महानगर एसएसपी पाण्डे भन्छन्- भीडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुङ्गा प्रहार भयो – Nepal Press

महानगर एसएसपी पाण्डे भन्छन्- भीडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुङ्गा प्रहार भयो

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरीमाथि आक्रमण भएको दाबी गरेका छन् । उनले उक्त घटनामा नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको बताए ।

उनका अनुसार घाइतेमध्ये लामिछानेसहित ३ जनाको टाउकोमा चोट लागेर गम्भीर घाइते छन् ।

‘त्यस क्षेत्रमा सडक व्यापार नगर्न हामीले गएको १ महिना अघिदेखि माइकिङ गरेर सचेत गराइरहेका थियौं । १५ दिन अघिदेखि व्यापारीहरुले नगर प्रहरीलाई गाली गर्न थालेका थिए’,

महानगर प्रहरी बलका प्रमुख पाण्डेले भने, ‘बुधबार सडकमा व्यापारी आउन थालेको सूचना पाएर मध्य क्षेत्रका कमाण्डर लामिछानेको कमाण्डमा प्रहरीहरु सुन्धारा जानुभएको थियो । उहाँ पुग्नेवित्तिकै आक्रमण भयो ।’

भीडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुङ्गा प्रहार भएको उनले बताए ।

‘यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको हो । कसैमाथि दमन गर्ने वा घरपकड गर्ने काम हामीबाट भएको छैन । त्यो हाम्रो काम पनि होइन’, महानगर एसएसपी पाण्डेले भने, ‘सडक व्यापारलाई महानगरपालिकाले पूर्ण निषेध गरेको छ । कुनै समय दिएर व्यापार गर्न पाउने भनेको छैन । यस्तो नीति पनि छैन । सडक व्यापार पूर्ण निषेध गर्ने महानगरपालिकाको नीति कार्यान्वयन गर्ने दायित्व महानगर प्रहरी बलको हो । हामीले कर्तव्य निर्वाह गर्दागर्दै घटना भएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *