बयान दिएर निस्किँदै चौधरीले भनेः स्टन्ट गर्नेहरुलाई मैले आफ्नो चरित्रको सर्टिफिकेट देखाउनु पर्दैन (भिडिओ) – Nepal Press

बयान दिएर निस्किँदै चौधरीले भनेः स्टन्ट गर्नेहरुलाई मैले आफ्नो चरित्रको सर्टिफिकेट देखाउनु पर्दैन (भिडिओ)

उद्यम र उद्यमीमाथि राजनीतिकरण गर्न खोजियो

काठमाडौं । बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका विनोद चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका छन् ।

स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने उनको भनाइ छ ।

चौधरीले एउटा उद्यम र उद्यमीमाथि राजनीतिकरण गर्न खोजिएको गुनासो गरे । एउटा जिम्मेवार राजनीतिकर्मी भएको हिसाबले आफू बयानका लागि उपस्थित भएको उनले बताए ।

चौधरीको भनाइ यस्तो थियोः

ममाथि अनुसन्धानका बारेमा संसदलाई जानकारी गराएको पत्र जुनरुपले सञ्चारमाध्यममा रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्ने प्रष्ट भएको छ । हालाकी मैले यो विषयमा प्रश्न उठ्ने वित्तिकै दलको बैठकमा आफ्नो संक्षिप्त कुरा राखेँ । त्यसपछि ममाथिको अनुसन्धानको कुरा चल्नेवित्तिकै संसदको रोस्टममा उभिएर निर्वाचित सांसदका हैसियतले आफ्ना कुरा राखेँ ।

मलाई आज यहाँ आउन मौखिक जानकारी गराइयो । म एउटा जिम्मेवार राजनीतिकर्मीको हिसाबबाट सहयोग गर्न उपस्थित भएको हुँ । ४२ वर्षअगाडि बाँसवारीजस्तो अनकन्टार ठाउँको कौडीको पनि भाउमा नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक–प्राइभेट पार्टनरसीपको उत्कृष्ट स्वरुपका रुपमा खडा गरिएको नविनतम सोचलाई राजनीतिकरण गरियो, यो अत्यन्त दुखलाग्दो छ ।

४२ वर्ष अगाडि जग्गाको मूल्य कति नै पथ्र्यो होला रु हजारौं रोपानीको निजी औद्योगिक ग्राम स्थापना गर्ने गु्रपले, मुलुकभरि नै १४० वर्षदेखि र अझै व्यवस्थित रुपले ८० वर्षदेखि विभिन्न परियोजना गर्ने गु्रपले १० रोपनी जग्गाको बारेमा कुनै प्रकारको कुदृष्टि राख्छ भन्ने सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही होइन ।

मेरो ४५ वर्षको लामो व्यवसायीक यात्रामा उद्यमीको हैसियतले, विचारक र राजनीतिकर्मीको हैसियतले जहिले पनि विकासको राजनीति गरेँ । दलगत राजनीतिमा लागेर गलत प्रवृत्तिलाई कहिले पनि प्रश्रय दिइनँ । दलहरु बीचका आपसी जोडघटाउ र मतभेदमा सरिक भइनँ । प्रोफेसनल र विकासप्रेमीको रुपमा आफूलाई उभ्याएँ ।

आज यो इस्यूमा उद्यमी र उद्यममाथि, लगानीकर्ता र करदातालाई राजनीतिकरण गर्न खोजेको प्रष्टसँग देखियो । देशको अर्थतन्त्र अहिले अत्यन्त कठिन परिस्थितिबाट गुज्रिएरहेको बेला मजत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदाखेरि विश्वभरि रहेका नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले कुन सन्देश मनमा लिएर जान्छन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो । ४५ वर्षको यात्रापछि मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनु पर्दैन । त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरुलाई ।

म फेरि पनि यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानीकर्तालाई विसुद्ध राखिनुपर्छ भन्न चाहन्छु । राजनीतिका आफ्ना फोरम छन् । म पनि नवलपरासीबाट प्रत्यक्ष निर्वाचित संसद हुँ । तर दुई चिजलाई जोड्ने काम मैले गरेको छैन र भोलि पनि गर्ने छैन ।


प्रतिक्रिया

2 thoughts on “बयान दिएर निस्किँदै चौधरीले भनेः स्टन्ट गर्नेहरुलाई मैले आफ्नो चरित्रको सर्टिफिकेट देखाउनु पर्दैन (भिडिओ)

  1. राज्यको अरबौ कर नतिर्ने अपराधीलाई जेलमा कोच्नु नै उत्तम हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *