सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा नाउपाका ३ मन्त्री थप, राति नै शपथ – Nepal Press

सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा नाउपाका ३ मन्त्री थप, राति नै शपथ

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गरेका छन् । पुरानो गठबन्धनबाट मुख्यमन्त्री बनेका कांग्रेसका शाहले केन्द्रमा नयाँ समीकरण बनेलगत्तै माओवादी र नेकपा एसका मन्त्री हटाएका थिए ।

वैकल्पिक गठबन्धनको ध्याउन्नमा लागेका उनले नाउपाबाट मन्त्री थपेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका तीनजनालाई उनले मन्त्री नियुक्त गरेका हुन् । संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुसीराम चौधरीलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको हो ।

उनीहरूलाई प्रदेश प्रमुख देवराज जोशीबाट राति नै पद तथा गोपनीयताको शपथ गराइएको छ ।

यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी थिए । उनलाई यथावत् राखिएको छ भने राज्यमन्त्री रहेका कैलाश चौधरीलाई फिर्ता बोलाएर उक्त स्थानमा नाउपाकै इन्दिरालाई नियुक्त गरिएको छ ।

माओवादी र नेकपा एसको समर्थनपश्चात मुख्यमन्त्री शाहले अल्पमतकै अवस्थामा सरकार विस्तार गरेका हुन् । उनको साथमा नागरिक उन्मुक्तिको पार्टीमात्रैको समर्थन हुँदा पनि बहुमत पुग्दैन । यहाँ स्वतन्त्र र राप्रपाका एक-एक जना सांसद छन् । उनीहरु दुवैजना शाह नेतृत्वको सरकारमा सहभागी हुँदा मात्रै बहुमत पुग्ने अवस्था देखिन्छ ।

यसअघि मुख्यमन्त्री शाहले राप्रपा सांसद खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा. तारा जोशीलाई पनि सरकारमा ल्याउने गरी कसरत गरेका थिए । राप्रपाले केन्द्रमा कुनै निर्णय नभएको भन्दै सरकारमा तत्काल सरकारमा नजाने बताएको छ ।

स्वतन्त्र सांसद जोशी पनि आफूले यस विषयमा कुनै निर्णय नगरेको बताउँछन् ।

५२ जना सांसद रहेको सुदूरपश्चिममा सरकारको बहुमतका लागि २७ जना चाहिन्छ । अहिले कांग्रेस नेतृत्वको सरकारलाई माओवादी र नेकपा एकीकृत समाजवादीले पनि समर्थन फिर्ता लिइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर