माओवादी-नेसपा एकता सम्भावना टर्दै, बाबुरामको पार्टी विभाजनउन्मुख – Nepal Press

माओवादी-नेसपा एकता सम्भावना टर्दै, बाबुरामको पार्टी विभाजनउन्मुख

महेन्द्र यादव व्यवहारिक रूपमा नेसपा नै नभएको भट्टराई पक्षको दाबी, यादव भन्छन्- माओवादीसँग एकता गर्ने नै हो

काठमाडौं । नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबीचको पार्टी एकताको सम्भावना टर्दै गएको छ । माओवादीसँग पार्टी एकता नगर्ने मूडमा बाबुराम देखिएपछि अर्का अध्यक्ष महेन्द्रराय यादव पक्षले विद्रोहको चेतावनी दिएको छ ।

यसअघि पार्टीभित्रको चर्को दबाबको कारण बाबुराम माओवादीमा मिसिन आफ्नै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन तयार भएका थिए । नेसपाको निर्णयपछि माओवादीले पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा एकता संयोजन समिति गठन गरेको थियो ।

त्यसअघि माओवादी उपाध्यक्ष एवं वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा वार्ता समिति पनि बनाएको थियो । दुवै पार्टीका अध्यक्षको नेतृत्वमा संयोजन समिति गठन भएपनि प्रचण्ड र बाबुरामको अनिच्छाको कारण अहिलेसम्म कुरा अघि बढ्न सकेको छैन ।

प्रचण्ड अहिले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमाले र नेकपा एससहितको समीकरणमा अघि बढेपछि बाबुरामसँगको सम्भावना उसै कमजोर बन्दै गइरहेको छ । माओवादीसँगको एकतामा बाबुरामले चासो नदेखाएपछि अर्का अध्यक्ष महेन्द्रराय यादव पक्षका नेताहरू तयार छन् । प्रचण्डले पनि बाबुरामबाहेकका नेताहरूलाई पार्टीमा भित्र्याउँदा व्यवस्थापनमा सहज हुने भएकाले एकता प्रक्रियामा आलटाल गरिरहेको बताइन्छ ।

पार्टीभित्र अर्का अध्यक्षलाई बाइपास गर्दै बाबुराम अघि बढ्न खोजेपछि नेसपा विभाजनको संघारमा पुगेको हो । बाबुरामले अर्का महेन्द्रसँग छलफल नगरी एकलौटी रूपमा चैत ४ केन्द्रीय कार्यकारिणी समिति र ५ गते केन्द्रीय समिति बैठक बोलाएपछि विवाद झन् उत्कर्षमा पुगेको छ ।

तर, महेन्द्रनिकट रहेका महासचिव रमेशप्रसाद यादवले विज्ञप्ति जारी अध्यक्ष भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक मिति २०८० चैत ४ र ५ गते बोलाइएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष महिन्द्रराय यादवको सहमतिविनै एकपक्षीयरूपमा अध्यक्ष डा. बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकोले उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँदछु ।’

तर, नेसपा केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेल अध्यक्ष भट्टराईले बोलाएको बैठक आधिकारिक भएको दाबी गरे ।

उनले नेपाल प्रेससँग भने, ‘उहाँहरूले के गर्न खोजिराख्नुभएको छैन । यसभन्दा अगाडिको बैठकमा पनि उहाँहरूले माओवादीमा जानुपर्छ भनिराख्नुभएको थियो । पछिल्लो एक वर्षदेखि उहाँले प्रत्येक पार्टीको बैठकमा माओवादीको वकालत गर्नुहुन्छ । सबै नेता कार्यकर्ताले उहाँलाई यो कुन पार्टीको बैठक हो ? भन्दै प्रश्न उठाउने गर्नुहुन्थ्यो ।’

सांसद्वय महेन्द्र राय यादव र उमरावती देवीले आज पनि माओवादीमा लेबी तिरिरहेको उनको भनाइ छ ।

उनले थपे, ‘नेसपाको अध्यक्ष हुने महासचिव हुने तर अर्को पार्टीलाई लेबी तिर्ने ? त्यो कसरी पार्टीको अध्यक्ष हुनसक्छ ? भन्ने प्रश्न हो । उहाँले पार्टीको निर्णयविपरीत विज्ञप्ति जारी गर्नुभएको रहेछ । अब पार्टीले अध्ययन गरेर कारवाही गरेर जान्छ ।’

उनले अर्का अध्यक्ष यादव व्यवहारिक रूपमा नेसपा नै नभएको आरोप लगाए ।

नेता पोखरेलले भने, ‘महेन्द्रजीको परिचयपत्र माओवादीको छ । लेबी माओवादीमा तिर्नुहुन्छ । माओवादीको परिचयपत्र बोक्नेले नेसपाको बैठक आधिकारिक होइन भन्न मिल्छ ?’

उनले माओवादी देशको अस्थिरताको प्रतिक भएकाले एकता सम्भावना नभएको दाबी गरे ।

उनले थपे ‘एकता माओवादीसँग भन्ने नै होइन हाम्रो । विचार, नीति र सिद्धान्त मिल्नेसँग सधैं खुला हुन्छ । पछिल्लो राजनीतिक घटनाक्रमले उहाँहरू यो देशको राजनीतिक अस्थिरताको प्रतीकजस्तो देखिनुभएको छ । सत्ताको चलखेल र अस्थिरताको प्रतिकसँग हाम्रो एकता कसरी हुन्छ? सम्भव नै छैन ।’

माओवादीको परिचयपत्र बोलेर लेबी तिर्नेहरूले नेसपाको बैठक आधिकारिक भन्न नमिल्ने उनको तर्क छ। उनी थप्छन्, ‘बैठक तोकेकै समयमा बस्छ। रमेश यादवको नाममा आएको विज्ञप्ति नेसपाको आधिकारिक होइन ।’

तर, महासचिव रमेश यादव बाबुरामले एकलौटी बोलाएको बैठक पार्टीको आधिकारिक हुनै नसक्ने दाबी गर्छन् ।

उनी भन्छन्, ‘नेसपाको विधानमा दुई वटा अध्यक्ष भन्ने स्पष्ट लेखिएको छ । दुई अध्यक्षको सहमति मात्रै पार्टीको आधिकारिक निर्णय हुन्छ । तर, डाक्टर साबले एकलौटी बैठक राख्नुभएको रहेछ । हाम्रो साथीहरूलाई जानकारी पनि छैन । एक अध्यक्षलाई जानकारी छैन । दुवैजनाको सहमति भए पो नेसपाको बैठक हुन्छ ।’

अर्का अध्यक्षलाई जानकारी नगराई एकलौटी राखेको बैठकमा आफूहरू नजाने सुनाए ।

महासचिव यादवले थपे, ‘अहिले हामीले माओवादीसँगको एकताको विषयलाई मात्रै कुरा उठाएका छैनौं । बैठकमा अरु पनि विषयमा छलफल हुन्छन् । माओवादीसँग एकता गर्ने विषय त पहिले नै गरिसकेका छौं । हाम्रो पार्टीको सांसद माओवादीकै चुनाव चिन्हबाट निर्वाचित भएर आउनुभएको छ । चुनावअघि नै सहमति भइसकेको छ । एकतामा त जाने नै हो ।’

विवादले पार्टी विभाजनतिर जान लागेको हो ? भन्ने नेपाल प्रेसको जिज्ञासामा भन्छन्, ‘हेरौं के हुन्छ। अहिले भन्न सकिने अवस्था छैन ।’

उनले अध्यक्ष भट्टराई नै सहमति भइसकेपछि केन्द्रीय समितिको बैठकले माओवादीसँग एकता गर्ने आधिकारिक निर्णय पार्टीबाट भइसकेको बताए ।

तर, बाबुराम भट्टराई अहिले माओवादीसँग एकताको पक्षमा नजाने पक्षमा उभिनुभएको हो ? भन्ने प्रश्नमा उनी थप्छन्, ‘हामी पार्टी एकताको विपक्षमा त हुँदै होइन । नेसपाले पहिला नै एकीकरणको सबै खाका तयार पारेर नै उहाँहरूको चुनाव चिन्ह लिएर अघि बढेका हौं । केन्द्रीय कार्यसमितिको बैठकमा पनि डाक्टर सा’पकै नेतृत्वमा एकता संयोजना समिति पनि बनाइसकेको छ । पहिला वार्ता टोली पनि गठन भएको थियो । तर, अहिले कुरा अघि बढेको छैन । हामी एकता प्रक्रियामा जाने नै हो ।’

उनले आफू महासचिव भएकाले आफूले जारी गरेको विज्ञप्ति पार्टीको अधिकारिक नै हुने दाबी गरे ।

यादवले थपे, ‘मेरो विज्ञप्ति आधिकारिक होइन भन्ने उहाँहरूको भनाइ होला । मैले अध्यक्षजीसँग पनि कुरा गरेको हो । उहाँले यो बैठकबारे मलाई थाहा छैन भनेपछि महासचिवको नाताले मैले आधिकारिक रूपमा विज्ञप्ति जारी गरेको हो । महासचिवको चिठ्ठी आधिकारिक नभए कसको हुन्छ ? मलाई पनि यो बैठकको बारेमा जानकारी छैन ।’ .

त्यसो त गत असोजमा प्रचण्ड र माओवादीका महासचिव देव गुरुङले बाबुरामलाई बाइपास गरेर अर्का अध्यक्ष महेन्द्रलाई पार्टी एकताको पत्रका काटेका थिए । त्यसबेला यादव प्रचण्ड नेतृत्वकै सरकारमा मन्त्री थिए ।

पछिल्लो समय प्रचण्डसँग दूरी बढ्दै गएपछि अध्यक्ष भट्टराईले पार्टी दुई सांसदलाई माओवादी पार्टीको अभिलेखबाट हटाइदिन निर्वाचन आयोग र संसद् सचिवालयलाई पत्र पठाएका थिए । तर, त्यो पत्र अस्वीकृत भइसकेका छ ।

गत निर्वाचनमा नेसपा अध्यक्षसमेत रहेका यादव सर्लाही ३ र समानुपातिक तर्फबाट बारा २ की उमरावती देवी निर्वाचित भएर आएका थिए । प्रदेशसभातर्फ गंगानारायण श्रेष्ठ र फणिन्द्र देवकोटा पनि निर्वाचित भएका थिए ।

माओवादीसँग सहकार्य अघि बढेपछि गोरखा २ प्रचण्डलाई छाडेका बाबुरामले आगामी निर्वाचनमा आफैं लड्ने घोषणा समेत गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर