकार्न नसकेपछि अर्को गठबन्धन बन्छ भन्ने सुरुदेखि नै चर्चा भइरहेको विषय हो । त्यो भनेको अभ्यास गर्न बाँकी कांग्रेस-एमालेको मात्रै हो । दुई ठूला दल मिलेर बलियो सरकार बनाउनुपर्छ भनेर साथीहरु लाग्नुभएको छ ।’

‘प्रचण्डजीले माधव प्रधानमन्त्री बनाउनेगरी अर्को तुरूप फ्याँक्नुभयो’

एमालेसँग मिल्नुपर्छ भन्दै कांग्रेस नेताहरुले संवाद थालेपछि प्रचण्डले पनि नयाँ तुरुप फ्याँकेको उनको जिकिर छ ।

विश्वकर्मा भन्छन्, ‘अहिले प्रचण्डजीले पनि अर्को तुरुप फ्याक्नुभएको छ, माधव नेपाललाई प्रधानमन्त्री बनाउने, त्यसो हुँदा कांग्रेस पनि मान्छ भनेर उहाँले अहिले फेरि च्याँखे दाउ थाप्न खोज्नुभएको छ ।’

प्रचण्डले गठबन्धन तोडेपछि माधव नेपाललाई प्रधानमन्त्रीको रुपमा अगाडि बढ्न आफूहरुले समर्थन गर्ने प्रस्ताव अघि सारेको उनले स्वीकारे ।

उनले थपे, ‘माधवजीलाई तपाईंको पालो एक वर्षपछि भनेका थियौं । अहिल्यै आइहाल्यो, तयार हुनुस् भनेकै हौं । त्यसबेलामा उहाँले संख्या पुर्‍याउन सक्ने सम्भावना कमजोर देख्नुभयो र उहाँ प्रचण्डजीकै बाटोमा हिँड्नुभयो । अहिले उहाँहरुको यात्रामा कठिनाइ भएको छ ।’

एमालेसँगको सहकार्यप्रति आजित भएर प्रचण्डले कांग्रेससँगै सजिलो थियो भन्ने लैवरी भाषा बोल्न थालिसकेको उनको भनाइ छ ।

‘हामी माधव नेपालको हकमा नकारात्मक छैनौं । कांग्रेस र एमालेको गठबन्धन बन्ने सम्भावना रह्यो भने हामी त्यसमा सकारात्मक छौं । तर, प्रचण्डजीको विषयमा हामी नरम भइसकेका छैनौं । उहाँलाई अब विश्वास गर्न सकिँदैन’, नेता विश्वकर्मा थप्छन् ।

प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गर्न सकेन भने यसको विकल्पमा जानुपर्छ भन्ने विषयमा आममानिसको सहमति रहेको उनले बताए ।

नेता विश्वकर्माले थपे, ‘ठूलो पार्टीको हैसियतले कांग्रेसले नेतृत्व गरोस् भनेर एमालेले गरेको प्रस्ताव हामीले अस्वीकार गरेकै हो । पाँच दलीय गठबन्धनबाट प्रचण्डजीले धोका दिएपछि हामीले विकल्प खोज्नु अपराध होइन । त्यही भएर हामीले माधव नेपाललाई प्रस्ताव गरेका थियौं । उहाँ तयार नभएपछि अब अरु विकल्पमा कांग्रेसकै नेतृत्वमा साना दलहरुसँग गठबन्धन बनाउने कि मुख्य दलहरुसँग मिलेर सरकार बनाउने भन्ने विकल्प खुला छ ।’

साना दलहरुको गठबन्धन बनाएर अहिलेको जस्तै काम गर्न नसक्ने परिस्थिति हुनसक्छ भन्नेमा कांग्रेस सचेत रहेको उनले बताए ।

‘एमालेको दोस्रो तहका नेताहरुसँग छलफल भइरहेको छ, यो छलफलपछि प्रचण्डले पनि विभिन्न विकल्प खोज्न थाल्नुभएको छ । उहाँप्रतिको विश्वास राजनीतिक दल र जनताप्रति छैन । उहाँको सरकार ढालेर अर्को सरकार बनाउने विषयमा कांग्रेस सधैं सक्रिय हुन्छ’, उनले भने ।

‘नयाँ कोर्समा अहिल्यै जाँदैनौं’

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेससँग एमालेको राष्ट्रिय महत्वको विषयमा छलफल भए पनि नयाँ कोर्समा जानेबारे छलफल नभएको दाबी गरे ।

उनले भने, ‘राष्ट्रिय महत्वको विषयमा छलफल हुनसक्छ, त्यसलाई अस्वाभाविक रुपमा मान्न हुँदैन । तर, नयाँ कोर्स निर्माणको विषयमा कुनै छलफल भएको छैन ।’

उनले सत्ता गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी राजनीति देशका लागि नभइ मन्त्री र नियुक्तिको लागि हो भन्ने ढंगले प्रस्तुत भइरहेको टिप्पणी गरे ।

प्रमुख सचेतक बर्तौलाले थपे, ‘अन्तिम पटक हो, जेजे पाउँछौं, लिनुपर्छ भन्ने ढंगले उहाँहरु प्रस्तुत भएको देखिन्छ । सत्ता सहकार्य थाल्ने त्यसपछि मलाई यो चाहियो र उ चाहियो भन्ने अभिव्यक्ति दिँदै हिँड्नुभएको छ । त्यो बुझ्न सकेका छैनौं । तर, उहाँहरु आग्रह र पूर्वाग्रहको भकारीबाट बाहिर निस्किनुपर्छ । यो च्याखे प्रवृत्तिबाट मुुलुकले अस्थिरता भोगिराख्नु परेको छ । संसदीय गणितमा निर्णायक छु भन्ने पारेर त्यसैबाट अलि बढी प्राप्ति गर्नेहरु यस्ता हुन्छन् । तर, राजनीतिक प्रतिबद्धताको आधारमा अगाडि बढ्न आग्रह गरिरहेका छौं ।’

हिजो नेकपाको सरकार ढालेर वैरीहरुलाई सुम्पिन तयार हुनेहरुसँग सबै घटना बिर्सेर नयाँ कोर्समा अघि बढेको उनले बताए ।

बर्तौला भन्छन्, ‘प्राप्ति नै मुख्य कुरा भन्ने ठान्नेले बार्गेनिङ गरिहाल्छ । अहिले एमालेको १० सांसद बराबर एक मन्त्री छ । तर, उहाँहरुको ५ सांसद बराबर १ मन्त्री छ । उहाँहरुले आफूलाई कहाँ छु भन्ने धरातल बिर्सनु हुँदैन । आफ्नो हैसियत नबुझी अगाडि बढ्दा खाल्डोमा परिन्छ भन्ने कुरा बिर्सनु हुँदैन ।’

‘एमालेसँगको सहकार्य परसम्म जान्छ’

कांग्रेसले एमालेसँग मिल्ने गृहकार्य गरे पनि सम्भव नहुने माओवादी केन्द्रका सांसद राजन दाहाल बताउँछन् ।

उनी भन्छन्, ‘सत्ताबाट बाहिरिएपछि कांग्रेस उत्तेजित भएर सकेसम्म यो सरकार ढाल्न पाए हुन्थ्यो भनेर लागेको छ । सरकारलाई असफल बनाउन नै संसद पनि बन्धक बनाइरहेकै छ । उहाँहरुको असफल प्रयत्न हो । कांग्रेसको प्रयासले नयाँ समीकरणलाई असर गर्दैन ।’

कांग्रेस र एमालेका नेताहरुबीच संवाद भएको आफूहरुले पनि सूचना पाएको उनले बताए ।

सांसद दाहाल थप्छन्, ‘राजनीतिक पार्टीहरुका बीचमा संवाद हुन्छन् । एमालेसँग राजनीतिक निकटता कायम गर्दै परसम्म जाने सहमति बनेको छ । समाजवादी क्रान्तिको आधार तयार पार्दै अघि बढ्ने विषयमा साझा सहमति छ । त्यसैले तत्काल उहाँहरुबीच छलफल भए पनि सरकार सञ्चालनको विषयमा कुनै समस्या हुने अहिलेसम्मको परिस्थितिले देखिँदैन ।’

प्रचण्डले एमालेसँगको सहकार्यमा असन्तुष्टि पोख्न थालेको विषयलाई सांसद दाहाल स्वीकार्दैनन् । तर, असन्तुष्ट देखिए पनि नेकपा एसले यो सहकार्य छाड्ने सम्भावना नभएको उनले दाबी गरे ।

‘सहकार्य भए पनि सबै विषयमा मिल्छन् भन्ने हुँदैन । मन्त्रीमण्डल पुनर्गठन, प्रदेश सरकार गठन, राजनीतिक नियुक्तिमा आआफ्नो कोण हुन्छन् । त्यो नमिल्दा उहाँहरुको केही असन्तुष्टि बाहिर आएका छन्’, उनले भने, ‘तर यो समीकरणबाट उहाँहरु बाहिरिनुहुन्छ भन्ने लाग्दैन । त्यो परिस्थिति पनि छैन । यो समीकरणबाट बाहिरिनु भनेको उहाँहरुले ठूलै चुनौती मोल्नु हो । त्यो चुनौती मोल्ने अवस्थामा उहाँहरु देखिनुहुन्न ।’

‘कांग्रेसले डे-वानदेखि नै प्रधानमन्त्री दिएको छ’

नेकपा एसका सचिव जीवनराम श्रेष्ठ कांग्रेसले पार्टी अध्यक्षलाई नयाँ समीकरण बनेदेखि नै प्रधानमन्त्री दिएको दाबी गरे ।

उनले भने, ‘अध्यक्षलाई कांग्रेसले सुरुदेखि नै प्रधानमन्त्री दिएको छ । त्यो अस्वीकार गरेर नयाँ समीकरणमा जोडिएका हौं । अहिले पनि देउवासँग भेट्ने कुरा स्वाभाविक हो ।’

उनले नयाँ समीकरणमा सहमति कार्यान्वयन नभएपछि पार्टी अध्यक्षले असन्तुष्टि व्यक्त गरेको बताए ।

सचिव श्रेष्ठले भने, ‘सहमति गरे पनि पालना गर्नुपर्छ, अध्यक्षको कुरा पनि त्यही हो । ठूलो पार्टी र सानो पार्टी भन्दै समझदारी तोडेर अपमान गर्ने कुरा गर्न हुँदैन । सबैको आस्तित्व हुन्छ, निर्णय गर्ने अधिकारमा स्वतन्त्र हुन्छ, त्यो कुरालाई उहाँहरुले स्वीकार्न सक्नुपर्छ । हामी पार्टी नै एउटा भएका होइनौं, सरकारको समीकरणमा बसेका हौं । त्यसैले पार्टीको स्वतन्त्रतामा कसैले हस्तक्षेप गर्न मिल्दैन ।’

उनले नयाँ समीकरणको मुख्य योजनाकार नै एमाले भएकाले तत्काल यसलाई भत्काएर कांग्रेससँग मिल्न जान्छ भन्ने आफूहरुले नसोचेको बताए ।


प्रतिक्रिया

One thought on “सत्तामा फर्किन कांग्रेसको दोहोरो दाउ- माधवलाई प्रधानमन्त्रीको ‘ललीपप’, एमालेसँग पनि उठबस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर