दयाहाङ-मिरूनाको `रंगेली´ मा आर्यनको सरप्राइज, अहिल्यै दोस्रो सिक्वेल तय – Nepal Press

दयाहाङ-मिरूनाको `रंगेली´ मा आर्यनको सरप्राइज, अहिल्यै दोस्रो सिक्वेल तय

काठमाडौं । नेपाली सिने क्षेत्रमा अभिनेता दयाहाङ राईको क्रेज जति छ, त्यति क्रेज सायदै सामाजिक सञ्जालमा लाखौं-करोडौं फलोअर्स बोकेर बसेका नेपाली कलाकारको होला । कति कलाकारहरूको चलचित्र कहिले आयो, कहिले गयो भन्नेमा नै दर्शक अनविज्ञ रहन्छन । तर दयाहाङको चलचित्रप्रति भने सबैको चासो हुन्छ ।

यीनै अभिनेताको प्रतिक्षित मानिएको चलचित्र ‘रंगेली’ आजबाट नेपालभरीका हलहरुमा एकसाथ रिलिज हुँदैछ । केही दिनअगाडि चलचित्रको सेन्सरलाई लिएर खुवै विवाद भएको थियो । सेन्सरको काण्डले गर्दा चलचित्र कस्तो होला भनेर हेर्न दर्शक झनै आतुर छन् ।

दयाहाङ र अभिनेत्री मिरुना मगरले जोडी बाँधेको यो चलचित्रको बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर शो आयोजना गरिएको थियो जहाँ चलचित्रकै प्रमुख दुई कलाकारहरु दयाहाङ राई र मिरुना मगर आकर्षणको केन्द्रमा रहे ।

दयाहाङ र मिरुना यही प्रिमियरको लागि रातारात रुकुमको तक्सेराबाट काठमाडौं आइपुगेका थिए । चलचित्र ‘घरज्वाइँ’ को छायाङ्कनमा रहेका कलाकारद्वयसँगै छायाकार सुशन प्रजापति पनि प्रिमियरको लागि रुकुमबाट आएका थिए । उता रातारात दयाहाङ र मिरुना कुद्नुपर्यो भने यता हलमा मध्यरातसम्म पत्रकारलाई पर्खनको दास्ती भयो । कार्यक्रम सुरू नै तोकिएको समयभन्दा धेरै ढिला भयो । सिने जगतमा कुनै पनि कार्यक्रम ढिला हुनु नौलो कुरा होइन ।

१०० मा ९० वटा कार्यक्रम तोकिएको समयभन्दा ढिला नै हुने गर्दछन् यहाँ, जुन बानी सुधार्न जरुरी छ। एउटै कार्यक्रममा आमन्त्रित पाहुना र पत्रकारले लगभग ७,८ घण्टा बिताउनु भनेको सामान्य कुरा होइन, त्यही पनि रातको समयमा । साढे ४ बजे बोलाइएको कार्यक्रममा पत्रकार र आमन्त्रित पाहुनालाई हलभित्र ईन्ट्री नै झण्डै ७ बजेतिर गराइयो । हलभित्र आधा घण्टाको बोल्ने कार्यक्रम सकिएपछि बल्ल चलचित्र सुरु हुने भयो। हल खुल्न घण्टौ बाहिर पर्खिएका पत्रकार र पाहुना त्यतिखेर हैरान भए जब हलमा चलचित्र सुरु भयो तर साउन्ड आएन ।

१० मिनेटसम्म पनि साउन्ड म्यानेजमेन्ट नमिलेपछि चलचित्र हेर्न थप आधा घण्टा कुर्न पर्ने भयो । ३ घण्टा चलचित्र हेर्न बाहिरै पर्खिएका पत्रकार र अतिथि थप समय लाग्ने भएपछि घर फर्कने कि बस्ने भन्नेमा दोधार भए । कोही त चलचित्रै नहेरी हलबाट बाहिरिए । साउन्ड बनेर केही समयमा आयो । लगभग सवा ८ मा चलचित्र पुन: सुरू भयो । चलचित्रको रनटाइम लगभग ३ घण्टाको थियो । चलचित्र सकेर आमन्त्रित सबै घर पुग्दा मध्यरात हुनु स्वाभाविक नै थियो । तर, पनि चलचित्र हेर्न दुईवटा हल भरिएका थिए ।

चलचित्र सुरु हुँदा उत्साहित भएका दर्शक सुरु भएपछि भने केही सेलाए । चलचित्रमा दयाहाङलाई केही भिन्न तवरमा प्रस्तुत गरिएको थियो । ग्याङस्टार चलचित्र भएकाले पनि दयाहाङ र मिरुनालाई यस चलचित्रमा केही फरक तरिकाले प्रस्तुत गरिएको छ । अवैध नक्कली नोट तथा हातहतियार सप्लाई र रंगेलीमा राज गर्ने होडबाजीलाई चलचित्रमा देखाईएको छ । त्यही होडबाजीमा एकले अर्काको ज्यान लिँदै कहानी सकिएको छ ।

रोचकको कुरा त के छ भने, यो चलचित्रको पहिलो सिक्वेल हो । चलचित्रको दोस्रो भाग पनि दर्शकले हेर्न पाउने छन् । चलचित्रको अन्तिममा नायक आर्यन सिग्देलको ईन्ट्रीलाई रोचक हिसाबले देखाइएको छ । हलभित्र पस्दै गर्दा चलचित्रमा नायक आर्यन सिग्देल होलान् भन्ने सायदै कसैले सोचेका पनि थिए होला । चलचित्रमा निर्माण टीमले सबै कुरा पर्फेक्ट देखाउन खोजेका छन् तर धेरै कुरामा चुकेका छन्।

धमाकेदार बलिउड र हलिउड शैलीको फाइट र ग्याङस्टार चलचित्र हेर्ने दर्शकको लागी यो चलचित्र केही खल्लो हुन सक्छ। चलचित्र एकदमै सादा छ। कहानी प्रष्टै छ ।

प्रिमियर पछि चलचित्रको प्रतिक्रिया लिने पालो आयो । २५ प्रतिशत मान्छे पर्खनको हैरानले कोही सुरु त कोही बिचमै निस्किदै थिए । बाँकी भएकाले भने दयाहाङको ग्याङस्टर चरित्र र मिरुनाको अप्रत्याशित भूमिकाको प्रशंसा गरे । दयाहाङ र मिरुनाले समेत यो चलचित्र आफ्नो करियरको लागि कोशे ढुङ्गा साबित हुने बताए ।

कार्यक्रममा बोल्दै दयाले भने, ‘हामी मङ्गलवार राति ११ बजेतिर मात्र रुकुमबाट हिँडेका थियौँ । मिरुना २ दिनदेखि बिरामी थिइन् । बाटोमा विभिन्न समस्याहरू झेल्दै प्रिमियरकै लागि भनेर अनिदो अवस्थामा आइपुगेका छौं । यो चलचित्रबाट निकै आशा छ ।’

एउटै भूमिकामा देख्दै आएका दर्शकले आफूमा नयाँ चरित्र देख्ने बताउँदै दयाले आफूले सधैँ पात्रको इमोशन र दर्शकलाई ‘कनेक्ट’ गराउने प्रयास गर्ने गरेको बताए ।

‘यसमा पनि मैले सोही कोसिस गरेको छु । मेरो चरित्रमा आफू पावरमा आउनको लागि गरिएका कामहरू र मानवताको प्रदर्शन छ’, उनले सुनाए ।

बिरामी र अनिद्रामा रहेकी मिरुनाले चलचित्र हेर्न थालेपछि निद्रा सबै हराएको प्रतिक्रिया दिइन् । चलचित्र हेरिसकेपछि मिरुनाले दयालाई फरक भूमिकामा हेर्दा गज्जब लागेको बताइन्। उनले शालीन जुनकिरी (मिरुना)बाट शक्तिशाली जुनकिरी बन्दै जाने यो चलचित्रको स्क्रिप्ट पढ्ने बित्तिकै काम गर्न उत्साहित भएको स्मरण गरिन् ।

चलचित्रका निर्देशक अर्जुन सुवेदीले आफूले चलचित्रमा भन्न खोजेको विषयलाई इमानदारीताका साथ ‘रङ्गेली’मा प्रस्तुत गरेको जनाए। प्रिमियरमा हेर्नेहरूबाट प्राप्त प्रतिक्रियाबाट आम दर्शकको रोजाइमा यो चलचित्र पर्छ भन्नेमा विश्वास रहेको उनले सुनाए।

बुधवारदेखि नै रङ्गेलीको अग्रिम टिकट बुकिङ खुल्ला भइसकेको छ । ‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ र मिरुनाको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *