मजदुर कुट्ने एसपीलाई कारवाही नगरे आन्दोलन गर्ने यातायात मजदुर संगठनको चेतावनी – Nepal Press

मजदुर कुट्ने एसपीलाई कारवाही नगरे आन्दोलन गर्ने यातायात मजदुर संगठनको चेतावनी

अध्यक्ष भीमज्वाला राई भन्छन्- बालेन्द्र साह आएदेखि गरिखाने वर्गमाथि आक्रमण हुन थालेको छ, हिजोको कुटपिट क्रूर

धरान । बुधबार साँझ काठमाडौं सुन्धारामा स्वरोजगार मजदुरमाथि आक्रमणको नेतृत्व गर्ने महानगर प्रहरीका एसपी मनोज लामिछानेलाई तत्काल कारबाही गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले माग गरेको छ ।

संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले विज्ञप्ति जारी गर्दै लामिछानेलाई कारवाहीसहित सम्पूर्ण मजदुरहरूसँग काठमाडौं महानगरपालिकाले माफी माग्नुपर्ने माग राखेका छन् । घाइते श्रमिक तथा सञ्चारकर्मीको उपचारको व्यवस्था गरिनुपर्ने, महानगर प्रहरीले जफत गरेका सामान तत्काल फिर्ता गर्न पनि सो संगठनले माग गरेको छ ।

महानगरभित्र ‘सस्तो नागरिक बजार’ को व्यवस्था, सन्ध्याकालीन व्यवसाय गर्ने वातावरण, महानगरभित्र ‘श्रम डेस्क’ स्थापना गरी सम्पूर्ण श्रमिकको सूचीकरण गर्दै सामाजिक सुरक्षा कोषमा समावेश गर्न पनि विज्ञप्तिमा ध्यानाकर्षण गराइएको छ । बालेन्द्र साह मेयर भएदेखि नै काठमाडौंमा गरिखाने वर्गमाथि आक्रमण हुन थालेको जिकिर गर्दै राईले बुधबार साँझको घटना अमानवीय र क्रूर भएको टिप्पणी गरेका छन् ।

हिजो साँझ फुटपाथमा व्यापार गरिरहेका श्रमिकलाई महानगर प्रहरीले खेद्न खोज्दा झडप भएको थियो । सोक्रममा केही घाइतेसमेत भएका थिए ।

आक्रमणमा मजदुरहरू नानीमैया बस्नेत, राधिका मैनाली, बद्री देवकोटा र सञ्चारकर्मी पदम पोख्रेललगायतमाथि निर्घात कुटपिट गरिएको जनाइएको छ ।

‘सानो पूँजी लगानी गरेर जीवन चलाउनेहरुलाई संरक्षण गर्नुपर्नेमा सत्ता र शक्तिको आडमा आक्रमण गर्नु खेदजनक हो । तत्काल समस्याको समाधान नगरिए यातायात श्रमिकहरू महानगरविरुद्ध आन्दोलनमा उत्रन्छन्’, राईले विज्ञप्तिमा भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर