‘फिल्म समीक्षकबाट आजित भएँ, दुःख कसलाई पोख्नु ?’ – Nepal Press

‘फिल्म समीक्षकबाट आजित भएँ, दुःख कसलाई पोख्नु ?’

‘अगस्त्य’ का निर्देशक भन्छन्- हलहरुले दिएको शो र दर्शक प्रतिक्रियाबाट सन्तुष्ट छु

काठमाडौं । सौगात मल्ल स्टाटर सस्पेन्स थ्रिलर फिल्म ‘अगस्त्य’ एक हप्तादेखि देशभरका हलहरुमा लागिरहेको छ । स्लो स्टार्ट गरेको फिल्मले माउथ पब्लिसिटीसँगै पिकअप लिँदै गएको निर्माण पक्ष बताउँछ ।

आज सामाजिक सञ्जालमा केही सञ्चारकर्मीहरुले अगस्त्यमाथि हलहरुले शो बाँडफाँडमा विभेद गरेको भन्दै सहानुभूतिपूर्ण स्टाटस लेखे । क्यूएफएक्स चेनले चलचित्रलाई अन्याय गरेको उनीहरुको दाबी थियो ।

यस विषयमा चलचित्रका निर्देशक साैरभ चौधरी भन्छन, ‘यो विषयमा मेरो चलचित्रको निर्माता टिमहरुले हेरिरहनुभएको छ।’

हलरुहरुले दिएको उचित संख्यामा अगस्त्यलाई शो दिइरहेको चौधरी बताउँछन् ।

उनले भने, ‘चलचित्रले सुरुवाती दिनमा भन्दा चौथो दिन पश्चात हलमा दर्शक तान्न सफल भएको छ । अहिले पनि कतिपय हलहरु हाउसफुल छन् । वर्ड अफ माउथले दर्शक तानिरहेको छ ।’

त्यसो त नेपालका फिल्म पत्रकारहरुसँग गुनासोको ठूलै पोको बोकेर बसेका छन् निर्देशक चौधरी । अगस्त्यलाई सुरुका दिनदेखि फिल्म पत्रकारले डुबाउन खोजेको उनको आरोप छ ।

मिडियाको प्रहारबाट आफू आजित बनेको उनी बताउँछन् । चलचित्र हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिए पनि कथित समिक्षकले रूपमा कलम चलाएको चौधरीले टिप्पणी गरे ।

‘मैले त अब समिक्षकका लागि चलचित्र बनाउनु पर्यो कि दर्शकको लागि । समिक्षकले कलम चलाउँदै गर्दा एउटा मान्छेको जिन्दगीमा कतिसम्म असर पर्न सक्छ, त्यो उहाँहरुले सोच्नुपर्छ,’ उनी भन्छन् ।

निर्देशक चौधरीको भनाइ उनकै शब्दमा

मलाई पेल्न साथीहरुले नयाँ–नयाँ युटउब च्यानलसमेत खोले । यसलाई ठोक्नैपर्छ भन्ने हेतुले नयाँ च्यानलबाट समेत मलाई पेलिरहनु भएको छ । त्यतिसम्म त ठिकै थियो, अचम्मको कुरा त के छ भने उहाँहरुले मेरो चलचित्रको बारेमा गर्नुभएको नकारात्मक समिक्षामा, दर्शकले सकारात्मक टिप्पणी दिनुभयो भने, त्यो पनि हटाउनुहुन्छ ।

राम्रो कमेन्ट गर्नेलाई समेत दबाब दिएर कमेन्ट हटाउन लगाउनुभएको प्रमाण मसँग छ । यसलाई ठोक्नैपर्छ भनेर लेख्न बाँकी भएका अन्य साथीहरुलाई पनि चलचित्रको नकारात्मक टिप्पणी गर्न लगाइएको छ । हाम्रो क्षेत्र सानो छ । कुराहरु घुमिफिरी अन्तिममा त्यही मान्छेको कानमा आइपुग्छ । मलाई डर दर्शकसँग हैन, मिडियाका मान्छेहरुसँग हो । मलाई केही नसोधी आफ्नै हिसावले मनमा जे आयो त्यही लेखिदिनुहुन्छ ।

अहिलेसम्म मलाई कुनै पनि मिडियाका कसैले पनि एकचोटी कल वा मेसेज गरेर मेरो कुरा सुुनिदिनु भएको छैन । आज पहिलोचोटी मिडियाको तर्फबाट तपाईको कल आएको हो । केही लेख्नुअघि एकचोटी मेरो कुरा पनि सुनिदिनुभएको भए हुन्थ्यो । मेरो पनि गुनासा होलान् नि । मेरो कुरा कसले सुन्दिने?

म त साँच्चै भन्नुपर्दा वाक्क–दिक्क भइसकेँ । यहाँको प्रवृत्ति देखेर यो क्षेत्रै छाडेर पलायन होउँ भन्ने धारणा आईसक्यो । त्यही भएर अचेल मिडियामा आएका केही कुराप्रति म चासै राख्दिन । आफ्नो हिसावले समाचार बनाउँदा रहेछन्, मेरो के काम ?

मलाई हलवालाहरुसँग केही गुनासै छैन । उहाँहरुले राम्रै शो दिइराख्नु भएको छ । बिग मुभिजले बरु सुरुवाती चरणमा शो दिनुभएको थिएन । पछि उहाँहरुले पनि दिनुभयो । मलाई केही गुनासो छैन । तर आज बजारमा भने छ्याप्ती–छयाप्ती मेरो चलचित्रलाई हाइलाइटमा राखेर क्युएफएक्सले शो दिएन भनेर स्टाटस हालिरहनुभएको छ । यस्ता कुरा त मलाई सोध्नु पर्ने होइन र ? तर, अहँ, आफंै सबैको तर्फबाट लेखिदिनुुहुन्छ । सत्य–तथ्य कसैलाई जान्नै छैन । पत्रकारिता गर्ने भन्नुहुन्छ तर एकजनाले पनि एकचोटी मलाई सोधेर आफ्नो धर्म निभाउनु भयो त?

दर्शकले चलचित्र राम्रो लाग्यो भनेर हलबाट निस्किनुहुन्छ । बाहिर आएर कलाकारदेखि मलाईसम्म हग गर्नुहुन्छ । दोस्रो भाग छिट्टै ल्याउनु भनिराख्नु भएको छ । तर त्यस्ता सकारात्मक पक्ष मिडियामा कहिल्यै आउँदैनन् । सुरुदेखि सबैले सुरुको भाग स्लो भयो भनेर एउटै कुरामा पेलिरहनुभएको छ । त्यो मैले बुझें । म सच्याउँछुु पनि होला तर त्यतिन्जेलसम्म मलाई पनि सास फेर्न त दिनु । लगातार पेलेको पेल्यै गर्नुहुन्छ ।

प्रिमियरको दिन पनि म चलचित्रको आधीमै निस्केको थिएँ । हलमा पछाडिको स्पिकरबाट साउन्ड नै आएको थिएन । चलचित्र जुन कलरको थियो, त्यो भन्दा कालो देखाईएको थियो । त्यही भएर टेक्निकल इरर होला भनेर म बिचमै निस्केर करेक्सनतर्फ लागेँ । पत्रकार साथीहरुले जस्तो गुणस्तरमा हेर्नु भए पनि दर्शकलाई राम्रो गुणस्तरको देखाउँछु भनेर म काम तर्फ लागिहालेँ । रातभरी नसुती काम गरे । भोलिपल्ट हलमा चलचित्र केही फरक तरिकाले आयो ।

प्रिमियर गरिएको नकारात्मक टिप्पणी बटुल्न होइन । केही गल्ती छ भने के सच्याउनु पर्ने हो, त्यो बताउनु पनि हो । त्यही भएर त एकदिन अगाडी हामीले पनि सबैको समिक्षा लिन प्रिमियर गर्ने हो । तर माहोल अर्कै भइदियो । मुख्य कुरा भनेको, मैले समिक्षकको लागी हैन दर्शकको लागि चलचित्र बनाएको हो । समीक्षकलाई कस्तो चलचित्र मनपर्छ मलाई के थाहा ? समिक्षकलाई त हरर मन पर्ला रे । कसैलाई कमेडी मन पर्ला । मैले अब त्यस्तै मात्र चलचित्र बनाउनु ?

मैले त अब कि समिक्षकका लागि चलचित्र बनाउनु पर्यो कि दर्शकको लागि । समिक्षकले कलम चलाउँदै गर्दा एउटा मान्छेको जिन्दगीमा कतिसम्म असर पर्न सक्छ, त्यो चाहीँ उहाँहरुले सोच्नुपर्छ । सबै मान्छे सबै कुरामा पर्फेक्ट त कहाँ हुन्छ र ?मैले त यहाँसम्म पनि सुनेको छु कि, चलचित्र प्रिमियर गर्नुअघि नै चलचित्रबारे केही पत्रकारहरुले अरुको दिमागमा नकारात्मक कुरा भर्दिसक्नुभएको थियो रे । सब मलाई ठोक भन्ने मात्र छन् । मलाई त मिडियासँगै फोबिया भइसक्यो । मेरो दुखेसो कसलाई सुनाउने ? मैले कसलाई गुहार्ने ? मेरो कुरा राख्दिने को छ ?

दर्शकको त मलाई अपार माया छ । दर्शकसँग म असीमित खुसी छु । चलचित्रमा गरेको लगानी मैले उठाइसकेको छु । मलाई दर्शकको साथ छ र दर्शकको मायाले मेरो टीम खुसी छ, त्यही सबैभन्दा ठूलो कुरा हो । अरुलाई त जे गरे पनि नसकिने रहेछ । म ढाँट्दिनँ, सुरुवाती दिनमा दर्शकको अकुपेन्सी ५०,६० प्रतिशत मात्र थियो । तर मंगलबारदेखि लगभग हाउसफुल नै छ ।

आफ्नो कुनै गु्रप छ भने त्यसलाई मात्र उठाउन खोज्ने, अनि अरुलाई पेल्ने प्रवृत्ति छ । हुन त यो उहिलेदेखि चलिआएको चलन हो यहाँ । १९ वर्ष हुँदादेखि यो क्षेत्रमा छु । मैले जहिल्यै देखेकै यहीँ हो । म के भन्नु चाहन्छु भने कसैको बहकाउ वा दबाबमा लागेर र आफ्नो नजिकको मान्छे मात्र भनेर पत्रकारिता नगर्नुहोस् । आफ्नो धर्म छाड्नु भनेको पाप हो । र पाप भनेको घुमीफिरी आउँछ । जब उपरवालाको लौरो लाग्छ नि, तब साह्रै गाह्रो हुन्छ ।

हामी सबै यही क्षेत्रमा छौ । यहीँ काम गरेर खानु छ । किन हेपाहा व्यवहार गर्ने ? कुनै चिजको नराम्रो पक्ष हुन्छ भने राम्रो पक्ष पनि त हुन्छ नि । कलाकारले त्यत्रो मेहेनत गरेका छन् । पत्रकार साथीहरु आफैं पहिलो भाग स्लो लागेपनि दास्रो भाग ठिक छ भन्दै निस्किनु भएको थियो । राम्रो पक्षलाई पुरै ओभर स्याडो गरेर नराम्रो मात्र देखाइदिनु भयो । उहाँहरुलाई मात्र एउटै प्रश्न, मेरो चलचित्रमा केही पनि राम्रो छँदै थिएन त ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *