`जारीमा धेरै गल्ती गरेकाे थिएँ, दर्शकले थाहै पाएनन्´ – Nepal Press

`जारीमा धेरै गल्ती गरेकाे थिएँ, दर्शकले थाहै पाएनन्´

काठमाडौं । उपेन्द्र सुब्बा पटकथा लेखक भएको ठ्याक्कै एक दशक पुग्यो । २०७० सालबाट ‘कबड्डी’ हुँदै पटकथा लेखनमा प्रवेश गरेका सुब्बा ‘कबड्डी ४’ सम्म पुगे । बीचमा ‘फूलबारी’मा पनि पटकथाकार बने । ‘कबड्डी’ अघि पनि सुब्बाले केही फिल्म लेखेकाे भए पनि ती फिल्मले हलको मुख देख्न पाएनन् ।

सुब्बा निर्देशक भएको भने एक वर्ष भयो । २०८० सालको बैशाखमा प्रदर्शन भएको ‘जारी’बाट निर्देशक बनेका सुब्बाकाे दाेस्राे चलचित्र ‘मनसरा’ यही बैशाख २१ मा प्रदर्शनमा आउँदैछ । तर, निर्देशक हुनुको अनुभूति भने खासै गर्न नपाएको उनी बताउँछन् ।

‘खोलाको गीत’ कविता संग्रह ल्याए, कवि भए । ‘लाटो पहाड’ कथा संग्रह ल्याए, कथाकार भए । कवि भएर हिँडे । बोले । डुले । साथीभाइ पनि साहित्यिक क्षेत्रकै बनाए । अनिमात्रै फिल्मी दुनियाँमा प्रवेश गरे ।

सुब्बा सुनाउँछन्, ‘मलाई अहिले पनि लाग्छ, म निर्देशकभन्दा पत्यारिलो लेखक/कविकै रुपमा रहेछु । अहिले छुसछुस सन्दर्भ चाहिँ निस्कँदैछ, उहाँ पनि निर्देशक हो भन्ने जस्तो ! त्यसैले गएको एक वर्षमा मैले निर्देशकको रुपमा खासै नौलो अनुभूति गरिनँ ।’

‘जारी’मा भएको कमजोरीको क्षतिपूर्ति ‘मनसरा’

२०८० बैशाखमा आएको सुब्बाको ‘जारी’ले बक्स अफिसमा धुम मच्यायो । १७ करोडमाथि व्यापार गर्‍याे । दयाहाङ राई र मिरुना मगरलाई सुपर हिट जोडीको रुपमा स्थापित गर्‍याे । पटकथा लेखकबाट सुब्बा निर्देशकको अवतारमा समेत स्थापित भए । अहिले ‘मनसरा’ आउने तयारीमा छ ।

‘जारी’ र ‘मनसरा’ विषयगत हिसाबले लिम्बू समुदायकै कथा हो । तर, ‘मनसरा’मा भने आर्य समुदायको प्रवेश गराएको टिजरमा देख्न सकिन्छ । बाँकी कथा के कसो हो, हलमा प्रदर्शन भएपछि नै थाहा हुनेछ । यद्यपि ‘जारी’कै निर्देशक भएपछि हल सञ्चालक, निर्माता र दर्शकहरुमा अपेक्षा स्वाभाविक रुपमा बढ्ने नै भयो ।

एउटा स्रष्टाले पहिलोपछि नयाँ कृति पस्कँदै गर्दा नयाँ सोचका साथ ल्याउने नै भयो । यदि नयाँ कृतिमा नयाँ कोसिस नै गरेन भने ऊ स्रष्टा भन्न लायक पनि नरहने कुरामा सुब्बा अडिग छन् । यसको एकै कारण हो- पहिलो सृजनाको कमीकमजोरी र गल्तीबाट सिकेर दोस्रो सृजना सर्जकले लिएर आउने हो ।

‘मैले जारीमा जे जति काम गर्न सकिनँ, जे जति बिगारें, त्यसको क्षतिपूर्ति हो मनसरा । जारीबाट मैले धेरै कुरा सिकें । त्यसैले जारीभन्दा राम्रोसँग भन्न सक्छु भन्ने आँटले मनसरा बनाएको हुँ’, सुब्बा बताउँछन् ।

तर, ‘जारी’ले जस्तो निर्मातालाई अत्यधिक मुनाफा दिनैपर्छ भन्ने दबाबमा भने आफू नभएको सुब्बाको दाबी छ । सुब्बा थप्छन्, ‘जारी जसरी मनसरा सुपर हिट भएन भने डुब्छु भन्ने छैन । दुवै मेरो सृजना हो । बरु दोस्रो सृजनाले अघिल्लोभन्दा राम्रो तारिफ पाओस् । मान्छेले मेरो काम देखून् भन्ने छ । पैसा त सधैं मेरो सृजना कर्ममा दोस्रो दर्जामा रहेर आएको छ ।’

सुब्बा ढुक्क छन्- कमजोरीसहितको ‘जारी’ मन पराइयो भने ‘मनसरा’मा खासै चिन्ता गर्नुपर्दैन ।

‘थोरै भए पनि नेपाली समाज बुझेको छु कि लाग्छ । किनभने म कवि हो । खै यो कुरा कविताकै दम्भले आएको हो कि किन हो थाहा छैन । तर, म ढुक्क छु । साँच्चिकै कुनै दबाब नै महसुस गरेको छैन’, सुब्बा भन्छन् ।

विकल्प नभएर दया-मिरुनाको जोडी

‘जारी’ मार्फत् दया-मिरुनाको जोडी हिट भयो ।

यो जोडीलाई लिएर लगातार फिल्महरु आए, ‘नांगो गाउँ’, ‘रंगेली’ लगायत प्रदर्शन भए । अन्य धेरै फिल्म प्रदर्शनको तयारीमा छन् । सुब्बाले पनि यही जोडीलाई ‘मनसरा’मा भित्राए ।

‘जारी’ हिट भएर हो कि विषयले नै दया-मिरुना मागेर हो ?

सुब्बा भन्छन्, ‘मेरो समाजको कथामा मेरो समुदायको पात्र उठाउनुपर्‍याे भने ४०-४५ को लुक्स देखिने कास्ट भनिदिनुस् त ? जसको कामप्रति भरोसा लागोस् । ४० पुगेकाहरु त लटरम्मै होलान् । तर, भरोसा गर्न लायकको कलाकार कोही पनि छैन । मिरुनाकै ठाउँमा पनि कोही लिम्बूनी भनिदिनुस् लु !’

यदि जनजाति समुदायको कथा भन्नुपर्‍याे भने सजिलो गरी दया-मिरुनाको जोडी बन्छ । राम्रो कलाकार राख्छु भन्दा विकल्प पनि छैन । विकल्प भए पनि जोखिम मोल्न गाह्रो छ । एकदुई करोड अर्को कुन जोडीले बोकिदेला ?

कलाकार नै नपाएको हो कि मिरुना जस्तो सुन्दर कलाकार नपाएको हो ? कलाकार त धेरै नै देखिन्छन् ।

सुब्बा थप्छन्, ‘भरोसा हुनुपर्‍याे नि ! मैले पहिल्यै ‘जारी’मा काम गरिसकेको, लिम्बू समाजबारे जानकारी राख्ने, लिम्बूको मनोविज्ञान र संस्कृति बुझेको, सिकाइरहन नपर्ने, कम मेहनत लाग्ने कलाकार त ऊ नै हो । यस्ता धेरै कुराले असर गर्दोरहेछ । धेरै कुराले सपोर्ट गरेर जाँदोरहेछ । मैले धेरै ठाउँमा भनेको छु, दयाहाङ नभएको भए जारी नै बन्दैन थियो । उहाँको स्टारडम नभएको भए मैले कसरी फिल्म बनाउन सक्थे‌ होला र ? दर्शकलाई हलसम्म पुर्‍याइदिने, दर्शकको ध्यानाकृष्ट गर्ने एउटा पात्र त चाहियो ! त्यो दया सर नै हो । यी यावत कारणले जारी त्यहाँसम्म पुग्नलाई सजिलो भएको हो ।’

सुब्बाको तर्क छ, यदि जनजाति समुदायको कथा भन्नुपर्‍याे भने सजिलो गरी दया-मिरुनाको जोडी बन्छ । राम्रो कलाकार राख्छु भन्दा विकल्प पनि छैन । विकल्प भए पनि जोखिम मोल्न गाह्रो छ । एकदुई करोड अर्को कुन जोडीले बोकिदेला ?

सुब्बाले लखेका ५ फिल्मले ८० करोड कमाउँदा

सुब्बाले लेखेका शत प्रतिशत फिल्म सुपरहिट भए । बितेको १० वर्षमा कबड्डीका चार श्रृंखला र ‘फूलबारी’ गरी पाँच वटा फिल्म लेखे । यी फिल्मले गरेको ग्रस कलेक्सन नै ७०-८० करोड हाराहारी छ ।

‘मेरो त्यति ठूलो सपना पनि छैन कि म स्वयं बर्बाद हुने गरी पैसा कमाउँ । म अथाह पैसा कमाएर बर्बाद हुन पनि चाहन्नँ । मलाई पैसाको त्यति ठूलो जरुरत पनि छैन । अनि सपनाको डालो जत्रो हो, त्यतिमात्रै भरिने हो । मेरो सपनाको डालो सानै छ ।’

यस हिसाबले हेर्दा सुब्बाको समेत आर्थिक पाटो राम्रै भयो कि भन्ने प्रश्न स्वाभाविक भएर जान्छ ।

तर, सुब्बाको प्रष्टोक्ति छ, ‘पटकथाकार भनेको ज्यालादरी भने जस्तै हो । फिल्मको कमाइसँग पटकथाकारको आर्थिक अर्थ त्यति राख्दैन । काम पाउने, चर्चा कमाउने पाटो अर्कै होला । तर, यत्ति हो, भात चाहिँ मैले खाएँ ।’

सुब्बाले यो १० वर्षको फिल्मी करियरमा धेरै मानिससँग काम गरेनन् । रामबाबु गुरुङलगायतको एकै टीममा रहेर काम गरे । यस हिसाबले बजारमा भनिए जस्तो पटकथा लेखकलाई निर्माता, निर्देशकले हल्का रुपमा लिने वा पटकथाकारको भविष्य छ या छैन भन्नेबारे आफूसँग त्यति राम्रो जानकारी नभएको बताउँछन् । आफूले सम्मानजनक पारिश्रमिक पाएको, मागेको रकम पाएको बताउँछन् ।

सुब्बा भन्छन्, ‘मैले बढी पारिश्रमिक पनि मागिनँ । दिएनन् पनि (हाँसो) । डिमान्ड गर्ने लेभलमा पनि पुगिनँ । रामबाबुबाहेक अरुसँग काम पनि गरिनँ । जहाँ सहज भयो, त्यहाँ झ्याम्मिने स्वभाव छ मेरो ।’

सफल फिल्ममा काम गरेका कारण बजारमा चर्चा भयो । तर, चर्चा भए जस्तो कायापलट नभएको सुब्बाको बयान छ ।

‘मेरो त्यति ठूलो सपना पनि छैन कि म स्वयं बर्बाद हुने गरी पैसा कमाउँ । म अथाह पैसा कमाएर बर्बाद हुन पनि चाहन्नँ । मलाई पैसाको त्यति ठूलो जरुरत पनि छैन’, सुब्बा भन्छन्, ‘अनि सपनाको डालोजत्रो हो, त्यतिमात्रै भरिने हो । मेरो सपनाको डालो सानै छ ।’

०००

सुब्बाको मनभित्र कविता नै रहेछ । बरु फिल्ममा कविताको तिर्सना मेटाउने ठाउँहरु खोज्दा रहेछन् । अहिले सुब्बाको रुचिमा फिल्मबाहेक अर्थोक छैन, लेखन, निर्माण, निर्देशन । उनको दिमागमा फिल्मबाहेक अर्को कुरा पनि कुद्दैन रहेछ ।

– सुब्बालाई सृजनात्मक हिसाबले काम गर्दा काइदा लाग्ने चाहिँ फिल्म हो कि कविता हो ?

कविता लेख्नलाई कविपना बाँच्नुपर्दो रहेछ । म कवि हो भन्ने विचार र चेतले कविता लेखिँदो रहेछ । कविता फुर्दोरहेछ । तर, म फिल्म बनाउँछु भन्दा चाहिँ कविता नआउँदो रहेछ । विषय र थिमहरु नै नभेटिने रहेछ ।

– फिल्ममा त्यस्तो के छ, जसले कवितालाई थाती राख्दै फिल्ममा सबै ऊर्जा खर्च गर्नुपर्ने अवस्था आइलाग्यो ?

एउटा माहाेलले पनि होला । पछिल्लो समय बढी संगत फिल्ममै भयो । कवि साथीभाइ अलिकति छुटे । कविताको चर्चा कमै गरिने माहाेलमा गएँ । अनि फिल्ममा सपनाहरु जोडिँदै गए । यो कथा यसरी भन्छु भन्ने हुँदै गयो ।

कति कुरा चिप्लिन्छ । कति कुरा गर्दागर्दै बिग्रन्छ । कति कुरा हतारमा गरिन्छ । एडिटिङमा बस्यो । दिक्दार हुन्छ । हेर्न सकिँदैन । टाउको दुख्छ । छटपटी हुन्छ । त्यसपछि संगीतलाई पठायो । संगीतकारले के बुझिदिन्छ, अर्कै खाले संगीत आइदिन्छ । एउटै गल्ती भइरहन्छ । बारबार हेर्‍याे, अनि हेर्नै मन लाग्दैन । दुईचार दिन नहेरी बसौं लाग्छ, त्यसरी धरै पाइँदैन ।

– यही सिलसिलामा निर्देशकसमेत बन्नुभो । फिल्म रिलिजअघिको समय कस्तो दबाब महसुस हुँदो रहेछ ?

तपाईंले अहिले एउटा प्रश्न सोध्दै हुनुहुन्छ । मेरो दिमागमा दुई वटा प्रश्न दौडिरहेको छ । दिमाग नै दुई वटा चल्न थाल्छ । यो मलाईमात्रै हुने हो कि अरुलाई पनि यस्तै हुन्छ कुन्नि ! तनाव यस्तो हुन्छ कि भनिनसक्नु हुन्छ । पछि सम्झँदा चाहिँ रमाइलै हुन्छ ।

तनाव चाहिँ के हुन्छ भने कथा लेख्ने कोसिस गर्‍याे, त्यसमा कति सन्तुष्ट भइयो ? त्यसपछि सुट गर्नुपर्‍याे । कति कुरा चिप्लिन्छ । कति कुरा गर्दागर्दै बिग्रन्छ । कति कुरा हतारमा गरिन्छ । एडिटिङमा बस्यो, दिक्दार हुन्छ । हेर्न सकिँदैन, टाउको दुख्छ, छटपटी हुन्छ । त्यसपछि संगीतलाई पठायो । संगीतकारले के बुझिदिन्छ, अर्कै खाले संगीत आइदिन्छ । एउटै गल्ती भइरहन्छ । बारबार हेर्‍याे, अनि हेर्नै मन लाग्दैन । दुईचार दिन नहेरी बसौं लाग्छ, त्यसरी धरै पाइँदैन ।

जे कुरा पहिला भन्न मन लागेको हुन्छ, पछि समय र दिमागले अर्कै कथा भनिदिन्छ । थुक्क, मैले के गरें भन्ने लाग्छ । यो गर्न पाएको भए हुन्थ्यो लाग्छ ।

– जसोतसो फिल्म बनिसकेपछिको तनाव चाहिँ के के हुन्छन् ?

बनिसकेपछि अर्कै लेभलको तनाव हुन्छ । मलाई त बोल्न पनि कम आउँछ । बोल्दा अल्मलिइहाल्छु । दिमाग नै अल्मलिएर कति ठाउँ गल्ती बोल्छु । आफ्नै कुरा बाझिइरहेका हुन्छन् । प्रमोसनको वेला बोलेको कुरामा चित्त नदुखाऊ है साथीहरु भन्छु । हड्बडिएर मन एक किसिमको अवस्थामा हुन्छ । ममात्रै होला, कमजोर दिमाग भएको ।

म नकारात्मक टिप्पणी चाहिँ फिटिक्कै सहन नसक्दो रहेछु । गाली आउँदा चुपचाप बस्नुबाहेक अर्थोक गर्ने कुरा पनि भएन । म त कमेन्टहरु पनि हेर्दिनँ । पाेस्ट पनि कमै गर्छु । आफ्नो विचार त पोस्ट गर्दै गर्दिनँ । बरु घुमेको डुलेको फोटोहरु हालिदिन्छु । यसो पोस्टमा आएको कमेन्ट मुन्तिर रिप्लाइ गर्नसमेत आँट आउँदैन । राम्रै कमेन्ट छ भने पनि आँट आउँदैन । ‘धन्यवाद’ भनेर लेख्नसमेत आउँदैन ।

– ‘जारी’ रिलिज अघिल्लो दिन चाहिँ कस्तो खालको तनाव थियो ?

‘जारी’मा जब बुकिङ खुल्यो, हरर राता सीटहरु भरिन थाले । त्यो देखेर म आत्तिएको छु । ला, मान्छेले टिकट त काटे, अब भोलि गाली खाएपछि के गर्ने ? गाली सहनसक्ने खालको मान्छे नै म होइन ।

अलिअलि चर्चा, परिचर्चा भएपछि मान्छेले एकएक बोली डिक्टेट गर्न थाल्छन् । गल्ती जहाँ भेट्छन्, खेदाउन लस्करै लागिपर्छन् । त्यसपछि बोली आफैं हराउँदो रहेछ । थुप्रो पटक मेरो बोली हराएको छ । अहिले मेरो बोली हराएको धेरै समय भइसक्यो । म त गल्ती बोल्छु कि भन्दाभन्दै बोलिपठाउने रहेछ ।

म नकारात्मक टिप्पणी चाहिँ फिटिक्कै सहन नसक्दो रहेछु । गाली आउँदा चुपचाप बस्नुबाहेक अर्थोक गर्ने कुरा पनि भएन । म त कमेन्टहरु पनि हेर्दिनँ । पाेस्ट पनि कमै गर्छु । आफ्नो विचार त पोस्ट गर्दै गर्दिनँ । बरु घुमेको डुलेको फोटोहरु हालिदिन्छु । यसो पोस्टमा आएको कमेन्ट मुन्तिर रिप्लाइ गर्नसमेत आँट आउँदैन । राम्रै कमेन्ट छ भने पनि आँट आउँदेन । ‘धन्यवाद’ भनेर लेख्नसमेत आउँदैन ।

– अनि फिल्म रिलिज भएपछिको मनस्थिति कस्तो थियो ?

त्यसपछि त ला, मान्छेले विश्वास गरे । फिल्म त मैले बिगारेको छु भन्ने हुने रैछ । मैले कहाँ बिगारेको छु, कहाँ संगीत बिग्रेको छ, कहाँ के भएको छ, मलाई थाहा हुन्छ नि ! तर, धेरैले थाहा नपाउँदा रहेछन् (लामो हाँसो) । अनि म ढुक्क भएँ हौ । तर, सप्रेका ठाउँहरुमा कमेन्ट गरिदिएर मलाई तनाव दिए । सवल कुरामा कमेन्ट आयो । त्यो मेरो संस्कृति नबुझेर पनि होला । बुझेका लिम्बूहरुले पनि नबुझिदिएर कमेन्ट गरिदिए ।

– समीक्षा त राम्रै पाउनुभएको थियो । समीक्षा पढ्दाको मनस्थिति कस्तो थियो ?

प्रशंसा त सबैलाई राम्रो लाग्छ । सर्माउँदै भए पनि पढ्न रमाइलै लाग्छ । मुसुमुसु हाँस्दै पढ्न आनन्दै लाग्यो । तर, मैले चाहिँ ‘जारी’ साउण्ड टेस्ट गर्न हलमा हेरेको, त्यसपछि फर्केर हेरेको छैन ।

– ‘जारी’मा रामबाबु गुरुङसँगै हुनुहुन्थ्यो, ‘मनसरा’मा छुट्टिनुभयो भन्ने कुरा चाहिँ के हो ? रामबाबु बाँसुरी फिल्मसँग र तपाईं कबड्डी फिल्म्ससँग छुट्टिएको कुरा छ ।

यी सबै हल्ला हुन् । बाँसुरी फिल्म्स् रामबाबु सरकै सल्लाहमा मैले दर्ता गरेको हो । पहिला सिनेमा आर्टको सानो हिस्सा थिएँ । तर, सञ्चालक धेरै हुँदा कम्पनीका साथीभाइसँग भेट हुनै गाह्रो । निर्णय गर्नै गाह्रो । प्रोजेक्ट अगाडि बढ्नै गाह्रो । त्यसपछि हामीले सिनेमा आर्ट रौनकविक्रम कँडेलजीलाई दिएको हो ।

अनि बाँसुरी रामको नाममा दर्ता गरेको हो । बाँसुरी चाहिँ सिनेमा आर्टको सिस्टर कम्पनी जस्तो थियो । पछि सिनेमा आर्ट रामले चलाउने, बाँसुरी मैले चलाउने भन्ने थियो । तर, बाँसुरी राम सरलाई नै आवश्यक पर्ने भयो । रौनकजी अमेरिकामा हुनुहुन्थ्यो । यहाँ कबड्डी ३ गर्ने भनेर दर्ता गरेका थियौं बाँसुरी फिल्म्स् । पछि राम सरले यही कम्पनीमा प्रोपर्टीहरु जोड्नुभयो । अनि मैले बाँसुरी तपाईं नै राख्नुस् भनेर कबड्डी फिल्म्स मैले दर्ता गरेको हो ।

– अहिले बाँसुरी पुरानो बानेश्वरमा, कबड्डी झम्सिखेलमा छ हैन त ?

यसरी फरक ठाउँमा अफिस भएको झगडा परेर होइन । बाँसुरी फिल्म्सको ठाउँ साँघुरो छ । ‘डिग्री माइला’ पनि त्यही, ‘मनसरा’ पनि त्यही गर्न नसकिने भयो । अर्को स्पेस चाहिने भयो । अनि मेरो सहुलियतमा ललितपुर सारेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *