आजदेखि बुटवलमा तीन दिने दलित ज्ञान महोत्सव – Nepal Press

आजदेखि बुटवलमा तीन दिने दलित ज्ञान महोत्सव

२० वटा सेसनमा सय जना वक्ताले आफ्नो धारणा राख्ने

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बुधबार (आज)देखि तीन दिनसम्म आयोजना गरिने दलित ज्ञान महोत्सवमा २० वटा सेसनमा ८० जना वक्ताहरुले आफ्नो धारणा राख्ने भएका छन् । चैत १४, १५ र १६ गते गरिने महोत्सवमा समुदायले बनाएका विभिन्न सीपसमेत प्रदर्शन गरिने भएको छ ।

तिलोत्तमा नगरपालिका र दलित रीडरको संयुक्त आयोजनामा गरिएको कार्यक्रम लुम्बिनी प्रदेशमा यसप्रकारको उत्सव पहिलोपटक गर्न थालिएको हो ।

उत्सवमा दलित तथा सीमान्तकृत समुदायको सामाजिक न्यायको पक्षमा सहकार्य र हालेमालोका लागि  सरकारी तथा गैरसरकारी संस्था, नागरिक समाज, लेखक, अनुसन्धनदाता तथा पत्रकारहरु यसमा निम्तालु छन् ।

ज्ञान उत्सवको मुख्य विषय “नेपालमा जातीय अर्थतन्त्र” हुने भए पनि ज्ञानको जात शास्त्र, निजी क्षेत्रमा आरक्षण, दलित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, दलित राजनीतिक तथा सामाजिक आन्दोलन, कला–साहित्य र चलचित्र, दलित उद्यम र मिडियाको लोकतन्त्रलगायतका विविध विषयमा सम–सामयिक विमर्श हुने दलित रीडरका सल्लाहकार शुभाष नेपाली बताउँछन् ।

दलित रीडरका सदस्य निशा हरिजनले तीन दिनसम्म चल्ने ज्ञान उत्सवमा सातै प्रदेशबाट दलित अधिकारका क्षेत्रमा क्रियाशील दलित तथा गैरदलित वुद्धिजीवि, पत्रकार, अभियन्तालगायत कलाकारहरुको सहभागिता रहने बताउँछिन् । यस्तै तिलोत्तमा नगरपालिकाका आर्थिक विकास समिति संयोजक गणेश पाठकले श्रमको सम्मान नगर्दासम्म देशको विकास नहुने भएकाले सम्पूर्ण श्रमिकहरुको सम्मानका लागि पनि यो ज्ञानउत्सव कोशेढुंगा हुने बताए ।

उत्सवमा २० वटा सेसनमा ८० भन्दा बढी वक्ताहरु तथा साङ्गीतिक प्रस्तुतिहरू रहनेछन् । कार्यक्रममा गायक तथा निर्देशक यशकुमार, कलाकार दिया मास्के, संगितकार तथा सांगीतिक समूह कुटुम्बका सदस्य किरण नेपाली, मानवशास्त्री डा.सुरेश ढकाल, नेपाली दलित आन्दोलनका अगुवा नेतृत्व पदम सुन्दास, रणेन्द्र बराली, उमादेवी वादी, छविलाल विश्वकर्मा, जीवन परियार, विनोद पहाडी लगायत विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने छ । ज्ञान उत्सवको हरेक साँझ सांगीतिक प्रस्तुति रहने छ । यो हरेक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने ज्ञान उत्सवका लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएका छन् ।

स्थानीय संयोजन गरेको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले भौतिकसँगै मानवीय विकासलाई अघि बढाउने नीति अनुसार ज्ञान उत्सवमा सहकार्य गरिएको बताए ।

बुद्धभूमि रुपन्देहीबाट विभेदकाविरुद्ध सन्देश दिने गरी प्रथम दलित ज्ञान उत्सव गर्न लागिएको र दलित समुदायको ज्ञान, सीप र पेशा विभेदका कारण पछाडि पारिएकोले पनि ज्ञानउत्सवले त्यसलाई केही चिर्ने प्रयासको थालनी गरेको उनी बताउँछन् ।

उनले ज्ञान उत्सवमा विभिन्न बिषयहरुमा छलफल हुने बताउँदै सामाजिक न्याय, समानता र विभेदकाविरुद्ध तिलोत्तमा नगरपालिकाले एउटा पहल गरेको बताए । तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले दलितहरुको श्रम, सीप र ज्ञानलाई जोडेर ढलेको आत्मसम्मानलाई उठाउने र प्रथम ज्ञान उत्सवले विभेदरहित र समतामूलक देश बनाउने अभियानमा जोड्ने विश्वास गरे ।

योगिकुटीको होटल पौवामा हुने ज्ञान उत्सव हरेक दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन चल्नेछ । अभियान्ता रवि सेन्चुरीले यो उत्सवलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग जरुरी पर्ने बताउँछन् ।

‘दलितबारे समाजले निर्माण गरेको भाष्यलाई चिदै दलितको इतिहासबारे पुर्न छलफल गर्न सहयोग पुग्नेछ । दलित अल्छि हुन्छन्, फोहोरी हुनछन्, अशिक्षित हुन्छन्, गरिब हुनछन् भनेर दलितबारे निर्र्माण गरिएका नकारात्मक कथनहरुबारे विभिन्न विषयगत सत्रहरु वृहत छलफल गरी दलितका समाजिक, आर्थिक, राजनैतिक र सास्कृतिक दृष्टिकोणबाट इतिहासको जरामा पुगि नयाँ भाष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’ उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर