पल र समीक्षाले एउटै कार्यक्रममा अवार्ड लिए, तर एक-अर्कासँग यसरी छलिए – Nepal Press

पल र समीक्षाले एउटै कार्यक्रममा अवार्ड लिए, तर एक-अर्कासँग यसरी छलिए

पलले स्टेजमा डान्स गर्दागर्दै उठेर हिँडिन् समीक्षा

काठमाडौं । अभिनेता पल शाह र गायिका समीक्षा अधिकारीले हिजो एउटै समारोहमा अवार्ड थापेका छन् । तर, उनीहरू एक-अर्काको नजिक परेनन् ।

राष्ट्रिय नाचघरमा आयोजित विन्ध्यवासिनी म्युजिक अवार्डको १४ औं संस्करणमा उनीहरू दुवैले अवार्ड लिनुका साथै प्रस्तुति पनि दिएका थिए । समीक्षाले ‘पोखरा बगरमा…..’ बोलको गीतबाट उत्कृष्ट लोक गायिकाको जुरी अवार्ड जितेकी छन् । यस्तै पल शाहले ‘तिमी र म जाम माया…..’ गीतको भिडिओबाट म्युजिक भिडियो मोडलको बेस्ट पपुलर अवार्ड प्राप्त गरे ।

कार्यक्रमको हलभित्र पल र समीक्षा अलगअलग ‘रो’मा बसेका थिए । एक कलाकारका अनुसार समीक्षाले स्टेजमा गीत गाउँदा पलले आफ्नो स्थानमा बसेर पूरै हेरे । पलले नृत्य गर्दा भने समीक्षा बाहिर निस्किएकी थिइन् ।

‘पलले नृत्य गर्दागर्दै समीक्षा उठेर हिँडेको देखियो । केहीबेरमा फेरि हलभित्र फर्किनुभयो । तर, त्यसबेलासम्म पलको डान्स सकिएको थिएन’, ती कलाकारले भने ।

समीक्षाको प्रस्तुति हेर्दा पल सहज देखिएको तर पलको प्रस्तुति हेर्दा समीक्षाले असहज महसुस गरेको ती कलाकार बताउँछन् ।

कार्यक्रमको अन्त्यमा सामूहिक फोटो सेसन गरिएको थियो । तर, समीक्षा त्यसअघि नै हिँडिसकेकी थिइन् । पल भने फोटो सेसनमा पनि सहभागी भए ।

स्रोतका अनुसार कार्यक्रममा पल आउनेबारे समीक्षालाई र समीक्षा आउनेबारे पललाई जानकारी दिइएको थिएन । कार्यक्रममा पललाई देख्दा समीक्षा केही हतास बनेको स्रोतको दावी छ ।

पल र समीक्षाले विगतमा थुप्रै गीतमा सहकार्य गरेका थिए । तर, समीक्षाको जाहेरीमा पल जेल परेदेखि उनीहरूको देखभेट भएको देखिँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *