माविको शिक्षक छाडेर भूमिगत भएका महरा– प्रचण्डको पिएदेखि मुख्यमन्त्री बन्दासम्म प्रचण्डकै सहारा – Nepal Press

माविको शिक्षक छाडेर भूमिगत भएका महरा– प्रचण्डको पिएदेखि मुख्यमन्त्री बन्दासम्म प्रचण्डकै सहारा

रुपन्देही । २०६४ सालमा संविधान सभा सदस्य बनेका माओवादी स्थायी समिति सदस्य २०७९ सालमा प्रदेश सभामा उम्मेदवार बन्दा धेरैलाई अनौठो लागेको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमै लामो समय बसेका महरा प्रदेशको नेतृत्व पाउनेगरी प्रचण्डकै सल्लाहमा प्रदेशमा झरेका थिए । उनै महरा लुम्बिनी प्रदेशको पाँचौं मुख्यमन्त्री बनेका छन् ।

०७९ सालको निर्वाचनकै समयमा प्रचण्डले उनलाई मुख्यमन्त्री बनाउने गरी प्रदेश सभामा पठाएको विषय त्यो समयमा बाहिर आएको थियो । गतवर्ष मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा तत्कालीन ५ दलीय गठबन्धनको साझा उम्मेदार बनेर रोल्पा निर्वाचन क्षेत्र नं १ को १ बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए महरा ।

एमालेका उम्मेदवार कमल बुढाथोकीलाई १४ हजार २० को फराकिलो मतान्तरले हराएका थिए उनले । महराले १९ हजार ४२५ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी बुढाथोकीले ५ हजार ४०५ मत पाएका थिए ।

महरा २०२० सालमा रोल्पाको सुनिलस्मृति गाउँपालिका–५ साविक गजुल गाविसको वडा नं २ मा जन्मिएका हुन् । २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका उनी २०४२ सालमा अनेरास्ववियु दाङका सचिव, २०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य थिए ।

२०५० सालदेखि पार्टीमा पूर्णकालीन सदस्य रहेका उनी २०५१ सालमा माओवादीले सञ्चालन गरेको भूमिगत सशस्त्र विद्रोहमा होमिएका थिए । रोल्पा जिल्ला सेक्रेटरी हुँदै उनी २०५६ सालमा माओवादीको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारीमा पुगेका थिए ।

२०६० सालमा केन्द्रीय सदस्यरहेका उनी २०७८ मा भएको आठौँ महाधिवेशनबाट स्थायी समिति सदस्य भएका थिए । २०६४ सालमा संविधानसभाका समानुपातिक सांसद भएका उनी २०६२ सालदेखि २०६५ सालमा प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रहे । महरा २०७३ सालमा प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा पनि स्वकीय सचिव भएका थिए ।

लामो समय शिक्षण पेसामा लागेका महराले राजनीति शास्त्र तथा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरेका छन् । महरा प्रचण्डका विश्वास पात्रका रुपमा चिनिएपनि प्रदेशमा माओवादीभित्रै उनको विरोध भएको थियो । यसअघि कांग्रेससँगको गठबन्धनमा माओवादीकै सांसदहरुले विरोध गरेर उनलाई सरकारमा जान रोकेका थिए ।

उनी यसअघि एमालेका लिला गिरी मुख्यमन्त्री हुँदा ३ महिना अर्थमन्त्री भएका थिए । माओवादीभित्रको जनार्दन शर्मा समूहमा रहेका नेताहरुले उनलाई शक्तिमा आउन दिएका थिएनन् । संसदीय दलकै नेतासमेत हटाउन पार्टी केन्द्रसम्म पुगेका केही सांसदहरु प्रचण्डको कुरा सुनेपछि फिर्ता भएका थिए ।

संघीयतापछि लुम्बिनीमा नेकपा एमालेका शंकर पोखरेल पहिलो मुख्यमन्त्री भएका थिए भने, माओवादी केन्द्रका कुलबहादुर केसी दोस्रो, एमालेका लिला गिरी तेस्रो तथा नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी चौथो मुख्यमन्त्री भएका थिए । महरा लुम्बिनीको पाँचौं मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश सभामा रहेका ५ दलका ४७ र १ स्वतन्त्र सांसदसहित ४८ सांसदहरूको समर्थनमा महरा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यस्तो नवनियुक्त मुख्यमन्त्रीको राजनीतिक इतिहास
बुवाको नाम – खलबहादुर महरा दिवंगत
आमाको नाम – रमिता महरा
जन्ममिति – २०२० कार्तिक १ गते
ठेगाना – जन्म स्थान साविक गजुल –२ रोल्पा, सुनिलस्मृति–५ गजुल काट्ने रोल्पा
पारिवारिक स्थिति – श्रीमती, छोराहरु ४ भाई
शिक्षा– स्नातक तह राजनीतिशात्र÷अर्थशात्र,महेन्द्र बहुमुखी क्याम्पस दाङ
अनुभवः– वि.स २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक,विस २०४४ देखि २०५० साल सम्म मावि शिक्षक
२०३५ र ३६ सालको विधार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा प्रवेश ।
२०४२ सालमा अनेरास्ववियुको दाङको सचिव
२०४२ सालमा नेकपा मशालको पार्टी सदस्य
२०४३ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य
२०४७ सालमा नेकपा मशालको रोल्पा जिल्ला समिति सदस्य
२०५० सालदेखि पार्टीमा पूर्णकालीन कार्यकर्ता
२०५१ सालमा नेकपा माओवादीको रोल्पा जिल्ला सेक्रेटरी
२०५४ सालमा नेकपा माओवादीको क्षेत्रीय व्यूरो सदस्य
२०५६ देखि २०६० सालसम्म नेकपा माओवादीको अन्र्तराष्ट्रिय विभागको जिम्मेवारी ।
२०६० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य ।
२०६४ सालमा संविधान सभा सदस्य ।
२०७४ सालमा प्रधानमन्त्री प्रचण्डको प्रमुख स्वकीय सचिव ।
२०६२ देखि २०६५ सालसम्म पार्टी अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव।
२०७२ देखि २०७८ सम्म अध्यक्ष प्रचण्डको प्रमुख स्वकीय सचिव ।
हाल नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य ।
२०७९ लुम्बिनी प्रदेश सभा सदस्य पदमा निर्बाचित ।
नेकपा माओवादी केन्द्र संसदीय दलको नेता चयन
२०७९ मा लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्री ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर