२० वर्ष कैद भुक्तानका लागि समातिएका कृष्णबहादुर सार्की एक महिनामै यसरी छुटे – Nepal Press

२० वर्ष कैद भुक्तानका लागि समातिएका कृष्णबहादुर सार्की एक महिनामै यसरी छुटे

काठमाडौं। मानव बेचबिखन तथा ‌ओसारपसार मुद्दामा २० वर्ष कैद सजाय भएको आरोपमा पक्राउ परेका एक व्यक्ती एक महिनामै छुटेका छन्।

प्रहरीले कृष्णबहादुर सार्कीलाई गत फागुन ११ गते पक्राउ गरेको थियो। त्यसपछि कृष्णका छोरा अम्बरबहादुर पुर्कुटी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले सोमबार कृष्णलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको थियो।

प्रहरीले कृष्णलाई काले सार्की भएको आरोपमा पक्राउ गरेको थियो। २०४२ सालमा सर्वोच्च अदालतले काले सार्कीलाई २० वर्ष कैद सजाय गरेको थियो।

कैद भुक्तानका लागि थुनामा रहेका कृष्ण सार्की र कैद सजाय भएका काले सार्की एकै व्यक्ती नभएको सर्वोच्च अदालतको आदेशमा उल्लेख छ। प्रहरीले भने काले सार्की र कृष्णबहादुर सार्की एकै व्यक्ती भएको दाबी गरेको थियो। कृष्णले भने आफू काले सार्की नभएको दाबी गरेका थिए।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र महेश शर्मा पौडेलको संयुक्त इजलासले मुद्दाको अभियोजनमा काले सार्की मात्र उल्लेख भएको र कृष्ण सार्कीलाई पक्राउ गर्दा पनि काले सार्कीको नाममा थुना पुर्जी दिइएको उल्लेख गरेको छ।

‘कैद कार्यान्वयनका लागि पठाएको कैदी पुर्जीमा उल्लिखित काले सार्की र यी निवेदक एउटै व्यक्ती हुन् भन्ने सम्बन्ध मानव बेचबिखन मुद्दालगायत कुनै पनि ठोस, वस्तुनिष्ठ, निश्चयात्मक र भरपर्दो प्रमाणबाट देखिन/स्थापित हुन आएको छैन।

कैद ठहर भएको भनिएका व्यक्तिको स्पष्ट रूपमा पहिचान र यकिन नभएको अवस्थामा शंका र अनुमानका आधारमा कुनै अर्को व्यक्तिलाई थुनामा राख्ने कार्यले वैयक्तिक स्वतन्त्रतामा आघात पार्ने हुन्छ’, सर्वोच्चले आफ्नो आदेशमा भनेको छ।

प्रहरीले प्रतिवादीको नागरिकतालगायत पहिचान खुल्ने डकुमेन्टबिनै प्रतिवादीका रूपमा नाम उल्लेख गर्दा यसअघि पनि यस्ता थुप्रै घटना भएका थिए। सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले कृष्ण सोमबार नै छुटेको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर