लुम्बिनीमा एकै पटक ६ हजारभन्दा बढी एक हप्ते साधनामा, विश्व रेकर्ड भएकाे दाबी – Nepal Press

लुम्बिनीमा एकै पटक ६ हजारभन्दा बढी एक हप्ते साधनामा, विश्व रेकर्ड भएकाे दाबी

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा चैत १७ गतेदेखि विराट चक्रविज्ञान तथा ध्यानसहितको प्रयोगात्मक शिविर चलिरहेको छ । शिविरमा ६ हजारभन्दा बढी साधनारत छन् । यति सहभागितामा लुम्बिनीमा भएको यो नै पहिलो अन्तर्राष्ट्रिय साधना भएको दाबी गरिएको छ ।

जीवन विज्ञान परिषद्को आयोजनामा भएको शिविरमा नेपालसहित २० मुलुकमा रहेका गैरआवासीय नेपालीहरु सहभागी छन् । शुक्रबार सकिने शिविरमा जीवनविज्ञानका संस्थापकद्वय एलपी भानु शर्मा र रमेश नेपालले योग शिक्षा र प्रयोगात्मक कक्षा लिइरहेका छन् ।

शिविरमा देवदह नगरपालिकाका पूर्वमेयर हिरा केसीसमेत सहभागी छन् । बुटवल उपमहानगरपालिका वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीसमेत दिनहुँ कार्यालयको काम-कारबाहीबाट मुक्त भएर दैनिक ११ घन्टे ध्यानमा छन् । योग तथा ध्यान साधनामा बसेर जीवनको वास्तविकता बुझिरहेको उनको भनाइ छ ।

शिविरमा मन्त्री, सांसद, पालिका प्रमुख तथा उपप्रमुख, उच्च प्रशासनिक तहका कर्मचारी, विभिन्न दलका जिम्मेवार व्यक्तिहरु निरन्तर साधनामा छन् । उनीहरु योग साधना, जीवन विज्ञान र चक्र विज्ञानबारे अभिरुचिपूर्वक सुनिरहेका छन् ।

शिविर निकै उत्साह, ऊर्जापूर्ण र जीवन जिउने सफल कला सिक्ने अवसर प्राप्त भएको सहभागी जानुका शर्माले बताइन् ।

बुद्धलाई मानवता, शान्ति, विपश्यना ध्यान र योगका प्रणेता मानिन्छ । लुम्बिनीमा यस प्रकारको शिविर हुनुले गौतम बुद्धका विचारलाई विश्वमा सञ्चार गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीको भनाइ छ ।

चक्र विज्ञानमा आधारित ध्यान तथा योग शिविरले पर्यटकहरुलाई नेपाल आउन उत्प्रेरित गर्ने उनीहरु विश्वास व्यक्त गर्छन् । सफल र स्वस्थ जीवन तथा पर्यटन विकासका लागि गौतम बुद्धबाट प्रतिपादित विपश्यना ध्यान र जीवन विज्ञानमा आधारित योगलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न शिविरले आफूहरुलाई सहज बनाएको सहभागीहरुको भनाइ छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा एकै पटक एक सातासम्म ५ हजारभन्दा बढीको सहभागितामा विराट चक्र विज्ञान आयोजना गरेर विश्व रेकर्ड राख्न प्रयास गरिएको आयोजकको दाबी छ । प्रशिक्षक रमेश नेपालले अहिलेसम्म विश्वका कुनै ठाउँमा यति ठूलो संख्या राखेर प्रशिक्षण चलाएको आफूहरुले नपाएकाले यो नयाँ रेकर्ड भएको दाबी गरे ।

विश्वका ६५ देशमा आफूहरुले यो अभियान सञ्चालन गरेको बताउँदै नेपालले विश्व शान्तिको मुहानबाट यो नयाँ अभियान शुरु गरिएको बताए । उनले सहभागीलाई यस साधनाले सबैको जीवनमा के फेरियो भनी सोध्न बताए ।

अर्का प्रशिक्षक एलपी भानु शर्माले जीवनको वास्तविकता बुझ्न यो साधना जरुरी भएको बताए ।

‘धेरैलाई यहाँ आउन समस्या भयो होला, धेरै बाहिर देश र देशका विभिन्न पालिकाबाट यहाँ आउन समस्या भए पनि यहाँ आएपछि सहभागीले एक मिनेट पनि अन्त ध्यान नदिई सुनिरहेको अवस्था छ, सबैलाई उत्तिकै ऊर्जा थपिरहेको छ, यो अभियान अहिलेसम्म विश्वमै ठूलो संख्याको हो’, उनले भने, ‘अब यसलाई निरन्तरता दिनेगरी योजना बनाउने छौं ।’

हालसम्म अष्ट्रेलियामा १ हजार ४७१ जना सहभागी बनाएर यस्तो कार्यक्रम गरिएकाले यो कार्यक्रम विश्व रेकर्ड भएकाे आयोजकको दाबी छ ।

विराट चक्र विज्ञान लुम्बिनी संयोजक केशव खनालले शिविरमा देशका विभिन्न सरकारी निकायका प्रतिनिधि तथा अनुयायीहरु सहभागी छन् । भगवान गौतम बुद्धको ‘अप्प दिपो भव’ अर्थात तिमी आफ्नो प्रकाश आफैं बन भन्ने स्व-जागरणको उपदेशलाई सार्थक बनाउन कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर