नेकपा एसलाई पनि नयाँ गठबन्धनमा राख्ने माओवादीको निर्णय – Nepal Press

नेकपा एसलाई पनि नयाँ गठबन्धनमा राख्ने माओवादीको निर्णय

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल माओवादी नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा अटाउनुपर्ने पक्षमा उभिएको छ ।

आज बसेको बैठकपछि सचिव देवेन्द्र पौडेलले वामपन्थी एकताका लागि नेकपा एसलाई पनि समेट्ने निर्णय भएको बताए । वामपन्थी एकताको जनअपेक्षा रहेको भन्दै एसलाई बाहिर राख्नु नहुने वकालत पार्टीले गरेको हो ।

पौडेलले भने, ‘माधवजीलाई पनि र उहाँले नेतृत्व गरेको पार्टीलाई अहिलेको प्रकरणमा कन्भिन्स्ड गरेर सँगै लैजाने हामीले निर्णय गरेका छौँ ।

एमालेले नेकपा एसलाई समेट्न मान्ला त भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘वामपन्थी भनेपछि मान्नुपर्‍यो नि । इगो लिएर मात्र हुँदैन । हिजो इगोले हामीलाई कहाँ पुर्‍यायो सबैलाई थाहै छ । उहाँहरू (एमाले) को पनि भाषा र साइकोलोजी बुझेर हामीले निर्णय गरेको हो ।’

नेकपा फेरि ब्युँतिने सम्भावना बारे उनले भने, ‘पार्टी एकताको विषयमा त कुरा चलेको छैन । तर, यो स्टेपले त्यो दिशातर्फ लैजान्छ । वामपन्थी एकताकै लागि यो स्टेप चालिएको हो ।’

नेकपा एसले भने यस विषयमा प्रधानमन्त्रीसँग कुनै छलफल नभएको बताएको छ । नयाँ सत्ता समीकरणको विषयमा प्रधानमन्त्रीले आफूहरूसँग कुनै छलफल नगरेको नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनले नेपाल प्रेससँग भने, रातभरिमा गठबन्धन भत्कने ठाउँसम्म पुगिसकेको रहेछ। तर, यो विषयमा हामीसँग प्रधानमन्त्रीले कुनै कुराकानी गर्नुभएको छैन। अब पार्टीमा छलफलपछि के गर्ने भन्ने निर्णय होला।

तर, माओवादी नेताहरूले त नेकपा एसलाई पनि समेटेर जान्छौँ भन्दै आइरहेका छन् नि भन्ने जिज्ञासामा उनले थपे, अब त्यसबारेमा पार्टीको सचिवालय बैठक बस्दैछ। के गर्ने ? भन्ने बैठकबाट नै आधिकारी निर्णय गर्छौँ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर