फागुन २९ गते राष्ट्रियसभा अध्यक्ष निर्वाचन- अर्याल, सुवेदी र दाहालमा कसले पाउलान् टिकट ? – Nepal Press

फागुन २९ गते राष्ट्रियसभा अध्यक्ष निर्वाचन- अर्याल, सुवेदी र दाहालमा कसले पाउलान् टिकट ?

काठमाडौं । राष्ट्रियसभाको रिक्त रहेको अध्यक्षको निर्वाचन फागुन २९ गते हुने भएको छ । गणेशप्रसाद तिमिल्सेना अध्यक्ष कायम रहँदै सार्वजनिक भएको राष्ट्रियसभाको क्यालेण्डरअनुसार नै अध्यक्ष निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको हो ।

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको अध्यक्षतामा बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कार्य व्यवस्था समितिको बैठकले अध्यक्षको निर्वाचन क्यालेण्डरमा तोकिएअनुसारकै मितिमा गर्ने निर्णय गरेको संघीय संसद सचिवालयका सूचना अधिकारी उपसचिव दशरथ धमलाले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार फागुन २७ गते बस्ने राष्ट्रियसभा बैठकमा अध्यक्षको निर्वाचनको मिति तोकिने, २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन हुनेछ । बैठकमा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता, सचेतक र कार्य व्यवस्था समितिका सदस्यहरुको सहभागिता थियो ।

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको सत्ता गठबन्धन छोडेर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग नयाँ गठबन्धन गरेसँगै राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ । यसअघि राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रसँगै नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको दाबी थियो ।

नेपाली कांग्रेसले त अध्यक्ष बनाउने उद्देश्यअनुसार नै पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभामा ल्याएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सत्ता गठबन्धनमा सिटौलालाई नै राष्ट्रियसभा अध्यक्ष बनाउने संकेत गरेका थिए ।

तर, प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमाले र रास्वपालगायतसँग गरेको नयाँ गठबन्धनभित्र राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिने लिखित सहमति नै भएको छ । उक्त सहमतिअनुसार उपाध्यक्ष भने नेकपा एमाले पाउनेछन् ।

नयाँ गठबन्धनको सहमतिअनुसार राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले पाउने निश्चित भएपछि उपाध्यक्ष उर्मिला अर्यालसँगै माओवादीका नेताद्वय झक्कुप्रसाद सुवेदी र नारायण दाहालको नाम चर्चामा आएको छ ।

अध्यक्ष बनाउने भनेरै मलाई उपाध्यक्ष बनाएको हो: अर्याल

राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले पनि अध्यक्ष बन्न जोड दिएकी छन् । उपाध्यक्ष उम्मेदवार बन्ने बेला नै अध्यक्ष पद खाली भएपछि उम्मेदवार बनाउने आन्तरिक सहमतिसहित आफू अघि बढेको उनले बताइन् ।

‘पहिले उपाध्यक्षको उम्मेदवार नबन्ने भनेकी थिएँ । तर, पछि अध्यक्ष खाली हुँदा उम्मेदवार बनाउने भनेरै उपाध्यक्ष बनेको हो । अझै मेरो कार्यकाल चार वर्ष बाँकी छ’, उनले नेपाल प्रेससँग भनिन्, ‘तर, जसको ६ वर्ष कार्यकाल छ, उनैलाई अध्यक्ष बनाउने भन्ने पनि हल्ला चलिरहेको छ । मलाई कुनै जानकारी छैन ।’

अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध चयन भएकी थिइन् । यसअघि पनि नेकपा माओवादी केन्द्रकी शशिकला दाहाल उपाध्यक्ष रहेकी थिइन् । उनको कार्यकाल सकिएपछि नेकपा माओवादी केन्द्रबाटै मधेस प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य बनेकी अर्याललाई उपाध्यक्ष निर्वाचित गरिएको थियो ।

२०७० जेठ ४ गते नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी अर्याल राष्ट्रियसभा उपाध्यक्ष चयन हुनुअघिसम्म पार्टीको स्थायी कमिटी सदस्य थिइन् । उनी माओवादीबाट २०७८ माघ १२ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनी राष्ट्रियसभा अध्यक्ष बनेमा ४ वर्ष पछि स्वतः पदमुक्त हुनेछिन् ।

झक्कुप्रसाद सुवेदी भन्छन्- खै, मलाई केही जानकारी छैन

राष्ट्रियसभा अध्यक्षका सम्भावित अर्का सांसद हुन् भर्खरैमात्र लुम्बिनी प्रदेशबाट निर्वाचित झक्कुप्रसाद सुवेदी । उनी राष्ट्रियसभा सदस्य निर्वाचित भएर आएपछि उनले पद तथा गोपनीयताको शपथ लिइसकेपछि बिहीबार पहिलो बैठकमा सहभागी भइसकेका छन् ।

यद्यपि उनी आफू राष्ट्रियसभा अध्यक्ष उम्मेदवार हुने नहुनेबारेमा अनभिज्ञ रहेको बताउँछन् । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आफूलाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवारको रुपमा उभ्याएको उनले नेपाल प्रेससँग बताए ।

‘विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राष्ट्रियसभा अध्यक्ष उम्मेदवार भनेर लेखेको देखिरहेको छु । तर, मलाई यसबारेमा जानकारी छैन’, उनले भने, ‘पार्टीले उम्मेदवार नै बनायो भने त नाईं भन्ने कुरा भएन । २८ गते पार्टीको स्थायी समिति बैठक बस्दैछ । उक्त बैठकले आधिकारिक उम्मेदवार कसलाई बनाउने भन्ने टुंगो लगाउँछ होला । त्यसैले अहिले म उम्मेदवार हो वा होइन भन्नेबारेमा मलाई जानकारी छैन ।’

रोल्पाका सुवेदी माध्यमिक तहको पूर्णकालीन शिक्षण पेशा छोडेर राजनीतिमा होमिएका थिए । २०४८ सालमा भएको स्थानीय निकायको निर्वाचनमा गजुल गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित उनी त्यसपछि जिल्ला विकास समिति रोल्पाको सभापति बनेका थिए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट तत्कालीन नेकपा माओवादीको उम्मेदवार बनेर निकै चर्चामा आए । उनले उक्त निर्वाचनमा तत्कालीन नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए । त्यसपछि दोस्रो संविधानसभा निर्वाचन २०७० मा उनले जीत हात पार्न सकेनन् । २०७४ सालमा काठमाडौं क्षेत्र नं. ६ बाट माओवादीको तर्फबाट उम्मेदवार बनेका सुवेदी फेरि पराजित भएका थिए ।

सुवेदीलाई २०८० को राष्ट्रियसभा सदस्यमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रले उम्मेदवार बनाएको थियो र उनी निर्वाचित पनि भए ।

पहिले पार्टीले निर्णय गरोस् अनि बोलौला : सांसद दाहाल

राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य नारायण दाहाल पनि अध्यक्षका सम्भावित उम्मेदवार हुन् । २०७८ चैत २५ गते तत्कालीन राष्ट्रपतिबाट मनोनीत सांसद दाहाल नाताले प्रधानमन्त्री प्रचण्डका भाइ हुन् ।

सांसद दाहालले पार्टीले निर्णय गरिनसकेकाले यसबारेमा आफूले केही भन्न नमिल्ने नेपालप्रेसलाई बताए ।

‘पहिले पार्टीले निर्णय गरोस् । राष्ट्रियसभा सदस्य भएपछि अध्यक्ष हुन योग्यता पुग्ने त भैहाल्यो नै’, उनले भने ।

दाहाल अध्यक्ष चयन भएमा ४ वर्ष पदमा रहनेछन् ।

नेपालको संविधानको धारा ९२ ले राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको निर्वाचनसम्बन्धी व्यवस्था गरेको छ । जसको उपधारा (१) मा राष्ट्रियसभाको पहिलो बैठक सुरु भएको मितिले १५ दिनभित्र अध्यक्ष वा उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्छ । निर्वाचन गर्दा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनेगरी गर्नुपर्छ । राष्ट्रियसभाको अध्यक्ष वा उपाध्यक्षको पद रिक्त भएमा राष्ट्रियसभाका सदस्यले आफूमध्येबाट राष्ट्रियसभाको अध्यक्ष वा उपाध्यक्षको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्नुपर्छ ।

अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले राष्ट्रियसभाको अध्यक्षता गर्ने व्यवस्था छ । अध्यक्ष र उपाध्यक्षको निर्वाचन नभएको वा पद रिक्त भएको अवस्थामा भने राष्ट्रियसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले सबैभन्दा ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ ।


प्रतिक्रिया

One thought on “फागुन २९ गते राष्ट्रियसभा अध्यक्ष निर्वाचन- अर्याल, सुवेदी र दाहालमा कसले पाउलान् टिकट ?

  1. दाहाल एण्ड कग्पनीले दाहाल हुँदाहुँदै अर्याल र सुवेदी रोज्ला ? अझै प्रचण्डलाई चिनीएको छैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर