प्रधानमन्त्रीले चाहेका स्वर्णिम अन्तिममा आफैं रोकिए, तोसिमालाई किन पहिल्यै रेड सिग्नल ? – Nepal Press

प्रधानमन्त्रीले चाहेका स्वर्णिम अन्तिममा आफैं रोकिए, तोसिमालाई किन पहिल्यै रेड सिग्नल ?

स्वर्णिम नपाए पनि सुमनालाई मन्त्रिपरिषदमा पाउँदा प्रधानमन्त्री खुशी

काठमाडौं । रास्वपाले आफ्नो भागमा परेका चार मन्त्रालयमा दुईजना पुराना र दुई नयाँ अनुहार पठाएको छ । सभापति रवि लामिछाने र उपसभापति डिपी अर्याल एक वर्षअघि छोटो समयका लागि सरकारमा गएका थिए भने सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठले पहिलोपटक अवसर पाएका हुन् ।

सुमना शिक्षामन्त्री र विराज खेलकुदमन्त्री बनेका छन् । सामाजिक सञ्जालको प्रतिक्रिया हेर्दा उनीहरु दुवैप्रति जनअपेक्षा उच्च देखिन्छ । ‘अनटेस्टेड’ भएकाले मात्र होइन, क्षमताका हिसाबले पनि उनीहरुबाट आशा गरिएको हो । दुवैले आफूलाई सुट हुने मन्त्रालय पनि पाएका छन् ।

स्रोतका अनुसार रास्वपाबाट कोको मन्त्री बन्दैछन् भन्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि चासो दिइरहेका थिए । सुमनाको नाम आएपछि उनी उत्साहित बनेको स्रोत बताउँछ ।

रास्वपा स्रोतले भन्यो, ‘एकदम ठिक डिसिजन गर्नुभयो । उहाँ आउनैपर्ने मान्छे हो ।’

त्यसो त सुरुमा सुमना आफैं भने मन्त्री बन्न त्यति उत्साहित थिइनन् । उनी रास्वपा सकेसम्म चार वर्ष सरकार बाहिर नै बस्नुपर्ने पक्षमा थिइन् । उनले एक अन्तरवार्तामा पनि आफू मन्त्रीभन्दा एकैपटक प्रधानमन्त्री बन्ने गरी तयारी गरिरहेको बताएकी थिइन् ।

प्रचण्ड सरकारमा हलचल आउँदा पारिवारिक शोकका कारण घरमै थिइन् सुमना । त्यसैले पार्टीको वैठकमा पनि सहभागि हुन पाइनन् । मन्त्री खाना लागि उनलाई पार्टीका महामन्त्री डा. मुकुल ढकालले बल्लतल्ल मनाएका थिए । सुरुमा आनाकानी गरेकी उनले पछि पार्टी निर्णय स्वीकार्ने बताइन् । आफ्नो रुचीकै मन्त्रालय पाएपछि सहजरुपमा स्वीकारिन् पनि ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड रास्वपाले उपाध्यक्ष डा. स्वर्णिम वाग्लेलाई पनि सरकारमा पठाओस भन्ने चाहन्थे । उनले रविलाई सुझाव पनि दिएका थिए । रवि स्वयम् पनि स्वर्णिमलाई लैजान सकारात्मक थिए । यद्यपि, गृह पाइसकेको रास्वपाले अर्थ मन्त्रालय पाउने सम्भावना थिएन । अर्थ पाएको भए स्वर्णिम निर्विवाद हुने थिए । नपाएपछि रास्वपाभित्र उनलाई पठाउने कि नपठाउने भन्ने अन्योल भएको थियो । डा। वाग्ले स्वयम् पनि दोधारमा थिए । अन्तिममा उनैले नजाने निर्णय लिएको स्रोतको दावी छ ।

स्रोत भन्छ, ‘पार्टीका प्रभावशाली र क्षमतावान व्यक्तिहरु सरकारमै गएर आफूलाई प्रमाणित गर्ने लोभ एकातिर थियो । तर, सबै मुख्य व्यक्तिहरुलाई सरकारमा पठाउँदा पार्टीको भूमिका कमजोर होला कि भन्ने डर थियो । अन्तिममा उहाँले नै अहिले म जान्न, पार्टीकै काममा केन्द्रीत हुन्छु भन्नुभयो ।’

अर्थ नपाए पनि परराष्ट्र, उद्योग–वाणिज्य, आपूर्ति उर्जा जस्ता मन्त्रालयमा गएर स्वर्णिमले पफर्ममेन्स देखाउन सक्थे । तर, ती मन्त्रालयहरु पनि रास्वपाको भागमा परेनन् । स्वर्णिमलाई पठाउनका लागि गठवन्धनसँग पाँचवटा मन्त्रालय माग्ने कुरा रास्वपामा भएको थियो । लामिछानेले म पहल गर्छु भने । तर, चारवटा भन्दा बढी मन्त्रालय पाउने अवस्था बनेन ।

रास्वपाबाट यसअघि मन्त्री बनेर छोटो समयमै निस्किनु परेका दुईजनाले भने यसपालि अवसर पाएनन् । उनीहरु हुन् तत्कालीन शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की । शिक्षामा सुमना छनोट भएपछि शिशिरको सम्भावना समाप्त भयो । तोसिमाको नाम भने चर्चामै आएन । स्रोतका अनुसार प्रधानमन्त्रीले तोसिमालाई सिफारिस नगर्न पहिल्यै रविलाई संकेत गरिसकेका थिए । त्यसको कारण थियो, तोसिमाको एउटा तस्विर ।

केही समयअघि तोसिमाले ‘१७००२’ लेखिएको ब्यानर बोकेको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो । इपीएसका परीक्षार्थीले गरेको आन्दोलनमा एकजना युवाको मृत्यू भएपछि तोसिमाले यस्तो ब्यानर प्रदर्शन गर्दै माओवादी जनयुद्धमाथि प्रहार गरेकी थिइन् । यसबाट प्रचण्डदेखि सिंगो माओवादी वृत्त उनीसँग चिढिएका थिए । प्रधानमन्त्रीले सुरुमै रेड सिग्नल देखाएपछि रास्वपाभित्र तोसिमाको नाममा छलफल भएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर