मलाई विश्वास छ, हाम्रो टोलीले उपाधि घर लिएर जानेछ : सावित्रा भण्डारी – Nepal Press

मलाई विश्वास छ, हाम्रो टोलीले उपाधि घर लिएर जानेछ : सावित्रा भण्डारी

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले आज राति जोर्डनविरुद्ध हुने  फाइनल खेलमा  खेलाडीको रुपमा मैदानमा नभएपनि मैदानबाहिर आफ्नो देशको समर्थनमा हुने बताएकी छन् ।

फ्रान्स क्लबमा आवद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध आज रातिहुने फाइनल खेल खेल्न नपाउने भएपछि यस्तो बताएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली टोलीलाई हौसला दिएकी छन् । उनले जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्ने गरिन्थ्यो त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर रहेको बताएकी छन् ।

उनले टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जाने विश्वास गरेकी छन् । उनले भनेकी छन्,‘मलाई विश्वास छ हाम्रो टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै उपाधि घर लिएर जानेछ । हामीले एक टिमको रुपमा उच्च प्रदर्शन गरेर फाइनल यात्रा तय गरेका हौं । प्रतिद्वन्द्वी कठिन भएपनि हामी पुनस् एकपटक एकजुट भएर जित हासिल गर्नेछौं भन्ने विश्वास मैले राखेको छु ।
खेलाडीको रुपमा मैदानमा नभएपनि म मैदानबाहिर आफ्नो देशको समर्थनमा हुनेछु । र जसरी टिमको गोलमा मैदानभित्र खुसी साट्थें, त्यसैगरी टोलीको गोलमा खुसी मनाउन आतुर छु ।शुभकामना टिम।हामी सक्छौं, हामी गर्छौं।’

पैसाको लागि आफनो देशको तर्फबाट फाइनल नखेलेको आरोप लागेपछि उनले देशका लागि खेल्नु आफनो लागि आज पनि उत्तिकै महत्वपूर्ण भएको प्रष्टीकरण दिएकी छन् । साथै फुटबल खेलाडी भएपछि आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्ने उल्लेख गरेकी छन् ।

उनले लेखेकी छन्,‘देशको लागि खेल्नु मेरो लागि आजपनि उत्तिकै महत्त्वपूर्ण छ, जति मैले गाउँ छोडेर सहर पस्दा त्यो जर्सी लगाउने सपना साँचेको थिएँ । नेपालको जर्सी लगाएर मैदानमा बिताएको हरेक सेकेन्ड मैले आफ्नो अन्तिम खेल जसरी खेलेको छु । नेपालको प्रतिनिधित्व गर्नुभन्दा ठूलो गौरवको कुरा सायदै अरु होला । वाफ महिला च्याम्पियनसिपमा हामी फाइनल खेल्दैछौं, तर एक फुटबल खेलाडी भएपछि मैले आफ्नो व्यावसायिक करिअर र सम्झौतालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ । क्लबले सधैं मेरो लागि सहज वातवरण सिर्जना गरिदिएको छ, र यसपटक पनि फिफाले तोकेको भन्दा बढी समय राष्ट्रिय टोलीमा रहने व्यवस्था मिलाएकोमा धन्यवाद भन्न चाहन्छु ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर