वडाध्यक्ष चुनावमा तेस्रो भएका अभिषेकलाई प्रदेशको टिकट, जोगाउलान् बाबुको विरासत ? – Nepal Press

वडाध्यक्ष चुनावमा तेस्रो भएका अभिषेकलाई प्रदेशको टिकट, जोगाउलान् बाबुको विरासत ?

कैलाली । गत वर्षको स्थानीय तहको चुनावमा वडाध्यक्षमा हारेका अभिषेक सिंह बझाङको आसन्न प्रदेशसभाको उपचुनावमा कांग्रेसबाट उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेस संसदीय दलको बैठकले उनलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । आजै साँझ कार्यसम्पादन समिति बैठकले औपचारिक निर्णय लिनेछ ।

जयपृथ्वी नगरपालिका- ५ मा स्वतन्त्र उम्मेदवार रहेका प्रेमबहादुर थापासँग सिंह ७० मतले पराजित भएका थिए । नेकपा एकीकृत समाजवादी पार्टीबाट विद्रोह गरेर स्वतन्त्र लडेका थापा २७१ मतसहित विजयी हुँदा एमाले उम्मेदवार राकेशबहादुर सिंहले २१५ पाएका थिए । अभिषेक २०१ मत ल्याउँदै तेस्रो भएका थिए ।

अभिषेक सिंह पृथ्वीबहादुर सिंहका छोरा हुन् । आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका पृथ्वीबहादुरको सडक दुर्घटनामा मृत्यु भएपछि वैशाख १५ मा यहाँ उपचुनाव हुन लागेको हो । उपचुनावका लागि खप्तडछान्ना गाउँपालिकाका जगतप्रसाद जोशीले पनि दाबी गरेका थिए ।

२०५४ सालका नेविसंघका केन्द्रीय महाधिवेशन प्रतिनिधि भएका सिंह २०७४ सालमा नेपाल तरुण दल क्षेत्र नं (क) का क्षेत्रीय सभापति भए । नेपाली कांग्रेसको १४ महाधिवेशनमा जिल्ला कार्य समितिमा म्यान अफ द इलेक्सन भएका थिए । उनी अहिले नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य छन् ।

बझाङको प्रदेशसभामा एमालेले दमन भण्डारी र नेकपा एसले दलबहादुर सिंहलाई अघि सारेको छ । माओवादी केन्द्रले जनक बुढालाई सिफारिस गरेपनि केन्द्रले निर्णय लिइसकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर